अब हामीले थाहा खोज्ने पालो
समय कोरोनाग्रस्त छ । ऐतिहासिक खरीको बोट नासिएको चौरको एक भागमा सरकार संविधान दिवस मनाइरहेको छ, अर्कातिर दैनिक गुजारा गर्न गाह्रो परेका जनताको मलिन मन भात खाइरहेको छ । सरकार हातमा लिएको भन्ठान्नेहरूले सरकारी ऐसको संयुक्त भक्तिगान गाइरहँदा उता जनता अलिनो तरकारी भातमा मोलिरहेका छन् ।
केपी ओलीको विकराल खड्को जनताले जसोतसो काट्ने भए । बरु कोरोना पचाउन साह्रो नपर्ला उखान टुक्का, घरघरमा ग्यास जोड्ने कथा, अरिंगालको पोके चुड्किला, अप्रवासी रामको नागरिकता, पानीजहाजको मनोरञ्जन चलिरहेकै छ । क्यानाडास्थित मित्र तिलक पौडेलले विद्युतीय पातोमा लेखे, भारतबाट रेलको डब्बा ल्याएकोमा दंग पर्नु भनेको फरिया उचालेर स्तन देखाउनु जस्तै हो ।
सवल कर्मचारी भनी मानिएका कुलमान घिसिङको समर्थनमा स्वस्फूर्त उत्रेकाहरुमाथि प्रहरी प्रशासनले निर्मम यातना दिएको छ । डा. गोविन्द केसीको विरोधमा उठ्ने सबै आवाजलाई समूल रूपमा नष्ट गर्न सबै माध्यमलाई सक्रिय बनाइएको छ ।
इतिहास खोस्रँदा सबैभन्दा पहिले बेलायतीले नेपालको दक्षिणी भेक र झण्डै पहाडी क्षेत्रसम्म रेल ल्याएको देख्न सकिन्छ । काठ र अन्य खजाना ओसार्न आएका ती लिक अझै पनि छन् । जयनगर जनकपुर त एक नमुना रेल भयो । अहिले आएको भनिएको रेलको पुनः सञ्चालनसम्बन्धी प्रस्ताव ल्याउने श्रेय बरु पूर्वप्रम बाबुराम भट्टराईलाई जान्छ ।
सरकारका तर्फबाट बाँडिएको पदक, तक्माले सबैलाई चक्मा पारिदिएको छ । मानौँ यो राणा र शाहकालीन शैलीमा चाकडी बजाएबापत हात लाग्ने तŒव हो । सकलदर्जाका र कर्मचारीले पाए पनि ती औपचारिकतामा सीमित नाम थिए । सन्दुक रुइतको नाम ती सयौँ नामको साख बचाउनलाई समावेश गराएजस्तो छ । व्यक्तिगत तथा संस्थागत रूपमा योगदान दिएका र जनताले रुचाएका प्रतिनिधि नाम प्राप्तिको सूचीमा नअटाउनु कुनै आश्चर्य भएन । सरकारका पछिल्ला घटनाक्रमले एकपछि अर्को अनियमितता, आफूखुशी, जे पायो त्यही गर्ने पद्दतिलाई बढावा दिएको छ ।
ओलीले भन्ने गरेका अरिंगालका झुण्डले देशको नाममा तक्मा भिर्ने अवसर पाएका छन् तर ती प्राप्तकर्ता समाजमा शिर उठाएर देखाउन सक्ने हैसियतमा छैनन् । देशलाई चिनाउने पर्वताराही, पर्यटनकर्मी, खेलाडी, सम्पदा संरक्षण अभियानका योद्धा, संगीतकर्मी, समाजसेवी, देशबाहिर रही उच्च योगदान दिएका, देशभित्रैका कुलीन पात्र जस्तै कुलमान, डा. गोविन्द केसी, राजेश हमाल, धुर्मुस सुन्तली, पुष्पा बस्नेत आदिको नाम सरकारको कानसम्म नपुग्नु बहिरो हुनुको ज्वलन्त प्रमाण हो । ती कानलाई वीरसमशेरले बनाएको अस्पतालमा लगेर बहिरंग कक्षमा भर्ती गरी आजन्म समस्या नहुनेगरी स्वस्थ बनाउनु जरुरी देखिन्छ ।
केही महिनाअघि कोरोना भाइरस र सलहलाई भारतबाट आएको दाबी गर्ने प्रधानमन्त्रीले नेपालको पुरानो नक्सा जारी गर्दा पृथ्वीनारायण शाहको शैलीमा बाहुबली लाएर जितेको झैँ गफ हाँके तर अहिले उनैका शिक्षामन्त्रीले पुस्तक जारी गर्न खोज्दा बेला भएको छैन भन्दै अड्को थापिरहेका छन् । जनमानसको चर्का अरुचिबारे भर्खरै अर्को अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै बोले, यति धेरै कार्यकर्ता र शक्ति हुँदाहुँदै जनताको मन जित्न सकिएको छैन । पहिले त लकडाउनको बहाना थियो, अब पारदर्शी कार्यविवरणसहितको थाहा चाहियो । दार्शनिक रूपचन्द्रले कुनै दिन अहिलेका प्रधानमन्त्री ओलीलाई दामनको थुम्कोमा रहेको दुरबिन हेर्न आग्रह गर्दै भनेका थिए, भाते आइज हेर र थाहा खोज, कुकुरले दुरबिन हेर्दैन बुझिस् ? अब हामीले थाहा खोज्ने पालो ।
टिप्पणीहरू