पैसा तिर्नुस् नियम मिच्नुस्

बागलुङ नगरपालिकामा मेयर जनक पौडेलको कार्यशैली गज्जवको छ । नगर क्षेत्रमा नक्सापास नगरी घर बनाउन पाइँदैन । तोकिएका सर्त पूरा गरेपछि मात्रै नक्सापास हुन्छ । घर बनाइसकेपछि नगरपालिकाकै अनुगमनमा निर्माण सम्पन्नको प्रमाणपत्र लिनुपर्छ तर यतिबेला नगरपालिकाले धमाधम मोटो रकम जरिवाना लिँदै घर पासको अनुमति दिने सूचना निकालेको छ ।

नक्सापास नगरेका र मापदण्ड मिचेका दर्जनौं घरलाई जरिवाना तिराएर पास गर्न पूर्वाधार विकास समितिले अनुमति दिएको हो ।

नक्सापास र निर्माण सम्पन्न प्रमाणपत्र नभएका घरधनीले बैंकबाट ऋण लिन पाउँदैनन् । त्यसबाट बजारका पहुँचवाला नै पछाडि परेपछि समितिले जरिवाना तिराएर राजश्व जुक्ति निकालेको हो । त्यसका लागि समितिले जरिवाना भराउनेसम्बन्धी कार्यविधि बनाएको छ ।

जनकको राजमा सबै जायज

सडक मिचेका, नक्सामा देखाएभन्दा अग्ला, सेटब्याक नछाडी बनाएका घरलाई मापदण्डविपरित भनेर सूचीकृत गरिएको थियो ।

‘जनप्रतिनिधि आउनुअघि बनेका प्रायः घरलाई मान्यता दिन आवश्यक देखे, ‘घर बनिसकेका छन्, भत्काउनेभन्दा जरिवाना तिराएर पास गरिदिँदा राजस्व भए पनि आम्दानी हुन्छ भन्ने तर्क पेश गरेर अगाडि बढेको छ ।’ स्थानीय तहको निर्वाचनअघि सदरमुकाम बागलुङमा जथाभावी घर बनेको थियोे । तत्कालीन मापदण्डसमेत उनीहरूले पालना गरेका थिएनन् । नगर क्षेत्रमा वितरण हुने खानेपानी, बिजुली र अन्य सेवासुविधाका लागि पनि नक्सापास हुनैपर्ने कानुनी बाध्यता छ । तीन सयभन्दा बढी घरले मापदण्ड मिचेपछि नगरपालिकाले घटाएको थियो । घटेको मापदण्डमा पनि नक्सापास गर्नै नमिल्ने १ सय १७ घरका लागि जरिवाना लिएर फुकुवा गरिएको छ । गत असारमा सम्पन्न नगरपरिषद्ले पनि ती घरलाई प्रक्रिया पु¥याएर फुकुवा गर्ने निर्णय गरेको छ । मापदण्ड मिचेकाहरूले टोल र उनीहरूको घर हेरेर १ देखि ५ लाखसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ ।

बजारमा साढे चार तलासम्मको घर बनाउन पाइन्छ । साढे तीन तलाभन्दा अग्लो बनाउनुपरे माटो परीक्षण गर्नुपर्ने कानुनी बाध्यतासमेत धेरैले पालना गरेका छैनन् ।

– राजेशचन्द्र राजभण्डारीबाट

टिप्पणीहरू