जानुका ठग्ने, पञ्जाबी प्रेमी बटुल्ने

सुरुका दिनमा सामाजिक सञ्जालमा प्रेरणादायी सन्देश दिँदै चर्चामा आएकी जानुका ढुंगाना यतिखेर करोडौं रुपैयाँ ठगेपछि बेलायत पुगेकी छन् । नेपालीहरूलाई बेलायतमा आकर्षक तलबसहित वर्क परमिट मिलाइदिने भन्दै करोडौं ठगेको आरोपमा उनलाई वैदेशिक रोजगार विभागले पक्राउ पुर्जीसमेत जारी गरेको छ ।
ढुंगानाले बेलायतका पुराना नेपालीहरूसँग सम्पर्क रहेको बताउँदै धेरैलाई सामाजिक सञ्जालमार्फत प्रभावमा पारेकी हुन् । उनले नेपालमा सर्वसाधारणसँग अग्रिम भुक्तानी लिएर ठग्दै आएको खुलासा भएको राजेन्द्र समुलले जानकारी दिए ।
विद्यार्थीहरूलाई शोषण गर्ने रणनीति
बेलायतमा रहेका विद्यार्थीहरूलाई उनले “मेरा दाइले नेपालमा पैसा ट्रान्सफर गरिदिनुहुन्छ, पछि नेपालमै फिर्ता गरिदिनू” भन्दै झुक्याइन् । कतिपय विद्यार्थीले उनका कुरा पत्याउँदै आफ्नो बैंक खातामार्फत् उनलाई रकम दिए । तर, पछि रकम फिर्ता मागेपछि जानुकाले धम्क्याउन थालिन् ।
बैंक ट्रान्जेक्सनमा समस्या आएको बहाना गर्दै उनले कहिले आफ्नै खातामा, कहिले प्रेमीको खातामा पैसा पठाउन लगाइन् । साथै, उनले पीडितहरूमाथि मानसिक दबाब दिँदै “तिमीहरूले मलाई पैसा दिएको के प्रमाण छ ?” भन्दै धम्क्याउने र उल्टै “हुण्डी कारोबारी भनेर फसाइदिन्छु” भनेपछि आफूहरु सशंकित भएको पीडितहरु बताउँछन् ।
भारतीय गिरोहसँग साँठगाँठ
विशेष स्रोतका अनुसार, उनले संकलित रकम भारतस्थित आफ्ना पञ्जाबी प्रेमीको साझेदारहरुको कम्पनी खातामा हालेर हुण्डीमार्फत भारत पठाएको बुझिएको छ । उनको उद्देश्य भारतमा नै ठगी रकमबाट विलासी जीवन बिताउने रहेको बताइएको छ ।
नेपाल र बेलायत दुवै तर्फका पीडितहरू अहिले कानुनी बाटो खोजिरहेका छन् । कतिपयले बेलायतमै आफ्नो बैंक खाताबाट पैसा झिकेर नगद दिएका कारण उनीहरू ठूलो मानसिक तनावमा परेका हुन् ।
नेपालमा उनले आफ्ना नातेदारमार्फत् पीडितहरूलाई झन् झुक्याउने काम गरिरहेका छन् । “छोरीको पैसा बेलायतमा अड्किएको छ, म नेपालमा तिमीहरूको पैसा उठाइदिन सहयोग गर्छु” भन्दै पीडितहरूलाई थप झुक्याउन खोजेको पाइएको छ ।
कानुनी कारबाहीको माग
जानुका ढुंगानाबाट पीडित नेपालीहरू अहिले न्यायको माग गर्दै विभिन्न निकायमा उजुरी दिइरहेका छन् । बेलायतस्थित नेपाली समुदायले पनि यस्तो ठगीको विषयमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन पहल गर्नुपर्ने माग गरेका छन् । यो घटनाले पुनः एकपटक स्वदेश वा विदेशमा रहेका नेपालीहरूलाई आर्थिक कारोबार गर्दा अत्यन्त सचेत रहनुपर्ने सन्देश दिएको छ ।
टिप्पणीहरू