नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुभारम्भ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुभारम्भ
सुन्नुहोस्

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं संस्करण आजदेखि शुरु भएको छ । राजधानीमा आयोजित समारोहलाई ‘क्ल्यापर बोर्ड’ ले एक्सन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै उहाँले समाजलाई मार्ग निदर्शन गर्ने चलचित्रको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । भन्नुभयो,‘मुलुकमा चलचित्रको विकासले फड्को मारेको छ । तर, समाजलाई मार्ग निर्देशन गर्ने चलचित्र कम निर्माण भएको छ । निर्देशक र निर्माताले त्यस्ता चलचित्र बनाउनुुपर्ने देखिएको छ ।’ त्यसैगरी, उहाँले प्रविधिको विकासले चलचित्रको गुणस्तर बढेको बताउनुभयो । अगाडि थप्नुभयो,‘प्रविधिको विकासले चलचित्रको गुणस्तर बढेको छ ।’ 

विशिष्ट अतिथि नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले उक्त भव्य कार्यक्रमले चलचित्रप्रति नेपालीको लगाव झल्काएको बताउनुभयो । जनआस्थासँग कुराकानी गर्दै बंगलादेशी चलचित्र निर्देशक रिता दत्तले नेपालको चलचित्र महोत्सव भव्य लागेको प्रतिक्रिया दिनुभयो । आफू विभिन्न चलचित्र महोत्सवमा पुगेको बताउँदै उहाँले भन्नुभयो, ‘म कोलकाता, बैंग्लोरलगायत स्थानमा भएका महोत्सवमा सहभागी भएँ तर, काठमाडौंको भव्य लाग्यो ।’

महोत्सवमा १८ देशका चलचित्रकर्मीको सहभागिता छ । दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरेलगायत थुप्रै नेपाली कलाकार कार्यक्रममा सहभागी भएका छन् । महोत्सवभर ४० मुलुकका ८५ वटा चलचित्र देखाइनेछ । 

आज नेपाली चर्चित चलचित्र ‘शाम्बाला’ प्रदर्शन गरिएको छ । अन्तिम दिन उत्कृष्ट चलचित्रलाई उपाधि प्रदान गरिने बताइएको छ ।

टिप्पणीहरू