झन झन मर्न लागे गैँडा

झन झन मर्न लागे गैँडा

नारायणी नदीमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजी भन्ने स्थानमा उक्त गैँडा मृत फेला परेको हो ।

निकुञ्ज प्रशासनकाे टुङ्गा गस्तिको टोलीले बुधवार अपरान्ह एक वयस्क गैँडा त्यस अवस्थामा फेला पारेको उहाँले बताउनुभयो । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको रामले बताउनुभयो । यसअघि साैराहा सेक्टरमा र त्रिवेणीमा एक एक वटा गैँडा प्राकृतिक कारणले मरिसकेकाे थियाे । पछिल्लो एक सातामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा मृत भेटिएका छन् । उक्त तिनवटा मध्ये २ वटा नारायणी नदिमै डुबेर मृत्युकाे सिकार भएका छन् । यो आर्थिक बर्षमा मात्र ८ वटा गैँडाकाे मृत्यु भैसकेकाे छ ।

विज्ञहरुका अनुसार भेलाैजी घाटदेखि तल पानिकाे वहाव एकदमै ठुलाे तथा दुवै तर्फ चुरे पहाड भएकाे हुँदा माथिबाट बग्दै तल पुगेका अधिकांश गैँडाहरु डुबेर मर्ने गरेका छन् । तैरिएर उत्रन सफल भएकाहरु भने भारतकाे उत्तर विहारस्थित वाल्मीकि टाईगर रिजर्भकाे जंगल पुगेकाे विगतमा देखिसकिएकाे छ ।

नारायणी नदीका किनाराहरुमा जनताकाे तटबन्धन नामक कार्य सञ्चालनमा छ । यसकाे कारण बग्दै गरेका गैँडाहरु सहजै निस्कन सक्दैनन् । उचित घाँसे मैदानकाे कारण खाद्यान्नकाे अभाव, राेग र बाढीका कारण एक सिंगे गैँडा बचाउन चुनाैती झन् थपिएकाे छ ।

टिप्पणीहरू