मानव अधिकारप्रति संवेदनशील हुन सुरक्षा निकायको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले भोलि हुने भनिएको प्रदर्शनमा मानव अधिकारप्रति संवेदनशील हुन सुरक्षा अधिकारीहरुलाई आग्रह गरेको छ । प्रदर्शनमा उत्पन्न हुनसक्ने परिस्थितिको आकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरुलाई आग्रह गरिएको छ ।
प्रदर्शनका क्रममा उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामासमेत चूनौती थप्ने अवस्थाप्रति चासो व्यक्त गर्दै आयोगले सुरक्षा व्यवस्थाबारे काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुसँग आयोगले छलफल गरेको थियो । सो क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताएका थिए ।
आयोग अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात गर्न निर्देशन दिनुभएको जारी विज्ञप्तिमा उल्लेख छ । आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन प्रदर्शकारीहरुलाई आयोगले अपिल गरेको छ ।
टिप्पणीहरू