सालिन मनको मलिन कथा, अभियुक्तले सफाइ पाए यता

सालिन मनको मलिन कथा, अभियुक्तले सफाइ पाए यता

निधारमा रातो अक्षताको टीका अनि रातोरंगको पहिरन, गलामा सुन्दर मालासहित धपक्क बलेको एउटी बालिकाको तस्वीर- गत वर्ष सामाजिक सञ्जाल र सञ्चारमाध्यमका भित्ताहरुमा निकै छाएको थियो, उनी निभेर गएपछि । कोपिलाबाट भर्खर फूलझैं फक्रिँदै गरेको सुन्दर र सालिन रुप फोटोमा देखिन्छ । 

तर, भाग्य नै खोटो रहेछ ! बाबुआमा भएर पनि टुहुरीझैँ थिइन् । राम्ररी फुल्नै नपाई चुँडिएर गएकी ती १४ वर्षीया बालिका सालिन पोखरेलको मुद्दामा चितवन जिल्ला अदालतले हालै प्रतिवादीहरुलाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा दाबी नपुग्ने ठहर गर्दै न्यायाधीश ध्रुवकुमार ढकालको इजलासले अस्ति सोमबार फैसला सुनाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए । 

२०८० फागुन १२ गते बिहान सालिन आफ्नै स्कूलको होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । आमाबाबुले होस्टेल र विद्यालय प्रशासनलाई दोषी ठहर्याउँदै प्रहरीमा किटानी जाहेरी दिएपछि विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमलप्रसाद शर्मा पक्राउ परेका थिए ।

यस घटनामा सरकारी वकिल कार्यालयले २०८० चैत्र ४ गते उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको भएपनि तीनैजना धरौटीमा बाहिरै थिए । 

आमाबाबुको बेमेल, सम्बन्ध विच्छेद वा भनौं पारिवारिक विखण्डनले धेरै बालबालिकाको जीवन बर्बादीतर्फ धकेलिने गरेको छ । सालिन पोखरेल पनि सानैदेखि बाबुआमाको झगडाको मारमा परेकी बालिका हुन् । आमाबुबा एकअर्कासँग छुट्टिएर अन्तअन्तै आ–आफ्नो अंगालो भरेर बसेको सुनिएको थियो । 

जेहोस्, उनीहरु अलग्गिएर लाखापाखा भएपछि आमाबाबुको काखबाट वञ्चित अभागी छोरी सालिन यता होस्टेलको कोठामा तड्पिँदै, निस्सासिँदै, छटपटिँदै मर्नुपरेको थियो । उनी आफ्ना मनका बह तथा भावनाहरु डायरीमा पोख्ने पनि गर्थिन् । मर्नुअघि उनले सुसाइडनोट र डायरीमा ममीबुबाको यादमा लेखेका कुराहरु पनि छन्  । 

रत्ननगर–१० को एकता शिशु निकेतन बोर्डिड्ड स्कूलमा होस्टेलमा बसेर सालिन कक्षा–८ मा पढ्दै थिइन् । सम्पूर्ण खर्च आमाबाबुले नै व्यहोर्दै थिए । तर, खाने–लाउने व्यवस्था गरिदिएर स्कूल पढाइदिँदैमा आमाबाबुको जिम्मेवारी कहाँ पूरा हुन्छ र ? बाआमाको माया, र काख पनि बालविकासको निम्ति अत्यन्त महत्वपूर्ण पक्ष हो भनी बालविज्ञ र मनोविद्हरुले बारम्बार भन्दै आइरहेको तथ्य हो ।  

अभिभावकको प्रत्यक्ष रेखदेखबाट वञ्चित बालबालिकाहरु हिंसा र दुव्र्यवहारको शिकार पनि अत्यधिक मात्रामा हुने गरेका छन् । सालिनको पनि स्कूलमा बलात्कार पछि हत्या भएको आशंका नगरिएको थिएन । तर, परीक्षण रिपोर्टबाट त्यस्तो देखिएन । 

मृत्युको कारण ह्याड्डिङ नै भएको पोष्टमार्टम रिपोर्ट आएको र सुसाइडको नोटको अक्षर पनि उनको आफ्नै भएको परीक्षणले देखाएको थियो । आत्महत्या नै भएपनि बच्ची त्यो अवस्थामा किन पुगिन् त ? सम्पूर्ण अभिभावकहरुले गम्भीर भएर आत्मसात गर्नुपर्ने एउटा महत्वपूर्ण विषय हो यो ।

टिप्पणीहरू