कमाइ सुकेपछि लागुपदार्थ कारोबार

– मोतीराम तिमल्सिना
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा आसपास क्षेत्र लागुऔषध प्रयोगकर्ता र कारोबारीको ‘ट्रान्जिट’ तथा मुख्य क्षेत्र बन्ने क्रम भंग गर्न प्रहरीको सर्च अभियान तीब्र छ । लागुऔषध (खैरो हेरोइन पछि) ब्राउन सुगरको कारोवार गर्ने समूहका केही सदस्यलाई समातिएको छ भने तीन जना फरार छन् ।
पक्राउ पर्नेमा काठमाडौँ जिल्ला शंकरापुर नगरपालिका–१० घर भएका ३२ वर्षीय किशोर थापा, सोही नगरपालिका–९ का २४ वर्षीय अभिषेक राजवाहक, सोही ठेगानाका ३० वर्षीय विराट थापा छन् । पक्राउ परेकाहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने सोही अभियोगमा फरार झापा जिल्ला लखनपुर ४ घर भई हाल बिर्तामोड नगरपालिका–३ स्थित न्यु देव चश्मा घरका सञ्चालक ४१ वर्षीय देवीप्रसाद शिवाकोटी, सोही ठेगाना भएका ३२ वर्षीय पवनकुमार चौधरी र झापा अनारमनी गाविस २ घर भएका ६१ वर्षीय फुरिदा मुस्लिमलाई समात्न आदेश जारी भएको छ । २०८१ मसिर १६ गते बिहान १० बजे धुलिखेल नगरपालिका ९ स्थित बिपी राजमार्गको काभ्रे भञ्ज्याङमा लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौँ र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भकुण्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको बा १५ च २३५६ नम्बरको स्कोर्पियो गाडी चालक अभिषेक राजवाहक, सोही गाडीमा रहेका किशोर थापा र विराट थापासहितले गाडीको ड्यासबोर्डमा रहेको साउण्ड सिष्टमभित्र ४७ ग्रामको ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो ।
२०८१ मंसिर १४ गते स्कोर्पियो लिएर झापा पुगेका उनीहरू होटलमा नभई गाडीभित्रै सुतेका थिए । मंसिर १५ गते बिहान बिर्तामोडस्थित श्री होटल एण्ड लजमा विराट थापाले एक लाख रुपैयाँँ तिरेर ५० ग्राम ब्राउन सुगर किन्ने छिनोफानो भयो । फोनमा डिल भएपछि एनआइसी बैंकमा न्यू देव चश्माघर र पवन चौधरीको नाममा रहेको एनआइएमबी बैंकमा गरी २ लाख रुपैयाँ जम्मा गरियो । बाँकी एक लाख रुपैयाँ काठमाडौँ फर्किएर जम्मा गरिदिने शर्तनामामा उक्त सामग्री बुझ्ने काम भयो । पैसा बैंकमा जम्मा गरिदिएपछि दुई जना भारतीयजस्तो अनुहार भएका व्यक्तिले होटलमै ब्राउन सुगर दिएर फर्किए । तीनै जनाले अलिकति ब्राउन सुगर सेवनपछि भोलिपल्ट १६ गते बिपी राजमार्ग हुँदै काठमाडौँ आउने क्रममा प्रहरीले विशेष निगरानी र सूचनाका आधारमा पक्राउ गरेको हो ।
गिरोह सधैँ ‘फरार’
बिरामी बोक्ने एम्बुलेन्समा लुकाएर लागुऔषध डाइजेपाम ल्याउने धनुषाधाम नगरपालिका–६ हरिपुर घर भई महोत्तरी बर्दिवास नगरपालिका–१० बस्ने ४४ वर्षीय सुरेश मिझारलाई प्रहरीले रोशी गाउँपालिकास्थित बिपी राजमार्गबाट २०८१ मंसिर २० गते पक्राउ गरेको थियो । उनले भाडामा लिएको एम्बुलेन्समा चालक बस्ने सिटको पछाडि राखेर लागुऔषध नुफिन १ हजार थान, डाइजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल गरी ३ हजार एम्पुल ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो । उनले अन्य ४ जनाको नाम पोले पनि सबै फरार छन् । ती भगौडामा धनुषा जिल्ला साविक ढल्केबर गाविस ५ घर भई हाल मिथिला गाउँपालिका ६ का ५१ वर्षीय कुमार साह, सोही ठेगानाका ४९ वर्षीय पप्पुकुमार साह हलुवाई, २५ वर्षीया रिन्कुकुमारी साह र नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ का ३० वर्षीय सुरेश भुजेल छन् । पछिल्लो समय लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्यक्ति पक्राउ परे पनि मुख्य गिरोह समात्न प्रहरी असफल हुँदै आएको छ । एम्बुलेन्स चालक सुरेश मिझारले ११ हजार रुपैयाँको प्रलोभनमा बिरामी लैजाँदा उक्त सामान राख्न दिएको बताएका छन् ।
ती सामान काठमाडौँस्थित कान्ति बाल अस्पतालमा कोही व्यक्तिलाई बुझाउने सल्लाह थियो । पछिल्लो समय व्यवसायमा आएको मन्दीका कारण विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति लागुऔषध ओसारपसारमा केन्द्रित भएको अवस्था छ ।
टिप्पणीहरू