रविको मुद्दा न्यायाधीश ढकालको बेञ्चमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको आज चितवन जिल्ला अदालतमा बयान हुँदैछ । सहारा सहकारी ठगी प्रकरणमा हिजो दर्ता भएको मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासमा बयान हुन लागेको हो ।
बयान दिनका लागि उनी अदालत उपस्थित भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले हिजो रविसहित १५ जना व्यक्ति र ६ संस्थाविरुद्ध ‘ठगी तथा संगठित अपराध’ मुद्दा दायर गरेको थियो । सवा ३८ करोड रकम हिनामिना भएको उक्त सहकारीबाट लामिछाने तत्कालीन प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटर्वकमा १० करोड ८० लाख १८ हजार रुपैयाँ गएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
दर्ता नम्बर ०८१–सी१–०५७२ रहेको मुद्दामा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बाँस्तोला, शिवबहादुर गुरुङ्ग र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, सहकारीबाट रकम गएका कम्पनीहरु गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हब इन्टरनेशनल प्रालि, जिबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि पनि प्रतिवादी छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले गत साता नै मुद्दा दर्ताको तयारी गरेपनि अनुसन्धान प्रतिवेदनमा केही त्रुटी देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई फिर्ता गरेको थियो । प्रहरीले प्रतिवेदन सच्याएर पेश गरेसँगै मुद्दा दर्ता भएको हो । उक्त सहकारी ठगी प्रकरणमा यसअघि असोज ८ गते १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
त कात्तिक २ गते सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छोडेको थियो । त्यस्तै, स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख र सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी धरौटी बुझाएर हिरासतमुक्त भइसकेका छन् ।
टिप्पणीहरू