सीमा क्षेत्रमा कडाइ, वैधानिक मार्गमा तस्करी
लुम्बिनी प्रदेशको सीमा क्षेत्रमा कडाइ गरिएपछि तस्करहरुले वैधानिक मार्गबाटै तस्करी गर्न थालेका छन् । खुल्ला सीमानाबाट हुँदै आएको तस्करी अहिले भन्सार गेटबाट भइरहेको बताइन्छ ।
भन्सार कार्यालयका कर्मचारी र तस्करहरुबीचको मिलीभगतमा तस्करी हुने गरेको स्रोतको दाबी छ । न्यून भन्सार शुल्क तिरेर बढी मालवस्तु आयात गर्न कृष्णनगर, नेपालगञ्ज र महेशपुर भन्सार कार्यालयबाट सेटिङ्गमै तस्करी मौलाएको बताइन्छ ।
अस्ति शुक्रबार प्रहरीले कृष्णनगर भन्सारबाट नेपाल प्रवेश गरेको भारतीय मालवाहक गाडीमा तोकिएको तौलभन्दा दुई क्विन्टल बढी सामान फेला पारेको थियो । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले युपी एफटी ६७६९ नम्बरको गाडी चेकजाँच गर्दा २०५ केजी बढी सिद्रा माछा भेट्टाएको हो ।
दुई हजार ६३५ केजीको मात्र भन्सार शुल्क तिरेको प्रज्ञापनपत्रमा उल्लेख छ । तोकिएको परिमाणभन्दा बढी माछा भेटिएपछि प्रहरीले सिद्राधनी दुर्गा यादवसमेतलाई नियन्त्रणमा लियो । उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ ।
यसअघि पुस २० गते एनएलएच ०१ एएच ५१८१ नम्बरको गाडीले तोकिएकोभन्दा बढी तौलको जेनेरेटर बोक्दा दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएको थियो । त्यसअघि पनि कृष्णनगर भन्सारले पटकपटक कम दररेटमा बढी परिमाण सामानहरु पठाएको पुष्टि भएका थुप्रै घटना छन् ।
भन्सार यार्डभित्र रहेको सवारी साधन तौल गर्ने मेसिनको प्रयोग नगर्ने र तस्करहरुको सेटिङ्गमा कर्मचारीहरुले हचुवाको भरमा सामान पठाउनाले उक्त घटना भएको हो । नक्कली भारतीय बिल भरपाईलाई आधार मानेर भन्सार मूल्याङ्कन तथा दररेट कायम गरी राजश्व चुहावट गरिएको भन्सारकै एकथरी कर्मचारीको दाबी छ ।
नेपालगञ्ज भन्सार कार्यालयमा पनि एउटै अवस्था रहेको बताइन्छ । पुस ७ गते उक्त भन्सारबाट सिद्रा माछा लिएर भित्रिएको युपी ४० एटी ७००५ नम्बरको गाडीलाई नियन्त्रणमा लिइयो । कोहलपुर आइपुगेको गाडी चेकजाँचका क्रममा भन्सार प्रज्ञापनपत्रमा उल्लेखितभन्दा बढी तौल पाइएपछि राजश्व कार्यालयले नियन्त्रणमा लिएको थियो । ५५ क्विन्टलको भन्सार तिरेर ६८ क्विन्टल माछा ल्याइएको बताइन्छ । प्रज्ञापन पत्रको स्वःघोषणामा नखुलाइएको ४२० किलो झिंगे माछासमेत भेटिएको थियो ।
नवलपरासीको महेशपुर भन्सार कार्यालयबाट अवैध रुपमा चिनी र कपडाको पैठारी भइरहेको छ । तस्करह समूहले कर्मचारीलाई प्रभावमा पारेर चामलको दररेटमा चिनी आयात गरिरहेको स्रोतको दाबी छ । प्रदेश प्रहरी प्रमुख डिआईजी दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका डिआईजी प्रदिपकुमार पालले सीमा क्षेत्रबाट हुने अवैध गतिविधि तथा राजश्व चुहावट, चोरी तस्करीमा कडाइ गरेपछि तस्करहरुले भन्सार कर्मचारीलाई सजिलैसँग प्रयोग गरेको अनुमान गर्न सकिन्छ ।
टिप्पणीहरू