चौतारीको कलह र एमाले पत्रकारहरूका चिन्ता

चौतारीको कलह र एमाले पत्रकारहरूका चिन्ता

एमाले अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेको भन्दै प्रेस चौतारी नेपालको महाधिवेशन पटक–पटक सारियो । गणेश बस्नेतले दुई कार्यकाल नेतृत्व गरिसकेपछि नयाँ अध्यक्ष चयनका लागि पुस १६ गतेको सचिवालय बैठकले फागुन २३–२५ गतेसम्म दशौँ महाधिवेशन गर्ने निर्णय लियो । तर, उक्त निर्णय कार्यान्वयन हुन सकेन । अध्यक्ष ओलीलाई जसरी पनि उपस्थित गराउने कोसिसमा रहेका गणेश बस्नेतको प्रयासले सार्थकता नपाउने भएपछि फागुन २७–२८ गते हुने गरी नयाँ मिति तोकियो । स्थान भने कोशी प्रदेशको राजधानी विराटनगर यथावत थियो । तर उक्त मितिमा पनि साइत जुरेन । ओलीले महाधिवेशनमा सहभागी हुने समय दिएनन् । र डेढ सातालाईसारियो । चैन १० देखि ११ गतेसम्म विराटनगरमै हुने भयो । यसपटक भने ओलीले उद्घाटन गरिदिनेमा नेताहरू ढुक्क थिए । त्यहीअनुसार विराटनगर विमानस्थलदेखि बरगाछीस्थित होटल मनास्लु इनसम्म दुई व्यक्तिका फोटोसहितका ब्यानर छपक्कै थियो । ती फोटोमा पहिलो त केपी ओली थिए भने अर्का गणेश बस्नेत ।

महाधिवेशनका लागि यता काठमाडौंमा दौडधूप चलिरहेको थियो । राजेश राई र गणेश पाण्डे मुख्य दौडमा थिए । फागुन २८ गते पाण्डेलाई प्रचार विभाग सचिव बनाइयो । महाधिवेशनका मुखमा पाण्डेलाई कसले र किन त्यताा लग्यो, त्यो निर्णय कतिसम्म अपरिपक्व र कच्चा रहेछ भन्ने कुरा २० दिनमै उनले दिएको राजीनामाले पुष्टि गरेको छ । अब अर्का उपाध्यक्ष राजेश राई अध्यक्षमा निश्चित भएको एमाले वृत्तमै चर्चा चल्यो । राई विश्वस्त त थिए तर ढुक्क भने थिएनन् । त्यही कारण एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललाई भेटे । बालुवाटारमा पनि सन्देश पठाए । पोखरेल र पौडेल दुवैले दुई दुई पटक भएको भेटमा अब अध्यक्ष निश्चित भइसकेकाले कार्ययोजना बनाएर अघि बढ्न सुझाए । ग्यारेन्टी खोजिरहेका राईलाई पोखरेलले आफूले भनेपछि पनि विश्वास नगरेको भन्दै जिस्क्याएका थिए । भोलिको एमाले हाँक्ने भनिएका नेताको कुरा नपत्याउनु पनि कसरी ? दुवै नेताको भर परेर उनी वृहत् शब्दकोषकै आकारको चौतारी स्मारिका सम्पादनमा लागे । राई त्यता लागिरहँदा ओलीको विचार समेटेर पुस्तक निकालेका पाण्डेले फेसबुकमा आफू चौतारीको अध्यक्ष बन्ने दौडमै रहेको कुरा लेखे । पाण्डेलाई प्रचार विभागान लाने भूमिका खेलेका विभागीय प्रमुख राजेन्द्र गौतम र जनसंगठन समन्वय संयन्त्र विभाग प्रमुख भानुभक्त ढकाल दुवै जना कसरी फेरि ब्याक भए अचम्मलाग्दो छ ।

उता, बालुवाटार धाइरहेका यी नेताले चैत ८ गते ओलीलाई मनाएर पाण्डेको नाम अनुमोदन गराए । विराटनगर हिँड्न लागेका कयौँ प्रतिनिधिले निर्वाचन नै नहुने बुझेपछि जहाज र बसको टिकट रद्द गरे । एउटा गणेशका ठाउँमा अर्का गणेशको नाममा सहमति जनाएका ओलीले आखिर महाधिवेशन उद्घाटनप्रति किन अनिच्छा देखाए त ? राजेश स्मारिका सम्पादनमा व्यस्त भइरहेका तत्कालीन नेकपाकालीन दुई लाइन संघर्षका क्रममा उनैले ओलीबारे लेखेका लेख र ट्विटको संगालो बालुवाटार पुगिसकेको थियो । एउटा पक्षले ओलीको चर्को आलोचना गर्दै लेखेका लेखको लिंक र प्रिन्टेडप्रति नै देखाएपछि बालुवाटारको मुड फेरिएको स्रोत बताउँछ । राजेशलाई अध्यक्षमा रोकेपछि ओलीले चौतारीको महाधिवेशनमा नजाने निर्णय गरे ।

चुनावका लागि तयार रहेको एउटा पक्षलाई कुनै अर्को दलको कार्यकर्ता जसरी निषेध गरिएको महाधिवेशनले टीका लगाएर नेतृत्व छान्यो । एउटा पक्षलाई निषेध गरिएको यो प्रक्रियालाई भनियो सर्वसम्मत । नयाँ नेतृत्व घोषणा गर्दाको कुरा त पर जाओस्, सर्वसम्मत भनिएको नेतृत्वलाई बधाई दिँदा पनि राजेश पक्षलाई एमाले नेताहरूले मञ्चमा बोलाउन जरूरी ठानेनन् ।

राजावादी उपद्रोका दिन गत शुक्रबार एमाले केन्द्रीय कार्यालय च्यासलमा नयाँ कमिटीको शपथग्रहण कार्यक्रम राखिएको थियो । ओलीले शपथ खुवाउने भनेपछि उत्साहित भएर आएका नयाँ पदाधिकारी र केन्द्रीय सदस्य अन्तिम समयमा जिल्लिए । महाधिवेशनमा पटक पटक बोलाउँदा पनि नपत्याएका ओलीले नयाँ कमिटीलाई शपथसमेत गराएनन् । त्यसअघि १४ चैतको मध्ये राति चौतारीका पदाधिकारी लर्को लागेर बधाई थाप्न बालुवाटार छिरेका थिए । त्यस दिन पनि उनले चौतारीका नयाँ पदाधिकारीलाई बिहान ७ बजे बोलाएर राति १२ः५३ मा मात्रै भेट दिए ।

ओली त दुईजनाको ज्यान जाने गरी शुक्रबार भएको तीनकुने हिंसाबीच बालुवाटारबाट निस्किएनन् । अनौठोचाहिँ कस्तो भयो भने च्यासलस्थित पार्टी कार्यालयमै रहेका महासचिव शंकर पोखरेलसमेत चौतारीको शपथमा गएनन् । तीनकुने तनावका कारण केही घण्टा सरेको शपथ गणेश बस्नेतमार्फत् नै खुवाएर चौतारीका नयाँ नेता जिल्ला जिल्ला फर्किए । ओलीले चौतारीको नयाँ नेतृत्वमा कसैलाई नच्यापेको बताए पनि महाधिवेशनस्थलमा निर्वाचन माग गर्ने राजेश राईहरूले मनोनयनसमेत गर्न नपाउँदा रुँदै रुँदै हिँड्नुपर्‍यो ।

चौतारीको महाधिवेशनबाट एकीकृत समाजवादी छाडेर आएका करिब २० जना नेतृत्वमा स्थापित भए । विश्वमणि सुवेदी विधानले नचिन्ने वरिष्ठ नेता भए । त्यो पनि गणेश बस्नेतले नाम फुकेर । उपाध्यक्षमा समाजवादीबाटै आएकी कृपा भण्डारी चयन भइन् । तर कृपाको नाम बस्नेतले घोषणा गरिरहँदा समाजवादीबाटै आएका दुई नेताबीच बन्दसत्र हलमै कुटाकुट चल्यो । एकजना पदाधिकारीलाई अर्की पदाधिकारीले कठालो समातिन् । ती पदाधिकारीले सहयात्रीलाई झापड मात्रै हानिनन्, लुगासमेत च्यातिदिइन् ।

एमाले अध्यक्ष ओलीले व्यवहारमै चौतारीको नयाँ नेतृत्वप्रति असन्तुष्टि पोखिरहँदा सुदूरपश्चिम इञ्चार्जको भूमिका नपाएपछि अर्का ओली अर्थात् कृष्ण ओली असन्तुष्ट छन् । उनले केन्द्रीय नेतृत्वलाई सुदूरपश्चिममा निम्तो नै नगर्ने चेतावनी दिइसकेका छन् । सुदूरपश्चिमका आठै जिल्ला कमिटीले आफूहरूले सर्वसम्मत नाम सिफारिस गर्दा पनि केन्द्रले अन्याय गरेको भन्दै १०औं महाधिवेशनको अध्यक्षमण्डललाई पत्र नै दिएका छन् ।

टिप्पणीहरू