एमाले बैठकमा अङ्गालो फुकाउने प्रसङ्ग
सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना भएको छ । बैठकको तेस्रो दिन आज धारणा राख्ने क्रममा नेताहरुले मज्जैसङ्ग मनको बह पोखेका हुन् ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवदेनमाथि सदस्यहरुले धारणा राखिरहेका छन् । आज बोल्ने अधिकांश नेताले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै पार्टी कार्यालय बनाउन अपारदर्शी ढंगले जग्गा दान लिएको विषय जोडतोडका साथ उठाए । त्यस्तै, भीम रावललाई निकाल्ने निर्णयको पनि कडा आलोचना भएको छ ।
सुदूरपश्चिमका नेता कर्णबहादुर थापाले नेतृत्वको गलत कार्यशैलीका कारण पार्टी ओरालो लागेको भन्दै ०८४ मा एमालेले ०६४ को परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । भीम रावल व्यक्ति मात्र नभएर सुदूरपश्चिमका लागि संगठकसमेत भएकाले उनीमाथिको कारवाहीमा पुनर्विचार गर्न उनले माग गरे । अन्यथा पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने भन्दै सचेत गराए ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय गराउने अभियानमा रहेका कर्ण थापा भन्दा पनि कडा आलोचना गरे, स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठले । अध्यक्ष ओलीको भित्रियामध्येकै एक भनिएका उनले आक्रोशित हुँदै भने, 'म बैठकमा बोलें भने पार्टीलाई पक्कै घाटा हुन्छ, बरु बोल्दै बोल्दिन !, 'हस् धन्यवाद !' भन्दै माइक फालेका उनी भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग हात थापेर पार्टी कार्यालय बनाउने निर्णयप्रति असन्तुष्ट रहेको बताइएको छ ।
'अध्यक्षमाथि प्रहार हुँदा तपाईंको दायाँ-बायाँ बस्नेहरुले किन प्रतिवाद गर्दैनन् ?', आक्रोशित हुँदै उनले सोधे, 'कि तपाईंले गर्न नलगाउनुभएको हो ? सबैभन्दा पहिले तपाईंको वरिपरी बस्नेहरुले प्रतिवाद गरुन् अनि हामी जुट्नेछौँ ।'
हिजो बैठकस्थलमै केही कमरेडसँगको अनौपचारिक कुराकानीमा श्रेष्ठले 'एमालेको पार्टी कार्यालय हैन,भाटभटेनीको अफिस हो' भनी कटाक्ष गरेका थिए । अध्यक्ष ओलीका कारण पार्टीमा चल्दै आएको जनवादी केन्द्रीयताको परम्परा तोडिएकोमा उनको चर्को आपत्ति रहेको बैठकस्थलबाट एकजना नेताले जनआस्थालाई सुनाए ।
जग्गा-दान प्रकरणलाई लिएर पूर्व महान्यायाधिवक्ता र कानुनमन्त्रीसमेत रहेका अग्नि खरेलले पनि तिखो टिप्पणी गरेका छन् । उनले भने, 'पार्टी कार्यालयको जग्गा लिने विषयमा सचिवालयमा छलफल नभएको पुष्टि भैसक्यो । यो विषयमा किन छलफल गर्न आवश्यक ठानिएन ? छलफल गर्दा को-कोलाई हानी हुन्थ्यो,नगर्दा कसलाई फाइदा भयो ? समीक्षा भएको छ कि छैन ?'
यो विषयमा निरन्तर प्रश्न उठाइरहने चेतावनी दिँदै खरेलले अगाडि भने, 'यस्तो विवादित बनेको पार्टी कार्यालयलाई आफ्नो कार्यालय कसरी ठान्नु ?' त्यस्तै उनले पदाधिकारी तहका नेताप्रति पनि असन्तुष्टि पोखे ।
'अध्यक्षमाथि प्रहार हुँदा तपाईंको दायाँ-बायाँ बस्नेहरुले किन प्रतिवाद गर्दैनन् ?', आक्रोशित हुँदै उनले सोधे, 'कि तपाईंले गर्न नलगाउनुभएको हो ? सबैभन्दा पहिले तपाईंको वरिपरी बस्नेहरुले प्रतिवाद गरुन् अनि हामी जुट्नेछौँ ।'
पार्टीमा सामुहिकताको अभ्यास तोडिएकोमा आपत्ति जनाएका खरेलले अन्तिममा अध्यक्षमाथि कटाक्ष गरे, 'अँगालो धेरै फिंजिए धेरै आउँछ,खुम्चिए घट्छ ।'
प्रतिवेदनमाथि धारणा राख्ने क्रममा विभिन्न काण्डमा जोडिएर विवादित हुँदै आएका पोलिटब्यूरो सदस्य महेश बस्नेतले भने अध्यक्ष ओलीको खुलेर प्रशंसा गरेका थिए । तर, बाँकी सचिवालय सदस्यमाथि भने उनले आगो ओकले । अध्यक्ष ओलीलाई संकट पर्दा लुक्ने अनि सहज भएछि चाकडी गरेर सेवा-सुविधा लिनेहरुका कारण पार्टी संकटमा परेको भन्दै बस्नेत बेस्कन कुर्लिए ।
बैठकमा प्रदेश अध्यक्षहरुले पनि गुनासो गरेका छन् । कर्णालीका अध्यक्ष गुलावजंग शाह,लुम्बिनीका राधाकृष्ण कँडेल र गण्डकीका नवराज शर्माले विधान महाधिवेशनले गरेको निर्णयलाई कुल्चिएर प्रदेश संरचनालाई पंगु बनाउने काम माथिबाट भएको भन्दै गुनासो गरेका हुन् ।
प्रदेशको अधिकार कटौती भएको,आफूहरुको वरियता घटाइएको र पार्टीमा सामुहिकता हराउँदै गएकोप्रति उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
टिप्पणीहरू