प्रचण्डलाई लखेट्न लगाइएको त्यो पल

आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न सहकर्मीको ‘कत्लेआम’ गर्ने अभ्यास नेपाली राजनीतिमा नयाँ होइन । अझ कम्युनिष्ट पार्टीमा त झन् सामान्य मतभिन्नतामा समेत व्यक्तिगत इगो बनाएर नेताहरू एकअर्कालाई निषेध गर्ने तहमा पुगेका थुप्रै उदाहरण छन् । शव्दकोषमा खोजी–खोजी गालीगलौज गर्दै ‘लालगद्दार’ ‘दरबारिया’, ‘विदेशी एजेण्ट’जस्ता आरोप लगाइनु कम्युनिष्टको हकमा सामान्यजस्तै भैसकेको छ ।
सहकर्मीलाई राजनीतिक रुपले कसरी कत्लेआम गरिन्छ ? वामदेव गौतमको एमाले प्रवेशलाई रोक्न केपी शर्मा ओलीले अपनाएको रणनीति पछिल्लो उदाहरण हो । प्रधानमन्त्रीसमेत रहेका ओली र पुराना वामपन्थी नेता वामदेव यौटै स्कूलिङबाट राजनीतिमा आएका नेता हुन् । ०३४ सालदेखि ०७८ सम्म सँगै रहेका यी दुईले नेकपा माले, एमाले हुँदै माओवादीसँग एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्म आइपुग्दा यौटै कमिटीमा रहेर काम गरे । नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा दुवै जनाको महत्वपूर्ण योगदान पनि छ । तर, चौथो पटक कार्यकारी प्रमुखको कुर्सीमा पुगेका ओली तेहेरिएर अध्यक्ष बन्ने तयारीमा रहँदा वामदेव भने राजनीतिक जीवनको उत्तराद्र्धमा अस्तित्व रक्षाको संकटबाट गुज्रिरहेका छन् ।
इतिहास पल्टाएर हेर्दा ओलीलाई अप्ठेरो पर्दा वामदेवले सधैँ काँध हालेको देखिन्छ । ०७० सालमा अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा पराजित गर्नु नै एमालेमा ओली उदयको प्रस्थान बिन्दु मानिन्छ । त्यतिबेला वामदेवले निर्णयक भूमिका खेलेकै कारण दलको नेता चयन भएका ओली पछि प्रधानमन्त्रीसमेत भए । नवौँ महाधिवेशनमा पनि पूर्व मालेका ३०० प्रतिनिधिले भोट नखन्याएको भए जित कठिन थियो । त्यतिखेर अध्यक्षको लागि भएको निर्वाचनमा माधव नेपाललाई ओलीले जम्मा ५३ मतले पराजित गरेका हुन् । यो क्रम नेकपाकालमा पनि रह्यो ।
एमाले र माओवादीबीच एकता हुँदा ओली र प्रचण्ड दुबै यौटै वरियताको अध्यक्ष र आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति थियो । तर, पूर्वसहमति तोडेर ओली एकलौटी अघि बढेपछि नेकपामा अन्तरविरोध शुरु भयो । किचलो बढ्दै जाँदा ९ सदस्यीय सचिवालय दुईतिर विभाजित थियो । ओलीलाई ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापाले साथ दिँदा अर्का अध्यक्ष प्रचण्डसँग माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ थिए । तर, वामदेव भने मुद्दा र एजेण्डाका आधारमा समर्थन र विरोध रहने भन्दै कतै पनि खुलेर लागेनन् । जबकि अन्तरसंघर्ष शुरु हुँदै गर्दा उनी प्रचण्ड–माधव खेमामै थिए । तर, निर्णायक घडीमा तटस्थ बसेर ओलीलाई सघाउने रणनीति अपनाएका उनले औपचारिक रुपमा ‘ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने’ प्रस्तावसमेत राखेका थिए ।
घटनाक्रमले वामदेव आज जहाँ पुगे पनि ९ सदस्यीय सचिवालयमा उनी तटस्थ बसिदिएकै कारण ओलीलाई सहज भएकोमा दुई मत छैन । नत्र आज ओलीसँग नेकपा एमाले र सूर्य चिन्ह नामको ब्राण्ड नहुन पनि सक्थ्यो । यसरी निर्णायक घडीमा काँध थापेका उनै वामदेव यतिबेला ओलीकै कारण ‘घर न घाट’ को अवस्थामा पुगेका छन् । एमालेमा फर्काउने विश्वास दिलाएर एकीकृत समाजवादीमा जाने बाटो बन्द गराइदिएका ओलीले अन्तिममा निर्णय बदलेपछि वामदेवको यो हालत भएको हो । एमालेमा जाने चर्को उत्कण्ठाले छँदाखाँदाको पार्टी ‘एकता अभियान’ समेत छिन्नभिन्न पारेका वामदेव पूर्णरुपमा दलविहीन अवस्थामा पुगेका छन् ।
त्यसो त, चित्रगुप्तको हिसाब निकालेर बस्ने इखालु स्वभावका ओलीलाई नचिन्नु वा चिनेर पनि बेवास्ता गर्नु वामदेवको आफ्नै पनि कमजोरी हो । चट्टानी अडान राख्ने नेताका रूपमा प्रचारित ओली बदला लिन पनि उत्तिकै माहिर मानिन्छन् । अर्को कुरा अध्यक्षलाई सर्वाधिकार सम्पन्न बनाएर त्यसैको वरपर घुमिरहेको आजको एमालेमा आलोचनात्मक चेत भएका वामदेवजस्ता नेताहरूले ठाउँ पाउने अवस्था यसै पनि थिएन÷छैन । ओलीका अगाडि ‘बा’ भनेर टाउको निहुर्याउनेलाई हरतरहले संरक्षण गर्ने तर फरक मत राख्नेहरू धकेलेर किनारामा पुर्याइने अवस्था त्यहाँ विद्यमान छ ।
वामदेवसँग ओलीले किन यसरी बदला लिए ? यो बुझ्न एउटा दृष्टान्त काफी छ–, गत आम चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूले लड्दै आएको चितवन छोडेर एकाएक गोर्खा पुगे । प्रधानमन्त्री रहेका बेला भए–भरको साधन, स्रोत खन्याउँदा पनि निर्वाचन क्षेत्र छोडेर भाग्नुपर्ने कारण थियो, चितवन–३ मा रवि लामिछानेको आगमन । जानकारहरू भन्छन्, प्रचण्डलाई साइजमा ल्याउने रणनीतिअनुरुप चितवनमा रविलाई खडा गर्ने भित्री खेलको डिजाइनर ओली नै थिए । त्यसो त, उनी स्वयमंले पनि रवि आफैँद्वारा पालित पोषित पात्र हो भन्ने घुमाउरो स्वीकारोक्ति गरिसकेका छन् ।
एउटा सार्वजनिक कार्यक्रममा रविलाई टिभी क्षेत्रमा आफूले नै ल्याएको दावी गर्दै ओलीले भनेका थिए, ‘रवि बाबु जबलेस भएर हिंडिरहेका बेला मकहाँ आउनुभयो, मलाई कुनै काम दिनुप¥यो, म अप्ठेरोमा छु भनेपछि मैले के जानेको छ भनेर सोधेँ । बोल्ने कला छ भने । मैले पनि कला होला भनेर बाबुकै लागि एनटिभीमा एउटा प्रोग्राम राख्छु सिधा कुरा प्रधानमन्त्रीसँग भनेँ ।’
पारिवारिक भिसा लगाएर अमेरिकी नागरिकको हैसियतमा नेपाल आएका बेला एनटिभीमा जागिर मिलाइदिएका ओलीले रवि राजनीतिमा लागेपछि पनि साथ छोडेनन् । दुबैपटक गृहमन्त्री बनाउन उनले गरेको मिहिनेत चानचुने थिएन ।
त्यसताका रवि पनि प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्न बालुवाटार वा सिंहदरबार हैन ओली भेट्न बालकोट पुग्ने गर्थे । यसरी प्रचण्डको तेजोबोध गर्न अघि सारिएका तिनै पात्र अहिले एमाले र ओलीकै लागि खतरा बन्दै छन् । आफ्नो सत्ता सुरक्षाका लागि कांग्रेसलाई खुशी पार्नुपर्ने बाध्यतामा रहेका ओलीले सहकारी काण्डमा समातेर प्रहरी खोरमा पुर्याएपछि रास्वपापंक्ति आक्रामक छ । एमाले, सरकार र ओलीविरुद्ध सामाजिक सञ्जालमा आउने गालीगलौज, आलोचना र विरोधमा अधिकांश रास्वपा र रविका मान्छे देखिन्छन् ।
टिप्पणीहरू