सडकमै व्यापार गर्ने जिम्मा पारीकालाई, अब यी सामान के गर्ने ?

सडकमै व्यापार गर्ने जिम्मा पारीकालाई, अब यी सामान के गर्ने ?
सुन्नुहोस्

भरतपुर महानगरपालिका, नगर कार्यपालिका कार्यालयको गेटभित्र छिर्नेबित्तिकै बाटोकै छेउमा ठूलो चौतारो छ । उक्त चौतारामुनिको खालि भागमा अघिपछि सेवाग्राहीका सवारी साधनहरु पार्किङ गरेको देखिन्थ्यो । आज त्यहाँ एक छेउमा सामान बोक्ने केही अटोरिक्सा पनि थिए ।

सवारी आवागमनमा अवरोध हुने गरी बाटो–बाटै व्यापार गर्न प्रयोग भएका ती अटोरिक्सा नारायणगढ बजारको मिलनरोडबाट नगरप्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएका हुन् । सडक विस्तारपछि नारायणगढको पुलचोक–लायन्सचोक खण्डमा फुटपाथ व्यापार पहिलेभन्दा कम भए पनि पूर्णरुपमा हटिसकेको छैन । साइकल,ठेला र यस्ता अटोरिक्साहरुमा सडकमै फलफूल,तरकारी,चटपटे, बदाम,चाउमिन,मम, (गर्मीमा आइसक्रिम,कुल्फी पनि), लत्ताकपडा आदिको व्यापार गर्दै हिँड्नेहरु बजारमा यत्रतत्र भेटिने गरेका छन् । 

फुटपाथ तथा सडक क्षेत्र ओगटनेहरुमा बढीजसो भारतीय मूलका देखिन्छन् । जति सम्झाउँदा,लखेट्दा पनि अटेर गरेपछि अब भने जसरी पनि हट्नैपर्ने स्थिति बन्दैछ । पहिले नगर प्रहरीले उठाएर ल्याएका सामान सीमित दण्ड,जरिवाना गरी छोडिन्थ्यो । अब जफत गरिएका सामान होस् या साधन नछोड्ने कार्यपालिकाको निर्णय भएको हुँदा सडकको अवैध व्यापार नियन्त्रणमा बल पुगेको भरतपुरका नगर प्रहरी बताउँछन् । 

जफत गरी ल्याएका थुप्रै साइकल र ठेलाहरु पनि महानगर कार्यालय परिसरको अर्काे छेउमा थुप्रेको छ । नगर प्रहरीले सडकको व्यापारबाट खोसेर ल्याएका फलफूल,कपडा, खेलौना,भाँडाकुँडा,तराजु, माइकलगायतका अन्य सामानहरु स्टोर कोठामा जम्मा गरी राखिएका छन् । ठेला,साइकल लगायतका ती सामग्रीहरु पछि लिलाम गरेर बिक्री गरिने नगर प्रहरी प्रमुख डिएसपी कृष्णहरि ढकाल बताउँछन् । अटोरिक्साको हकमा चाहिँ एक पटकलाई जरिवाना गरेर छोड्ने कि के गर्ने ? भन्ने निर्क्यौल भइनसकेको उनले बताए । नियन्त्रणमा लिइएका अटोरिक्सा,ठेला, साइकल र सामानहरु प्रायः भारतीय मूलकै ब्यापारीहरुको रहेको उनले पनि बताए ।   

विना दर्ता,राजस्व पनि नतिरी सडकमा व्यापार गर्न कस्सिनेकाहरु बजार क्षेत्र एवम् भित्री चोकगल्ली र ग्रामीण इलाकाहरुमा पनि मालसामान बेच्दै हिँड्ने गरेको पाइन्छ । उनीहरुको कारण सटर तथा कोठा भाडामा लिएर,बकाइदा दर्ता भएर, नवीकरण गरेर राज्यलाई कर तिर्दै विधिवत् रुपमा व्यवसाय सञ्चालन गर्दै आएकाहरुको व्यापार–व्यवसायमा भने ठूलो धक्का पुगिरहेको गुनासो सुनिन्छ । फुटपाथ र सडकको अवैध व्यापार भरतपुरबाट निर्मूल पार्ने लक्ष्यसहितको अभियानमा आफूहरु लागिपरेको यहाँका नगर प्रहरीले बताएका छन् ।

टिप्पणीहरू