जनावरले हान्दा राहत पाउन अङ्गभङ्ग नै हुनुपर्ने ?
माघे संक्रान्तिको दिन माडीमा जङ्गली जनावरको आक्रमणमा परी एक जनाले ज्यानै गुमाए । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र भैंसी चराउन गएका माडी–३ का ५६ वर्षीय छविलाल बोटको गैंडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो भने सोही घटनामा अन्य तीन जना घाइते भएको बुझिन्छ ।
चितवनमा दिनहुँ नभए पनि हप्तै वा महिनैपिच्छेजसो मानिसहरु कहीँ न कहीँ जङ्गली जनावरको आक्रमणमा पर्ने गरेका छन् । मानववस्तीमै वन्यजन्तु आतङ्क व्यापक देखिन्छ । गत पुस १६ गते रत्ननगर–१३ को जयमंगलामा गैंडाले आक्रमण गर्दा एउटी वृद्धाको मृत्यु भयो भने अन्य पाँचजना घाइते भएका थिए । गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएकी रनपा–१६ की ७० वर्षीया कृष्णकुमारी थापाको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गयो ।
वन्यजन्तु पाल्ने राष्ट्रिय निकुञ्ज भएकोले यतातिर जङ्गली जनावरको जगजगी बढी नै छ । मध्यवर्ती अनि डिभिजन वन क्षेत्रमा पनि खतरनाक जनावरहरुको बसोबास रहेको हुँदा बेलाबखत आसपासको मानवबस्तीमै समेत पसेर वितण्डा मच्चाउँदै आएका छन् । मानववस्तीमा प्रवेश गरी जङ्गली जनावरहरुले मान्छेलाई आक्रमण गर्ने, पालिएका पशुचौपाया,बालीनाली, अन्नपात आदि खाइदिने,घरगोठ भत्काइदिने समस्या विकराल छ । सरकारले मानवबस्तीमा वन्यजन्तुबाट हुने क्षतिपूर्तिको लागि केही राहतको व्यवस्था त गरेको छ । तर निर्देशिकाका केही बुँदा अस्पष्ट र बाझिएको हुँदा कठिनाइ भइरहेको बताइन्छ ।
वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले जङ्गली जनावरको आक्रमणबाट मान्छेको मृत्यु भएमा १० लाख, गम्भीर घाइतेलाई उपचार खर्चबापत बढीमा दुईलाख, सामान्य घाइतेलाई बढीमा २० हजार रुपैयाँसम्म राहत दिने बन्दोबस्त गरेको छ ।
बाघको आक्रमणबाट गम्भीर घाइते भरतपुरका पशुपति श्रेष्ठको उपचारमा साढे चार लाख जति खर्च भएकोमा उनले राहतस्वरुप सरकारबाट जम्मा दुई लाखमात्रै पाएको डिभिजन वन कार्यालयका एक कर्मचारी बताउँछन् । भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठ नारायणगढको नारायणी नदी किनार मर्निङवाकमा जाँदा गत साउन २० गते बिहान ५ः२० बजे बाघ आक्रमणमा परेका थिए । नदी किनार आएर आतंक मच्चाएको बाघलाई डार्ट गरेर लगिएको थियो ।
गत मंसिरमा गैंडाको आक्रमणबाट घाइते भएका रनपा–९ का रामचन्द्र तिवारीको उपचारमा रु. सात लाख ४४ हजार खर्च भएको परिवारजनले बताएका छन् । गैंडाको आक्रमणबाट उनको ढाड भाँचिएको र अप्रेसनमात्रै तीनचोटि गर्नुपरेको थियोे । उनको उपचारमा लागेको खर्चको बिल र आवश्यक कागजातसहित राहतका लागि निवेदन लिएर परिवारजन केही दिनअघि डिभिजन वन कार्यालयमा आएका थिए । तर राहत रकमचाहिँ कति पाउने हो ? भन्न सकिने अवस्था छैन ।
हात्ती,गैंडा,बाघ,भालु,चितुवा,हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगरगोही, गौरीगाई, अजिङ्गर, नीलगाई र बाँदरबाट क्षति भएमा राहत वितरणको व्यवस्था छ । भैंसी, राँगो, गोरु, उन्नत जातको गाई, घरपालुवा चौंरी, घोडा, खच्चडको मृत्यु भएमा प्रतिपशु रु. ६० हजारसम्म र अन्य पशुको मृत्यु भएमा बढीमा रु. १० हजारसम्म उपलब्ध गराइने व्यवस्था छ । घरगोठको क्षति भएमा मूल्यांकनको आधारमा बढीमा रु. २० हजारसम्म, अन्नको क्षति भएमा बढीमा रु. १० हजार, बालीको क्षति भएमा मूल्यांकनको आधारमा एक मौसममा लगाएको बालीको एकपटक र वर्षमा दुईपटकमा नबढ्ने गरी १० हजार रुपैयाँसम्म राहत दिइने व्यवस्था छ ।
पशु वा बालीको बिमा गरेको भए बिमाबाट प्राप्त रकम कटाएर मात्र राहत उपलब्ध गराइने भनिएको छ । माछा वा कुखुराको क्षति भएमा मूल्यांकनको आधारमा वर्षको एकपटक बढीमा दशहजार रुपैयाँसम्म दिइने व्यवस्था छ । माछाको व्यवस्था पहिले थिएन, २०८० को निर्देशिकाले माछाका लागि पनि राहतको चाँजो गरिदिएपछि यो वर्ष डिभिजन वन कार्यालय चितवनमा गोहीबाट भएको माछाक्षतिको पनि राहतका लागि निवेदन आएको कार्यालयका प्रशासन शाखा प्रमुख मनोजकुमार पराजुली बताउँछन् । तर कुखुराको भने अहिलेसम्म नआएको उनले बताए ।
डिभिजन वन कार्यालय अन्तर्गत गत वर्ष १० वटा पशुधन क्षतिको एकलाख ८९ हजार रुपैयाँ वितरण भएको रेकर्ड छ । गत आर्थिक वर्षको मानवीय क्षतिको राहतको रेकर्ड भने कार्यालयमा पाइएन । गत जेठ २० मा बाघको आक्रमणबाट घाइते भएका भरतपुर–११ का २९ वर्षीय सुमन कुमालको उपचारमा ४८ हजार खर्च भएको बिल डिभिजन कार्यालयमा पेश भएको थियो । २०८१ जेठमै रत्ननगर नगरपालिकाका ११ वर्षीय बालक गैंडाको आक्रमणबाट घाइते भएका थिए । माथिबाट राहत रकम सीधै पीडित वा सम्बन्धित व्यक्तिकै खातामा जाने हुँदा उनीहरुले अहिलेसम्म पाए,नपाएको थाहा नभएको मनोजले बताए । सबैको राहत वितरण भइसकेपछि कार्यालयलाई एकमुष्ट जानकारी आउने गरेको उनी बताउँछन् ।
यता,चितवन राष्ट्रिय निकुञ्जले भने वन्यजन्तुबाट हुने क्षतिको राहतअन्तर्गत यसै आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म २८ लाख आठ हजार चार सय ९२ रुपैयाँ निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका वन्यजन्तुबाट प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको जनाएको छ ।
बाघले आक्रमण गरेको घटनामा एकजना मान्छेलाई गम्भीर घाइते भएर उपचार खर्च धेरै लागे पनि हामीले २० हजारभन्दा बढी दिन सकेनौं । अपाङ्गताको प्रमाणपत्र लिन उसले मानेन ।’
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गएको पुस महिना मात्रै तीन जना मानिस गैंडाको आक्रमणमा परेका छन् । निकुञ्ज क्षेत्रअन्तर्गत पौष १० मा भरतपुर–२२ स्थित पटिहानीको स्टोन पार्कमा वनभोज खान जाँदा १३ वर्षीय सुगम सुवेदी गैंडाको आक्रमणमा परी घाइते भए भने पौष १९ गते निकुञ्जकै मध्यवर्ती क्षेत्रमा राप्ती–१ पिप्लेका ८३ वर्षीय दिपबहादुर अधिकारी पनि गैंडाको आक्रमणबाट घाइते भएका थिए । २० गते कुमरोज मध्यवर्ती सामुदायिक वनको लामीताल क्षेत्रमा घाँस काट्न गएको अवस्थामा खैरहनी–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारीको गैंडाको आक्रमणमा परी मृत्यु भएको निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन् ।
डिभिजन वन कार्यालयको क्षेत्रमा पौष १६ गते गैंडाको आक्रमणबाट रत्ननगर–१६ की सीता पौडेल पोख्रेल घाइते भएको घटनामा राहतका लागि निवदेन आएपछि पदमपुर सबडिभिजनलाई सर्जमिनको लागि पठाइएको कर्मचारी बताउँछन् । पौष १३ मा गैंडाको आक्रमणबाट घाइते भएकी पार्वती रिमालको पनि उपचार खर्चको लागि निवेदन पेश भएकोमा खैरहनी सबडिभिजनलाई सर्जमिनको लागि भनिएको जानकारी गराउँदै अधिकृत सातौं तहका कर्मचारी मनोजले भने,‘कालिकामा चितुवाले मान्छेको औंला खाएको निवदेन पनि छ ।’ यसै वर्ष खैरहनीमा लदरी खोलामा गैंडा निस्किँदा ११ र १३ वर्षीय दुईजना बालकलाई आक्रमण गरी घाइते बनाएको पनि उनैले जानकारी गराए ।
मंसिर २० गते कालिका नगरपालिकामा बाघले बंगुर मारेको घटनाको पनि राहतका लागि निवेदन आएको बताइएको छ । साउन १४ मा भरतपुर–२९ स्थित एभरेष्ट एग्रो फर्मका ११ वटा बाख्रा बाघले खाएको निवेदन छ । मंसिर ३ मा जंगबहादुर तामाङको पाँचवटा बाख्रा बाघले खाएको, साउनमा भरतपुरमा बाघले गाई खाएको घटनाको पनि राहतका लागि निवेदन आएपछि सिफारिस गरी निर्देशनालयमा पठाइएको उनले बताएका छन् ।
राहत वितरण निर्देशिकामा मान्छेको हकमा गम्भीर र सामान्य घाइते छुट्याउने आधार प्रस्ट नहुँदा समस्या देखिएपछि संशोधनका लागि डिएफओबाट मन्त्रीसँग ब्रिफिङ भइरहेको अधिकृत मनोज बताउँछन् । ‘अपाङ्गताको प्रमाणपत्र स्थानीय तहबाट ल्याएपछि गम्भीर घाइते मान्न सकिने भनाइ छ । सामान्य अपाङ्गता भएकालाई स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिनुपर्ने कारणले अपाङ्गताको प्रमाणपत्र दिन गाह्रो मान्ने अवस्था छ’,डिभिजन वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्की भन्छन्,‘कसैलाई सानोतिनो अपाङ्गता किन देखाउने भन्ने पनि हुन सक्छ’, उनले भने,‘बाघले आक्रमण गरेको घटनामा एकजना मान्छेलाई गम्भीर घाइते भएर उपचार खर्च धेरै लागे पनि हामीले २० हजारभन्दा बढी दिन सकेनौं । अपाङ्गताको प्रमाणपत्र लिन उसले मानेन ।’
‘कुनै बेला बाघले हान्दा पनि मान्छे अपांग नहुन सक्छ तर गम्भीर घाइते हुन सक्छ । यस्तोमा उपचार खर्च २० हजार भन्दा बढी नदिने त ?’, उनले भने, ‘कहिलेकाहीँ सामान्य घाइतेको पनि औंलाको टुप्पो मात्र जाँदा अपाङ्गता देखिन सक्छ । अब उसलाई अपाङ्गता प्रमाणपत्रको आधारमा दुई लाख दिने त ?’
अपाङ्गता प्रमाणपत्रको आधारमा होइन कि घाइतेको अवस्था हेरी सामान्य र गम्भीर छुट्याइनुपर्ने डिभिजन वन प्रमुखको भनाइ छ । ‘राहतमा त सरकारले कन्जुस्याइँ गर्नै हुन्न । व्यवस्थालाई जतिसक्दो सहज बनाउनुपर्छ’, उनले भने, ‘नत्र मान्छेको वन्यजन्तुप्रतिको व्यवहार नरकारात्मक बन्दै जान्छ । तर मानवजातिकै अस्तित्वको लागि पनि वन्यजन्तु जोगाउन आवश्यक छ ।’
टिप्पणीहरू