साढे २२ करोडको गिफ्ट भौचर बाँड्दै भाटभटेनी
भाटभटेनी सुपर स्टोरले आफ्ना नियमित ग्राहकलाई साढे २२ करोडको गिफ्ट भौचर बाँड्न थालेको छ । भाटभटेनी क्लबका अनुसार केही दिनअघि घोषणा गरिएको गिफ्ट भौचर आजबाट वितरण गर्न थालिएको हो ।
प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार उक्त गिफ्ट भौचर पाएका ग्राहकले देशभरका २७ वटा भाटभटेनी स्टोरमध्ये जहाँबाट पनि सामान खरिद गर्न सक्छन् । उपहार भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले प्राप्त गर्ने छन् ।
सदस्यले कम्तीमा एक हजार तीन सयदेखि दुई लाख रुपैयाँको गिफ्ट भौचर प्राप्त गर्ने भाटभटेनीले जनाएको छ । गिफ्ट भौचर कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबरको हुनेछ । आजबाट बाँड्न थालिएको गिफ्ट भौचर आगामी फागुन ९ गतेसम्म वितरण गरिने छ ।
भाटभटेनीले गत असोजमा काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । गत वर्षको जाजरकोट भूकम्पका बेला पनि राज्यलाई आर्थिक सहयोग गरेका उनी दुर्गम क्षेत्रका गरिब र जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा डाक्टर पढाइदिनेजस्ता अनेक सामाजिक कार्यमा सक्रिय छन् ।
भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङ हुन् । उनको तर्फबाट महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको आकस्मिक कक्ष भवन दुई वटा निर्माण गरिएको छ । डा. भगवान कोइरालाको सक्रियतामा बन्न लागेको बाल अस्पतालका लागि पनि उनले ४१ करोड रुपैयाँ सहयोग गरेका छन् ।
टिप्पणीहरू