मर्स्याङ्गदी करिडोरमा पनि कुलमानकै चर्चा

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएपनि उनको योगदानको चर्चा चलिरहेकै छ । देशलाई लोडसेडिङको अँध्यारोबाट उज्यालोमा लैजान महत्वपूर्ण नेतृत्व गर्दै अरबौं घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याउने कामको जस कुलमानलाई नै जान्छ । उनको पुनर्वहालीको लागि जनस्तरबाट आन्दोलनसमेत चलिरहेको छ । चितवनमा मर्स्याङ्गदी करिडोर (उदिपुर–मार्कीचोक–न्यू भरतपुर) २२० केभी प्रसारण लाइन आयाजनाको काममा पनि कुलमानको भूमिकाको चर्चा छ ।
‘कुलमान सर आफैं फिल्डमा आएर अनुगमन गर्नुहुन्थ्यो’, इन्द्रेणी सामुदायिक वनका कर्मचारीले पनि सुनाए । करिडोरमा इन्द्रेणी सामुदायिकको ६.३९ हेक्टर वनक्षेत्र कटान गरिएपछि अब उक्त वन समूहको क्षेत्रफल २०१.३१ हेक्टर बाँकी रहेको बताइन्छ । यसैगरी, यहाँको सतनचुली र पाँचकन्या सामुदायिक वन क्षेत्र पनि यसमा समेटिएको जानकारी उनले दिए । चितवन जिल्लाको भरतपुर र इच्छाकामनाको वनक्षेत्र यसमा पर्छ । चितवनमा स्थायी १.३४ हेक्टर र अस्थायी २९.७४ हेक्टर गरी कुल ३१.०८ हेक्टर वनक्षेत्र यो आयोजनाले ओगटेको डिभिजन वन कार्यालयकी वन अधिकृत सम्झना अधिकारीले बताइन् ।
सन् २०१८ बाट तीन वर्षमा सक्ने भनी अगाडि बढाइएको यस विद्युत प्रसारण लाइनका लागि रुख हटाउने भनेर २०८० माघ २५ मा बल्ल मन्त्रिपरिषद्बाट निर्णय भएपश्चात् २०८१ असार १४ मा वन तथा भूसंरक्षण विभाग र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भई काम अगाडि बढेको अधिकारी बताउँछिन् । यसका लागि चितवनमा तीन हजार सातसय ५९ वटा रुखहरु हटाउन छपान भई कटान कार्य भइरहेको जानकारी उनले गराइन् ।
कुलमान घिसिङ आफैंले डिभिजन वन कार्यालयका प्रमुखहरुलाई फोनगरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर प्रसारण लाइनको काम छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरेका थिए । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गाधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उनको निर्देशन रहेको थियो ।
कुलमान नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमनमार्फत आयोजनाको काममा भइरहेको प्रगति र समस्याका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग पटकपटक विस्तृत छलफल गरी जानकारी लिने गरेको थियो । मस्र्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरुका सहायक खोलामा वर्षायाममा उत्पादित विद्युत् प्रवाहका लागि उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड महत्वपूर्ण रहेकाले जनशक्ति थप गरी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई कुलमान आफैँले निर्देशन दिँदै आएका थिए । महत्वपूर्ण यस आयोजनालाई चाँडो सम्पन्न गराउन विशेष पहल गरेका कारण अहिले पनि उनको चर्चा भइरहेको हो ।
हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको न्यू भरतपुर सबस्टेशनसँगै यसको सबस्टेशन रहेको छ । सबस्टेशनका इन्चार्ज सञ्जय महतोले पनि कुलमान आएर ठेकेदारलाई टाइट गरेपछि काम द्रुत गतिमा अगाडि बढेको बताए । उनले भने ‘दुई महिनाभित्र ३०–३५ वटा टावर बनिसक्यो रे ¤’
मस्र्याङ्दी करिडोर प्रसारण लाइनको यस खण्डमा लमजुङ, गोर्खा, तनहुँ र चितवन क्षेत्र पर्दछ । यसमा विगतमा धेरै समस्याहरु थिए । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिमा देखिएको लामो कानुनी प्रक्रिया सँगै ठाउँ-ठाउँमा विरोधका कारण रुट फाइनलमै कठिनाइ भएको, कोभिडको बेला ठेकेदारले मोबिलाइज नसकेको, कटानमा ढिलाइ जस्ता यी यावत कुराहरुले गर्दा ढिलासुस्ती भएको थियो ।
तर, पछिल्लो समय आयोजना ट्रयाकमा आइसकेको आयोजना प्रमुख नारायण रेग्मी बताउँछन् । ‘पछिल्लो ६ महिनादेखि हाम्रो एग्रेसिभ काम भइराछ’, उनले भने, ‘अबको ६ महिनाभित्र सम्पन्न गर्नेगरी काम गरिराछ कन्ट्याक्टरले ।’ यो खण्डमा १९९ वटा टावर बनाउनुपर्नेमा १६५ वटा टावर निर्माण भइसकेको जानकारी उनले गराए । अब यो बनिसकेपछि भरतपुरबाट आँबुखैरहनी र काठमाडौंसम्म लाइन पुग्ने र यसमा विद्युतीय सञ्जाल जोडिसकेपछि लाइन सिस्टम दिगो पनि हुने आयोजना प्रमुखले बताए ।
टिप्पणीहरू