छिछि, कतिसम्म बढेछन्, छाडापन

छिछि, कतिसम्म बढेछन्, छाडापन

नेपालको संविधान, २०७२ ले नागरिकलाई स्वतन्त्रताको हक सुनिश्चित गरेको छ । प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति राख्ने छुट छ । तर, वाक स्वतन्त्रताका नाममा अरुको बद्नाम गर्ने कार्यले पछिल्लो समय प्राथमिकता पाएको देखिन्छ । 

सामाजिक सञ्जालको दुरूपयोगबाट सर्वसाधारण मात्र नभई उच्चपदस्थ व्यक्तिसमेत पीडित बनिरहेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छविमाथि लाञ्छना लगाउने गरी केही दिनयता घीनलाग्दा सामग्री पोष्ट भइरहेका छन् । ती पढ्न नसकिने खालका छन् । ससुरा र बुहारीको पवित्र सम्बन्धलाई नै बद्नाम गर्ने सामग्री सामाजिक सञ्जालभर छरपष्ट छ । 

चर्चित गायिका कुन्ति सुन्दास र संगीतकार शिलाबहादुर मोक्तानकी छोरी एवं नाम चलेकी गायिका शिवानी मोक्तान नामक फेसबुक पेजमा प्रचण्डले छोराको हत्या गरेको र श्रीमतीलाई विष खुवाएर लाश बनाएको आरोपसहितको स्ट्याट्स लेखिएको छ । 

भनिएको छ, ‘आफ्नै बुहारीसँग अनैतिक सम्बन्ध राखेको थाहा पाउँदा छोरालाई तत्काल हत्या गराएको र श्रीमतीलाई स्लो पोइजनमार्फत जिउँदो लाश बनाएर यो कुरालाई ढाकछोप गराएको संगीन आरोपमा छानबिन हुनुपर्छ कि पर्दैन ? सत्र हजारको हत्या त ग¥यो ग¥यो आफ्नै घरभित्र पनि यत्रो अमानवीय, अनैतिक, घृणित कार्य गर्न सक्ने आतंककारीलाई त्यसै छोड्नुहुँदैन । जनहत्यारा प्रचण्डबाट जन्मिएको नाजायज हरामी अर्को पुत्र । बुहारीसँग सम्भोगको परिणाम रानी साह ।’

भीम रावल समर्थक नामक पेजमा पनि सोही खालको पोष्ट हालिएको छ । ‘प्रचण्डे कत्ति न गतिलो भनेको त आफ्नो बुहारीलाई ...गर्दो रहेछ, त्यसका दासहरू’, पोष्टमा उल्लेख छ । अन्य थुप्रै पेजबाट त्यस्ता सामग्री सेयर भइरहेको छ । ती सामग्री पोष्ट गर्ने को हुन् ? ती कसले चलाएका छन् ? छानबिन जारी छ । तुच्छ शब्दसहित चरित्रहत्या गर्ने स्ट्याटस आएपछि साइबर ब्यूरोमा उजुर हालिएको स्वकीय सचिव गोविन्द आचार्यले बताए । पत्रकार महासंघका पूर्वअध्यक्ष तथा प्रचण्डको प्रेस सल्लाहकारसमेत रहिसकेका उनले ती व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले चासो नदेखाएको आरोप लगाए । ब्यूरोले सार्वजनिक अपराधजस्तो गम्भीर विषयलाई गम्भीरताका साथ नलिएको उनको गुनासो छ । 

‘हामीले गत शनिबार मौखिक जानकारी गरायौं । उहाँहरूले लिखित उजुरी चाहिन्छ भन्नुभएपछि आइतबार लेखेर दियौं । तर, अहिलेसम्म त्यस विषयमा कुनै चासो देखाउनुभएको छैन । सामाजिक सञ्जालमार्फत यसरी कसैको चरित्रहत्या गर्नु सार्वजनिक अपराध हो । सामाजिक सञ्जालको नियमन गर्न ऐनकानुन छ । तर, सरकारले कडा रूपमा ती ऐनकानुन कार्यान्वयन गर्न नसक्दा यस्ता गतिविधि भइरहेका छन् । हामीले उजुरी त दियौं तर प्रहरीले अहिलेसम्म केही गरेको छैन’, उनले भने । 

एजेण्डा नभएकाहरूले कुनै विषय नपाएपछि सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आचार्य बताउँछन् । यता, प्रचण्डकी कान्छी छोरी गंगा दाहालले आफूले ती स्ट्याट्स पढ्न पनि नसकेको बताइन् । स्ट्याटस देखेर तीनछक्क परेको उनको जिकिर छ । सो विषयमा ब्यूरोमा उजुरी दिइसकेको उल्लेख गर्दै उनले प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिइन् । 

बढ्दो अपराध, ब्यूरोलाई तनाव

सामाजिक सञ्जालको बढ्दो दुरूपयोग साइबर ब्यूरोलाई टाउको दुखाई बनेको छ । साइबर अपराध नियन्त्रण ठूलो चुनौती बनेको ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थी बताउँछन् । उनका अनुसार दैनिक सयौं उजुरी दर्ता हुने गरेको छ । मानिसमा नैतिकता हराउँदा यस्ता घटनामा वृद्धि भएको उनको ठहर छ । ‘प्रचण्डजीको चरित्रहत्या भएको भन्ने उजुरी आएको छ । त्यसमाथि अनुसन्धान गरिरहेका छौं । कसले हालेको हो ? खोजिरहेका छौं । मान्छेमा इथिक्स भन्ने कुरै भएन । जे पनि पोष्ट गर्ने क्रम बढ्यो । प्रचण्डजी मात्र होइन, अन्यको पनि त्यसरी चरित्रहत्या गर्न मिल्दैन’, उनले भने ।
 

टिप्पणीहरू