डिल्लीबजारमा नवराज सुवेदीको उद्घोष, राप्रपामा भाँडभैलो

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘बक्सिस’ थाप्ने होडाबाजीमा राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र लफडा शुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको चाहनाविपरीत राजसंस्था पुनस्थापनाका लागि संयुक्त आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी नवराज सुवेदीलाई सुम्पिएपछि असन्तुष्टि बढेको बताइन्छ ।
पार्टीको कार्यसम्पादन समिति सदस्यसमेत रहेका सुवेदीलाई निर्मल निवासले संयुक्त आन्दोलनको संयोजक तोकेकोमा अध्यक्ष लिङ्देन असन्तुष्ट देखिएका हुन् । सुवेदीले आजदेखि पार्टीको साधारण सदस्यसमेत नरहने, तर राजसंस्था पुनःस्थापना अभियानको नेतृत्व गर्ने घोषणा गरेका छन् । डिल्लीबजारको भोजन गृहमा सम्पन्न राजावादीहरुको भेलापछि उनले भने, ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्नँ, तर राजा ल्याउने अभियानमा लाग्छु ।’
पञ्चायतकालीन नेतासमेत रहेका सुवेदीले खासमा राजसंस्थाको पक्षमा रहेको विभिन्न समूहको संयुक्त भेला बोलाएका थिए । स्रोतका अनुसार राप्रपा अध्यक्ष लिङ्देनलाई पनि बोलाइएको थियो, तर उनी उपस्थित भएनन् । निर्मल निवासबाट संयोजक तोकिएका सुवेदीलाई लिङ्देनले आन्दोलनको नेतृत्वको रुपमा स्वीकार गर्न नसकेको पार्टीकै नेताहरु बताउँछन् ।
एक नेता भन्छन्, ‘निर्मल निवासले उहाँ (सुवेदी)लाई जिम्मेवारी दिएको अध्यक्षज्यूलाई मन परेको छैन, तर यो एजेण्डाको कुरा हो, ढिलोचाँडो सहमत हुनुहुन्छ ।’ सुवेदी संयोजक रहेको राजावादीहरुको आन्दोलन समितिमा लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र नागरिक बचाउ अभियानका संयोजक एवम् व्यवसायी दुर्गा प्रसाईंको नाम सदस्यमा प्रस्ताव गरिएको स्रोतको दाबी छ । त्यसबारे प्रसाईंले धन्यवाद समेत दिइसकेका छन् भने थापा सकारात्मक रहेको बुझिएको छ । तर, लिङ्देनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
हिजो बसेको राप्रपाको कार्य सम्पादन समितिको बैठकपछि लिङ्देन र सुवेदीले ‘फेस टु फेस’ वार्ता गरेका थिए । सो क्रममा सुवेदीले ‘निर्मल निवासबाट हुकुम बक्सिएको छ’ भनेपछि लिङ्देन चुपचाप निस्किएको बताइन्छ ।
टिप्पणीहरू