राजमार्गको दुरावस्था, यात्रुलाई सास्ती

राजमार्गको दुरावस्था, यात्रुलाई सास्ती

गत असोज दोस्रो साता आएको बाढीपहिरोले बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) मा ठूलो क्षति पुग्यो । रोशी खोलाको बाढीले राजमार्गमा क्षति पुगेपछि अहिले यात्रुहरुले सास्ती भोग्नु परेको छ । 

राजमार्ग क्षतिग्रस्त र निर्माण गरिएको डाइभर्सन सडक पनि कच्ची र धुलाम्मे हुँदा विशेष गरी कटुञ्जेवेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरु मारमा परेका छन् । राजमार्गको विभिन्न खण्ड पुनर्निर्माणका निम्ति साढे नौ अर्ब बढी रुपैयाँ लाग्ने अनुमान छ । 

डिभिजन सडक कार्यालय भक्तपुरले विपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपाल थोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न नौ अर्ब ६६ करोड बढी खर्च लाग्ने अनुमान गरेपनि स्रोत अझै सुनिश्चित भइसकेको छैन । यात्रुहरु अझै लामो समय कच्ची सडक हुँदै यात्रा गर्नुपर्ने अवस्थामा छन् । 

गत असोज १०, ११ र १२ गतेको वर्षाले देशभर बाढी, पहिरो र डुबान भयो । सयौंले ज्यान गुमाए भने अर्बौको भौतिक क्षति भएको छ । सोही कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–०५४ देखि निर्माण थालिएको उक्त राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) २०७२ असार १७ गते सम्पन्न भएको हो ।

टिप्पणीहरू