ऋणको पासोमा आधाभन्दा बढी प्रहरी

ऋणको पासोमा आधाभन्दा बढी प्रहरी

अरुलाई जीवन जिउन सिकाउने कतिपय प्रहरी आफ्नै जिन्दगीसँग हार खाइरहेका छन्, किन ? समाजलाई आत्महत्याबाट मुक्त गराउन लागिपरेका अगुवाहरुले नै आफैँ प्राण त्याग्न थालेपछि समाजमा कस्तो असर पर्ला ? 

‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने मूल नाराका साथ आत्महत्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरीका कतिपय कर्मचारीले पछिल्लो समय आफैँ प्राण त्यागेका छन् । जीवनबाट हरेश खाएर आफैँलाई सिध्याउने सोचमा पुगेका हजारौं नागरिकमा आत्मविश्वास जगाएर नयाँ जिन्दगी दिलाउने प्रहरी आफैँ त्यो हदमा पुग्नुलाई कुनै हालतमा सकारात्मक रुपमा लिन सकिँदैन ।

त्यसोभए प्रहरी आफैँ किन आत्महत्यामा अग्रसर भएका होलान् ? एउटा गम्भीर सवाल खडा भएको छ । गत पुस १२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली चलाए । 

कार्यकक्षभित्रै टाउकोमा गोली हानेका उनी गम्भीर घाइते भए । यता, गोलीको आवाज सुन्नासाथ कार्यालय प्रमुख डिएसपी उमेश जोशी त्यहाँ पुगेपछि घाइते अवस्थामा रहेका न्यौपानेलाई तुरुन्तै अस्पताल पुर्याइयो । 

समयमै अस्पताल लगिएकाले उनको ज्यान जोगियो । अहिले न्यौपानेको स्वास्थ्य अवस्था ठीकै छ । यद्यपि, उनले गोली हान्नुको कारण खुलाइएको छैन । उक्त घटनाअघि गत मंसिर १३ गते अछाममा पनि एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरे । 

तुर्माखाद गाउँपालिका–३, भैरवस्थान प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई किसनबहादुर चन्दले आफैँलाई गोली हानेका थिए । घटनाबारे अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एसपी विनोद शर्माको नेतृत्वमा छानबिन समिति बनाएको थियो । 

त्यसक्रममा असई चन्दले मदिराको नशामा लट्टिठएर सहकर्मी (हवल्दार) लाई बन्दुक तोकेको तर ती हवलदार भागेपछि आफैँलाई हानेको पाइएको हो । छानबिनपछि उनलाई सेवाबाट हटाउन सिफारिससमेत गरिएको छ । 

झण्डै आठ महिनाअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा खटिएका एक प्रहरी जवानले आफैंमाथि गोली हानेर प्राण त्यागे । संसद्को सुरक्षार्थ खटिएका जवान अजित गोलेले आफ्नो ज्यान लिएका हुन् ।

उक्त घटनाको एक साताअघि मात्र जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत जवान करिश्मा सुनार शौचालयमा झुण्डिइन् । दुवैले आत्महत्या गर्नुको कारण ‘प्रेममा धोका’ भएको बताइन्छ । 

गत वर्ष पुस दोस्रो साता भक्तपुरमा नेपाल प्रहरीका एक सई मृत भेटिए । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत सई बालकृष्ण उपाध्याय घिमिरे मृत अवस्थामा फेला परेका थिए । आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र उनी मृत भेटिएका हुन् । 

त्यसअघि २०८० कात्तिकमा सुनसरीका एक प्रहरी जवानले आफैँमाथि गोली हानेर आत्महत्या गरे । कोशी गाउँपालिका–४, कोशी कटानमा कार्यरत जवान अमितेश मण्डलले राति सुत्ने बेला कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानी प्राण त्यागेका थिए । 

उनले आत्महत्या गर्नुको कारण ‘घरायसी समस्या’ भएको बुझिएको थियो । केही वर्षअघि चितवनमा पनि एक प्रहरी हवल्दारले आफ्नो ज्यान लिए । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत हवलदार होमप्रसाद ढकालले रुखमा पासो लगाएका थिए । 

उल्लेखित घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । पछिल्लो समय प्रहरी संगठनभित्र आत्महत्याको संख्या बढ्दै गएको छ । विशेषगरी तल्लो दर्जाका कर्मचारीहरुले आत्महत्या गर्ने क्रम बढेको प्रहरी अधिकारीहरु बताउँछन् । 

६० प्रतिशत प्रहरी ऋणमा, जिम्मेवारीले थलथल

नेपाल प्रहरीका पूर्वडिआईजी हेमन्त मल्ल ठकुरी ६० प्रतिशत प्रहरी कर्मचारी ऋणमा रहेको अध्ययनले देखाएको बताउँछन् । उनका अनुसार २०७६ सालमा  प्रहरीले गरेको अध्ययनबाट उक्त निश्कर्ष निस्केको थियो । 

अध्ययन प्रतिवेदनले प्रहरीले जागिर छोड्नुदेखि आत्महत्या गर्नुसम्मको कारणबारे औँल्याएको छ । ‘प्रहरीभित्र धेरै समस्या छ । विशेष गरी तल्लो तहका कर्मचारी पीडामा छन्,’ ठकुरीले भने, ‘यसको मतलब ठूला दर्जाका प्रहरीबाट उनीहरु हेपाहामा परेको भने होइन । पारिवारिक समस्या, कामको चाप, बोझ र जिम्मेवारीले उनीहरुलाई शिथिल बनाएको छ ।’

आफुले सोचेकोजस्तो नभएको, १५–१६ घण्टासम्म काम गर्नुपर्ने, परिवारले धेरै अपेक्षा गर्ने तर आम्दानी कम हुँदा अधिकांश प्रहरी (विशेष गरी तल्लो दर्जाका) कर्मचारी जागिर छोड्नेदेखि आत्महत्यासम्मको अवस्थामा पुग्ने गरेको अध्ययनले देखाएको उनले बताए । 

यस्तै, ६० प्रतिशत प्रहरी कर्मचारीले घरजग्गा किन्न वा कुनै कारणवशः ऋण लिएको समेत अध्ययनले देखाएको जनाउँदै उनले आम्दानी कम हुँदा ऋण कसरी तिर्ने ? भन्ने चिन्ताले पनि अप्रिय घटनासम्म पुर्याउने गरेको बताए । अर्कोतर्फ, लामो समयसम्म परिवारसँग भेटघाट नहुने, पति–पत्नीबीचको सम्बन्धमा दरार उत्पन्न हुने वा विवाहेत्तर सम्बन्धका कारण पनि यस्ता घटना हुने गरेको पूर्वडिआईजी ठकुरीको भनाइ छ । 

‘४० प्रतिशत प्रहरीले दैनिक १४ घण्टा बढी काम गर्छन् । भनेको समयमा परिवारसँग बोल्न, भेटघाट गर्न पाइँदैन । अधिकांश जागिर खानकै लागि गाउँबाट शहर आएका हुन्छन् । यस्तो अवस्थामा वर्षौसम्म परिवारबाट टाढा रहिन्छ । परिवारले अपेक्षा धेरै गर्ने तर उनीहरुले त्यो पुरा गर्न सक्ने अवस्था हुँदैन । श्रीमान–श्रीमतीबीच पनि निकै लामो समयसम्म भेटघाट नभएपछि बाहिर सम्बन्ध राखिन्छ । जसले पछि परिवारमा कलह ल्याउँछ । अनि कतिपयले तनाव घटाउन मदिराको पनि सेवन गर्छन् भने कतिपय सहन नसकेर आत्महत्यासम्म पुग्छन्,’ उनले भने ।  

प्रहरी कर्मचारीहरु पीडामा रहेपनि सरकारले नजरअन्दाज गरेको उनको गुनासो छ । उनका अनुसार प्रहरीको दुःख, पीडा र समस्यामा आधारित उक्त प्रतिवेदन अहिलेसम्म राज्यले हेरेको छैन । ठकुरी भन्छन्, ‘मलाई लाग्दैन, अहिलेसम्म सरकारले त्यो प्रतिवेदन हेरेको छ । गृह मन्त्रालयको यसप्रति कुनै चासो नै देखिँदैन । यसैले अध्ययन अध्ययनमै सीमित रह्यो ।’

प्रहरीले आत्महत्या गर्नुमा वाह्य कारण रहेको दाबी 

नेपाल प्रहरीका प्रवक्ता एवम् नायव महानिरीक्षक दिनेशकुमार आचार्य पछिल्लो समय समाजमा आत्महत्या बढ्दै गएको र प्रहरी संगठनभित्र पनि त्यस्ता घटना हुन थालेको बताउँछन् । यद्यपि, प्रहरीले आत्महत्या गर्नुमा भने वाह्य कारण देखिने उनको जिकिर छ । 

‘कुनै पनि व्यक्तिले आत्महत्या गर्नुमा धेरै वटा कारण हुन्छ । एउटै मात्र हुन्न । अहिले समाजमा आत्महत्या बढ्दो क्रममा छ । प्रहरी सेवाभित्र पनि यस्ता घटना हुन थालेका छन् । घटना घटेपछि अनुसन्धानको क्रममा एउटै मात्र नभई विविध कारण पाइन्छ । प्रहरी कर्मचारीको हकमा भने संगठनभित्रका भन्दा पनि बाह्य कारण प्रभावित देखिन्छ,’ उनले भने । 

उनका अनुसार संगठनमा आबद्ध कर्मचारीहरुमा आत्महत्याको सोच आउन नदिन तथा नैराश्यता कम गराउन बेलाबेलामा उपयुक्त तालिम तथा मनोपरामर्श समेत दिइने गरिएको छ ।

टिप्पणीहरू