मुकुलको रास्वपा फर्किने बाटो बन्द
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट खारेजको आदेश गरेको छ ।
त्योसँगै निर्देशनात्मक आदेश पनि जारी भएको छ । आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै उनले सोही हैसियतमा काम गर्न पाउँ भनि गत असार ११ गते रिट दायर गरेका थिए । थुनामा रहेका पार्टी सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालाई विपक्षी बनाएर दायर गरिएको रिटमा उनले आफूलाई जिम्मेवारीमुक्त गर्ने रास्वपाको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका थिए ।
असार १२ गते उक्त मुद्दा पेशी चढेकोमा कारण देखाउसँगै छलफलमा बोलाउने आदेश भएको थियो । त्यसपश्चात् तीनपटक हेर्न नभ्याइने, एक पटक मिसिल कागज झिकाउने र अन्य आदेश भएको देखिन्छ । हिजो मुद्दाको पेशी तोकिएकोमा हेर्दाहेर्दैमा परेपछि आज अन्तिम फैसला सुनाइएको हो ।
टिप्पणीहरू