प्रचण्डको व्यस्तता : मर्निङ वाकदेखि भक्काको स्वादसम्म

प्रचण्डको व्यस्तता : मर्निङ वाकदेखि भक्काको स्वादसम्म
सुन्नुहोस्

हिजो साँझ विराटनगर पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता शुरु भएको छ । बिहान दलबलसहित मर्निङवाकमा निस्कनुभएका उहाँले सडक किनारामा पाक्दै गरेको भक्काको स्वाद पिरो चटनीसँग लिनुभएको छ ।

कान्छी छोरी तथा स्वकीय सचिव गंगा दाहाल एवम् ज्वाईं, पार्टी केन्द्रीय सदस्य र प्रदेश सांसद जीवन आचार्यको घरमा बस्नुभएका उहाँले ठूलो मिल चोकमा तातो भक्काको स्वाद लिनुभएको बताइन्छ । उहाँ विराटनगरमा आयोजित स्थानीय न्यू सृष्टि दैनिकको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ  । कार्यक्रममा एक दर्जन व्यक्त्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

विराटनगर १९ मा अलपत्र अवस्थामा रहेको बैजनाथ रंगशाालाको अवलोकन गरेपछि मोरङको झोराहाटमा कार्यकर्ता भेटघाट गर्नुहुने छ । ग्रामथानको नेता चोकमा उपनिर्वाचनमा विजयी मेयर नमोनारायण चौधरीसहित मतदाताहरुलाई धन्यबाद ज्ञापन  गर्ने कार्यक्रम पनि राखिएको छ । उहाँ आजै काठमाण्डौ फर्कनुहुने छ ।

यसअघि हिजो विमानस्थलमा बोल्दै केन्द्रीय नेताहरुको सम्पत्ति निर्ममका साथ छानबिन गराउने वचन दिनुभएको छ । अब सबै केन्द्रीय सदस्यहरुले सम्पत्तिको स्रोतसहित विवरण देखाउनुपर्ने बाध्यकारी नियम पार्टीले पारित गरिसकेको बताउनुभयो।

सम्पत्तिको सवालमा कसैलाई पनि पनपच्छे नगर्ने उल्लेख गर्दै भन्नुभयो, ‘अहिले  प्रदेश पदाधिकारी र केन्द्रीय सदस्य र उनीहरुका परिवारको चलिरहेको जिवीकाको अध्ययन र अनुगमनका लागि शक्तिसम्पन्न लेखा आयोग बनाइएको छ ।’

अर्को प्रसंगमा उहाँले हिउँदे अधिवेशन बोलाउनुपर्ने बेलामा सरकारले संविधान मिचेर अध्यादेश ल्याएको आरोप लगाउनुभयो।

तस्बिरहरुः

​​​​​​​

टिप्पणीहरू