झुर कास्टिङमा सुपर फ्लप सिनेमा

तीनकुने हत्याकाण्डपछिका चौतर्फी तनाव

झुर कास्टिङमा सुपर फ्लप सिनेमा

‘तीनकुने हत्याकाण्ड’ को अघिल्लो दिन चैत १४ गते दिउँसो अन्तिम राजा ज्ञानेन्द्र शाहलाई ‘दर्शन भेट’ गरेका मेडिकल माफिया दुर्गा प्रसाईं सोही दिन राजसंस्था पुनस्र्थापनाका लागि गठित आन्दोलनको ‘जनकमाण्डर’ तोकिए । निर्मल निवासको मन्त्रणापछि आन्दोलन हाँक्ने जिम्मा पाएका उनले हौसिँदै भनेका थिए– ‘राजसंस्था पुनःस्थापित नहुँदासम्म हाम्रो आन्दोलन रोकिंदैन ।’ तर, प्रसाईंकै कारण यतिबेला राजावादी आन्दोलन अलपत्र परेको छ ।

सरकार र मूलधारका दलहरूको अलोकप्रियताकै कारणले भए पनि पछिल्लो समय राजसंस्थाप्रति सकारात्मक धारणा बनिरहेको थियो । ज्ञानेन्द्रको फागुन ७ को वक्तव्यबाट राजावादी खेमा त हौसिएकै थियो, स्वतन्त्र मानिसहरू पनि चासोका साथ घटनाक्रमलाई नियाल्दै थिए । बौद्धिक तहमा समेत राजसंस्था पुनस्र्थापनाबारे क्रमशः बहस छेडिँदै थियो भने अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुँदै गएको विश्लेषण भैरहेका थिए । समग्रमा गणतन्त्र स्थापनाको १७ वर्षपछि पहिलोचोटि राजसंस्थाको समर्थनमा देशब्यापी सकारात्मक माहोल बन्दै थियो । 

तर, ‘कास्टिङ नै झुर’ भनेझैं ज्ञानेन्द्रले सडकमा पठाउने टीम जसरी छाने, त्यसले राजसंस्था फर्काउने आन्दोलनरुपी फिल्म प्रदर्शनमा नआउँदै सुपर फ्लप भएको छ । र, राजतन्त्रको पक्षमा वकालत गर्ने वैधानिक शक्ति राप्रपालाई माइनस गरेर नवराज सुवेदी र दुर्गा प्रसाईंजस्ता अलोकप्रिय अनुहारलाई अघि सार्ने कदम निर्मल निवासका लागि ‘प्रत्युत्पादक’ सावित हुँदैछ ।

ज्ञानेन्द्रको इशारामा राजावादी आन्दोलनको नेतृत्वकर्ता बनाइएका सुवेदी आफैँ ईतिहासको कुनामा मिल्काइएका पात्र हुन् । राष्ट्रिय पञ्चायतका अन्तिम अध्यक्ष उनी ज्ञानेन्द्रलाई कु गर्न उक्साउने दरबार नजिकका ‘चाटुकार’ मध्ये एक मानिन्छन् । उमेरले समेत ८७ वर्ष पुगिसकेका उनमा न मासलाई अपिल गर्ने चमत्कारिक व्यक्तित्व छ, न युवा मनोविज्ञान आकर्षण गर्ने क्षमता नै ! शुक्रबारको प्रदर्शनमा लौरो टेकेर तीनकुने पुगेका सुवेदीलाई भागाभाग हुँदा मञ्चबाट बोकेर बाहिर निकाल्नुपरेको थियो । 

पूर्वराजाको विश्वास जितेका प्रसाईं पनि समाजले रुचाएका कुनै अनुकरणीय पात्र होइनन् । ‘ऋण मोचन अभियान’ चलाउँदै एक–डेढ वर्षअघि मात्रै राजावादी बनेका यिनी अराजक अभिव्यक्तिका कारण विवादमा परिरहन्छन् । एमालेको केन्द्रीय सदस्य हुनु नै उनले अहिलेसम्म बनाएको सबैभन्दा माथिल्लो राजनीतिक हैसियत हो । बैंकको ऋणबाट उन्मुक्ति पाउन बलियो शक्ति केन्द्रको खोजीमा भौंतारिंदै निर्मल निवास पुगेका प्रसाईं कतिसम्म अराजक छन् भन्ने कुरा शुक्रबारको घटनाबाट स्पष्ट भैसकेको छ ।

यसका बाबजुद २४० वर्ष लामो इतिहास भएको संस्थालाई काँधमा बोक्ने जिम्मा यिनैले कसरी पाए ? निर्मल निवासले यिनलाई नै टिपेर आन्दोलनको कमाण्ड किन सुम्पियो ? अहिलेसम्म अनुत्तरित यो प्रश्नको क्रमशः जवाफ समयक्रमसँगै खुल्दै जाला । तर, शुक्रबारको राजावादी बितण्डा र त्यसले उत्पन्न गरेको प्रतिक्रियालाई पन्छाउन निर्मल निवासका लागि त्यति सहज हुने छैन ।

किनभने ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाउँदै ‘काटमार’ मा उत्रिएका राजावादी समूहको आक्रमणमा परी एकजना पत्रकारको ज्यान गएको छ भने, अर्का एकजना गोली लागेर मारिएका छन् । राजसंस्थाका नाममा व्यक्तिको निजी घर, सरकारी भवन, पार्टी कार्यालय, सवारी साधन ध्वस्त पारिएका छन् भने डिपार्टमेन्टल स्टोरमा लुटपाट मच्चाइएको छ ।

तर , ‘मलाई साथ दिनुस्’ भन्दै भाषणवाजी गर्ने पूर्वराजाले आफ्नो नाममा यत्रो उपद्रो मच्चिँदा पनि अहिलेसम्म सान्त्वनाको एक शब्दसमेत बोलेका छैनन् । यसबारे प्रष्ट जवाफ नदिए प्रसाईं, रविन्द्र मिश्र र धवलसमशेरहरूसँगै इतिहासले ज्ञानेन्द्रको निंधारमा पनि कलंकको टीका लगाइदिने पक्का छ । 

हिंसा भड्काएर फिल्डबाटै भागेका प्रसाईं भारत छिरेर १५ दिनपछि शुक्रबार पक्राउ परेका छन् । कमाण्डर नै बन्दुक फालेर युद्ध मैदानबाट सुइँकुच्चा ठोकेपछि राजावादी खेमामा सन्नाटा छाएको छ । र, आन्दोलनको भविष्यलाई लिएर चिन्ता व्यक्त गरिँदैछ ।

प्रसाईंले हिन्दी फिल्मको भिलेनले झैँ सडकमा जथाभावी गाडी कुदाएर सुरक्षाकर्मीको ज्यान लिने प्रयास गरेको स्थितिबाट हिँसा भड्किएको हो । यो सबै पूर्वराजा ज्ञानेन्द्रको इशारामा नै गरिएको दावी राप्रपा सम्वद्ध स्रोतको छ । प्रसाईं, नवराज सुवेदी, रविन्द्र मिश्र र धवलसमशेर राणालाई निर्मल निवास बोलाएर छुट्टाछुट्टै र संयुक्त छलफल गरेका ज्ञानेन्द्रले आन्दोलनलाई कडा बनाएर संसद भवन कब्जा गर्न अप्रत्यक्ष निर्देशन दिएको स्रोत बताउँछ । निर्मल निवासको दर्शनभेटलगत्तै प्रसाईं जनकमाण्डर तोकिनुले पनि धेरै कुरा प्रष्ट हुन्छ ।

‘दरबारको लाइन आन्दोलन कडा बनाउनुप¥यो भन्ने थियो, पूर्वराजाले डाइरेक्ट नभने पनि त्यस्तो हिन्ट दिएपछि हौसिएका प्रसाईंले उद्धण्ड मच्चाएका हुन्’, स्रोतले सुनायो ।

त्यसो त, १४ गते रातिको तालिका भोलिपल्ट एकाएक फेरबदल गरिनु र विमानस्थलतर्फ फर्काएर मञ्च बनाइनुले पनि प्रसाईंहरू प्रहरी प्रशासनसँग निहुँ खोजेर वातावरण बिगार्ने सुनियोजित तयारीमा थिए भन्ने कतिपयको अनुमान छ । जस्तो कि, १४ गते बेलुकासम्म सभास्थलमा मञ्च नबनाउने अनि नवराज सुवेदी र प्रसाईंबाहेक कसैले पनि भाषण नगर्ने भनिएको थियो । तर, रातारात योजना परिवर्तन गरी मञ्च बनाइयो अनि गङ्गा चौधरी, खुस्बु ओली, विष्णु भट्टराई, आचार्य श्रीनिवासजस्ता भीडलाई उक्साउने पात्रलाई बोल्न लगाइयो ।

कार्यकर्तालाई संयमित हुन अपील गर्नुपर्नेमा यिनीहरूले प्रधानमन्त्री र गणतन्त्रवादी नेताहरूको नाम लिएर चर्का कुरा गरेपछि माहोल बिग्रियो । अनि राष्ट्रिय गान बजिरहेकै बेला मञ्चमा टियर ग्यास बर्सिन थाल्यो । खासमा आन्दोलनको नेतृत्व गर्न दबंग शैली होइन, बिचारमा प्रष्टता र संगठन परिचालन क्षमता चाहिन्छ । तर, राजनीतिक दर्शन नभएको व्यक्ति जो ऋण मोचन अभियानको जगमा टिकेको छ, उसको नेतृत्वमा हुने आन्दोलन कस्तो होला ? यो घटनाले सबैभन्दा ठूलो नोक्सानी अन्तिम राजा ज्ञानेन्द्रलाई नै भएको छ ।

यसबारे जानकार स्रोतको टिप्पणी छ, ‘उहाँ सडकमा मान्छे देखेपछि हौसिनु हुन्छ । त्यसले आखिर उहाँलाई नै घाटा हुने हो ।’ ०६१ माघ १९ पछिको एउटा सन्दर्भ स्रोतले सुनायो, ‘त्यसबेला बागमती पुलबाट मंगलबजार पुग्न दिनभरि लागेको थियो । दुईतिर उभिएका समर्थकलाई हात हल्लाउँदै र फूलमाला लिंदै जाँदा एक किलोमिटरको दूरी पार गर्न ६ घण्टा लाग्यो । तर, ती जनता दलहरूसँग थिए, राजा हेर्न आएका सबैलाई आफ्नो ठानेर हौसिएका उनमा शक्तिको भोक चढ्यो र त्यसले राजसंस्था नै डुबायो ।’

अहिले पनि सरकार र राजनीतिक दलप्रति आम मानिसमा ठूलो आक्रोश र बितृष्णा छ । तर, चुनावमा राप्रपाले पाएको भोट जम्मा ७ प्रतिशतमात्रै हो भन्ने यथार्थ ज्ञानेन्द्र र राजावादीहरूले बुझ्नुपर्छ ।

अर्कोतिर, सरकार र कांग्रेस–एमालेको अलोकप्रियतामा टेकेर आन्दोलन चर्काउने दाउमा रहेका राजावादीलाई तीनकुने काण्डले रक्षात्मक बनाइदिएको छ । आन्दोलनले क्रमशः उचाई लिँदै जानुपर्नेमा पहिलो दिन नै आगजनी, तोडफोड र लुटपाट हुँदा राजावादीहरू झन् खुँखार हुँदा रहेछन् भन्ने सन्देश प्रवाह भएको छ । जसका कारण आन्दोलनप्रति जनआकर्षण घट्दा त्यसको स्वभाविक फाइदा सरकार अर्थात् संस्थापक पक्षले उठाएको छ ।
 

टिप्पणीहरू