न्याय खोज्दै नेपाल पसेका भारतीयद्वारा आत्मदाह

न्याय खोज्दै नेपाल पसेका भारतीयद्वारा आत्मदाह

‘न्याय नपाए गोरखा जानु’ राजा राम शाह यसै भन्थे । प्रजा अन्यायमा नपरुन् र सबैलाई न्याय अनुभूत गराउन यसो भनेका थिए उनले ।

भारत, आसाम राज्यको डिब्रुगढ जिल्ला, दुलियाजान गाउँ निवासी ४२ वर्षीय हेमाधर सेनापति सात वर्षअघि नेपाल पसे । उनको माग थियो– ‘मलाई आफ्नो देश असुरक्षित भयो, शरणार्थीको दर्जा दिलाई पाऊँ ।’ यसो भन्दाभन्दै २०७७ भदौ २१ गते शरीरमा मट्टीतेल खन्याएर आगो लगाए । तत्काल प्रहरीको सहयोगमा कीर्तिपुरस्थित मोडल अस्पतालमा भर्ना गरिएकोमा असोज ८ गते उनको निधन भएको छ ।

सन् १९९८ मा उनीलगायत ७ सात जनाले अल इण्डिया कम्पनी लिमिटेडमा स्थायी नोकरीमा नाम निकालेका थिए तर उनीलगायत पाँच जनालाई नोकरी दिईएन । अदालत गए, वकिल गुहारे तैपनि न्याय पाएनन्, उल्टै ज्यान असुरक्षित भयो ।

विरक्तिएर न्याय खोज्दै नेपाल छिरेका हेमाधरले २०७० सालदेखि सञ्चारग्राममा धर्ना, भोक हड्ताल गर्दै आएका थिए ।

शुरुमा सूचना विभाग, त्यसपछि प्रेस काउन्सिलको गेटमा धर्ना बसे। यसबीच राष्ट्रिय मानव अधिकार आयोग, भारतीय राजदूतावास लैनचौरमासमेत आफ्नो मागको सुनुवाई होस् भनी धर्ना, भोक हड्ताल गरे । शरणार्थीको अस्वभाविक माग पूरा हुने सम्भावना थिएन । नेपालका कुनैपनि निकाय यस मागप्रति असम्बन्धित थिए । अटेर गरी धर्ना, अनशन बस्दा उनलाई दर्जनौँपटक प्रहरी खोर पुर्‍याइएको थियो ।

माग मिडियासँग असम्बन्धित रहेको र प्रेस काउन्सिलको क्षेत्राधिकारभित्र नपर्ने भन्दै बारम्बार सम्झाउँदा पनि नबुझेको पूर्व अध्यक्ष बोर्णबहादुर कार्की बताउनुहुन्छ । यसअघि सञ्चारग्रामस्थित पत्रकार महासंघको भवनअगाडि २०७२ सालमा शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गर्दा कर्मचारीले बचाएका थिए ।

अस्वभाविक माग कहीँ कतैबाट सम्बोधन हुन सकेन, उनले खोजेजस्तो न्याय पाएनन्, अन्ततः आत्मदाह गरे । सन् १९७७ जुलाई २१ मा जन्मेका हेमाधरले हनुमान कलेज, आसामबाट उच्च शिक्षा हासिल गरेका थिए ।

टिप्पणीहरू