राजाले कसरी निम्त्याए माघ १९

राजाले कसरी निम्त्याए माघ १९

(सत्ता कति निर्मम हुन्छ, सत्ताधारीले कस्तोसम्म प्रलोभन देखाउन सक्छन्, हाम्रा नेता कतिसम्म लोभी या हुस्सु छन्– अहिलेको सन्दर्भ र पुरानो संयोगको संस्मरण हो यो । विकसित घटनाक्रमका आधारमा अबको जटिलतम राजनीतिबारे बुझ्न थोरै भए पनि यसबाट मद्दत पुग्ने अपेक्षा राखिएको छ ।)

माघ १८ गते सोमबार बिहान क्याबिनेटमा खासै गम्भीर एजेण्डाहरू थिएनन् निर्णयका निम्ति । त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवा पनि हतारमा हुनुहुन्थ्यो । शान्ति सेनाको डफ्फालाई विदाइ गर्न सिंहदरबारबाट सोझै पाँचखाल जाने कार्यक्रम थियो दिउँसो । त्यसैले देउवा घडी हेर्दै उठ्ने तरखरमा लाग्नुभयो । तर, ‘बैठकलाई महत्व नदिई हिँड्ने ? कि क्याबिनेट बेलुका राख्नोस् । राजा, युवराज जाने र सेनाको कार्यक्रम भन्नासाथ सबथोक छाडेर हिँड्ने ?’ भन्दै साबिक रुटिन झैं लाग्ने गरी झगडा शुरु भैहाल्यो । त्यही भनाभनको फाइदा उठाएर एमालेले बैठकमा अत्यन्त संवेदनशील एउटा प्रस्ताव घुसाइदियो ।

जसअनुसार, अघिल्लो वर्ष सिरहामा सेनाद्वारा भएको भनिएको चर्चित स्थानीय नेता हेमनारायण यादवको हत्याकाण्डसम्बन्धी छानबिन आयोग सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंहको अध्यक्षतामा गठन गर्न देउवा कांग्रेस सहमत भयो । विवाद टुङ्ग्याएर विमानस्थलतिर जान देउवा मिटिङ्गबाट उठ्दा एमालेका मन्त्रीहरूले ठट्टा गरे– ‘पोहोर लोकेन्द्रलाई पाँचखालबाट फर्केकै भोलिपल्ट पदबाट हटाइएको थियो, तपाईंलाई चाँहि त्यस्तो नहोस् नि !’ देउवा हल्का हाँस्दै बाटो लाग्नुभयो ।

१८ गते नै केही हुन्छ भन्ने हल्का आभाष रहेछ एमालेका केही मन्त्रीलाई । त्यसैले उनीहरू अघिल्लो साँझ देउवा सरकारमा आफ्ना टोली नेता भरतमोहनको पुल्चोकस्थित सरकारी निवासस्थानमा भेला भएका थिए । उक्त जमघटमा प्रजातान्त्रिक कांग्रेसको तर्फबाट शिक्षामन्त्री रहेका बिमलेन्द्र निधिलाई पनि सामेल गरियो । त्यहीँबाट प्रधानमन्त्रीकोमा फोन गयो । प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई आश्वस्त तुल्याउँदै भन्नुभयो– ‘आत्तिनु पर्दैन, अस्तिमात्र ३ जना राजदूतले राजालाई भेटेर सरकार बर्खास्त गर्नु उचित नहोला भनी सम्झाएका छन् । विदेशीले चेतावनी दिएको दुई–तीन दिन पनि नबित्दै राजा तलमाथि गर्न अघि सर्लान् र !’

विमानस्थलतिर जान देउवा मिटिङ्गबाट उठ्दा एमालेका मन्त्रीहरूले ठट्टा गरे– ‘पोहोर लोकेन्द्रलाई पाँचखालबाट फर्केकै भोलिपल्ट पदबाट हटाइएको थियो, तपाईंलाई चाँहि त्यस्तो नहोस् नि !’ देउवा हल्का हाँस्दै बाटो लाग्नुभयो ।

तर, भोलिपल्टै प्रमाणित भयो– राजाप्रतिको देउवाको त्यो विश्वास त फेरि पनि भ्रममात्र पो रहेछ !

शरद्चन्द्र शाह माघ १९ को काण्डको पूर्व तयारी सँगसँगै कसरी राजनीतिक भूमिकामा देखा पर्न थाले भन्ने कुराको नमूना माघ १९ भन्दा तीन हप्ताअघि फेरि देख्न पाइयो । त्यसदिन गणेशवस्तीस्थित निजको घरको छतमा पाल टाङ्गिएको थियो । त्यहाँ निम्तो गरिएका करिब ७५ जति खाँटी पञ्चहरूको सूचीमा पूर्वप्रम मरिचमान सिंह, पूर्वप्रधानसेनापति सत्चितसमशेर, निक्षसमशेर, पूर्व अञ्चलाधीश खड्गबहादुर जीसी तथा पूर्व गृह तथा सञ्चार सचिव एवं अञ्चलाधीश विष्णुप्रताप शाहको समेत सहभागिता थियो । सो जमघटमा दलहरूको सरकारलाई अपदस्थ गरेर शासनभार मौसुफ सरकारले नै ग्रहण गर्नुपर्दछ भन्ने बिन्तीपत्रमा सबैलाई हस्ताक्षर गराउने प्रयास गरियो । तर, विष्णुप्रतापले सही गर्न मानेनन् र अकस्मात बाहिरिए । भर्‍याङ्गसम्म नपुग्दै फेरि फकाएर भित्र्याइयो र मधुमेहका बिमार उनलाई रक्सी खान कर गरियो ।

जतिसुकै फकाउँदा पनि उनले हस्ताक्षर गर्न मानेनन् । किन उनले त्यसरी राजाको भूमिकाको माग गर्न नमानेका हुन् भन्ने थप रहश्य उनको निधन भइसकेकाले खुल्न सकेन, अधुरै रह्यो ।

शरद्चन्द्र शाहको छतमा भेला गरिसकेपछि पञ्चहरूले थालेको अर्को अभियान थियो– एमाले नेता खड्ग ओली र कांग्रेस नेता अर्जुननरसिंह केसीसहितका प्रभावशाली व्यक्तित्वहरूलाई आफ्नो कित्तातर्फ तान्ने । यसका लागि सीताराम प्रसाईं, पूर्व अञ्चलाधीश नवराज गुरुङ, राजाकी भाञ्जी मनुजा शाहीको नेतृत्वमा गठित ‘संकटमोचन समूह’का बोधबहादुर राउतलगायतका मानिसहरूलाई खटाइएको थियो । यिनले दुवै पार्टीका नेतालाई गृहमन्त्री दिने आश्वासनसहित ललाई–फकाई गरेका थिए । केसी र ओलीसँगै राप्रपामा झगडा पारिरहेका कमल थापासँग पनि मण्डलेहरूले कुरा गरिरहेका थिए । नेताहरूलाई उचालेर क्याम्प परिवर्तन गराउने काममा चर्चित केही सुन्दरीसमेत परिचालन गरिएका थिए ।

त्यतिबेला दरबारको तीन जना उपाध्यक्ष बनाउने योजना थियो । देवी ओझा, कमल चौलागाईं र राधाकृष्ण मैनालीलाई जसरी व्यक्ति–व्यक्ति तानेर पार नलाग्ने देखेपछि दलहरू नै चोइट्याएर ल्याउन सकिन्छ कि भनी ओली, केसी र थापालाई ‘मुर्गा’ बनाउने कोशिस गरिएको हो तर त्यो कोशिस परिस्थितिवश असफल भयो । अन्ततः माघ १९ को काण्ड सकिइसकेपछि दुई वृद्ध तुल्सी गिरी र कीर्तिनिधि बिष्टलाई उपाध्यक्ष बनाइयो ।

माघ १९ का दिन बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नाताले उनका ज्वाईं पर्ने दिलबहादुर घर्ती, बलबहादुर राई र रामशरण महतबीच केहीबेर कुराकानी भयो । १० बजे राजाको संबोधन रेडियोले फुक्ने कार्यक्रम थियो । यसैबीच, रामशरण महतले भने– ‘राजाको संबोधनबाट या त चुनावको घोषणा हुन सक्दछ नभए संसद पुनर्स्थापना या माओवादीसँग वार्ताको आह्वान आउन सक्दछ ।’

‘राजाले सत्ता हातमा लिने पो हो कि ?’ अर्का नुवाकोटे अर्जुननरसिंह केसीको यो संशयलाई अपत्यार गर्दै गिरिजाले तत्काल प्रतिक्रिया दिए– ‘त्यसो गर्ने राजाको हुती नै छैन ।’

देउवालाई अघिल्लोचोटि अपदस्थ गरिनुभन्दा अघिल्लो दिन अकस्मात् दिल्लीबाट काठमाडौं आइपुगेका पूर्व भारतीय राजदूतद्वय केभी राजन र महाराजकृष्ण रसगोत्राले देउवा र गिरिजाप्रसाद कोइरालासँग अलग–अलग भेटघाट गरी फुटेर चुनावमा जाँदा एमालेले जित्छ, कम्युनिष्टको निर्वाचित सरकार भारतका लागि उपयुक्त नहुने हुँदा बरु निर्वाचन स्थगन र पार्टी एकता प्रक्रिया शुरु गर्न बेश हुने सुझाव दिएका थिए । सोही साँझ उनीहरूले राजाको दर्शनभेट पाए । र, भोलिपल्टै देउवालाई पदबाट हटाइयो । भारतले सिक्किम निल्दै गर्दा नेपालमा राजदूत रहेका तिनै रसगोत्राले १९ गतेका दिन भारतको सरकारी टेलिभिजन च्यानल दूरदर्शनलाई अन्तर्वार्ता दिँदै भनेका थिए– ‘जो हुवा ठीक हुवा । नेपाल नरेशको हमारा यही सुझाव था ।’

राजाले सत्ता हातमा लिने पो हो कि ?’ अर्का नुवाकोटे अर्जुननरसिंह केसीको यो संशयलाई अपत्यार गर्दै गिरिजाले तत्काल प्रतिक्रिया दिए– ‘त्यसो गर्ने राजाको हुती नै छैन ।’

राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानस्थित बन्दीगृहमा भएको डेढ घण्टा लामो कुराकानीमा एक बिहान मैले शेरबहादुर देउवालाई जिस्क्याएको थिएँ– ‘तपार्इंहरू राजालाई ‘कू’ गर्नै नमिल्नेगरी अप्ठेरोमा पार्ने कुनै कडा निर्णय गर्न नसकेर आफ्नो दलीय हिसाब–किताबमा चुकेकै हो नि, होइन र ?’

‘अघिल्लोचोटि यी दलहरूले मलाई चुनाव सारौं भनी बेबकुफ बनाए र लगत्तै आफू प्रधानमन्त्री बन्न पाऊँ भनी निवेदन हाल्न दरबार गए । यहाँसम्म कि गिरिजाबाबु मसँग बोल्नुहुन्थेन तर उहाँलाई गोविन्दराजहरूलाई चुनाव सार्ने सिफारिसमा सही गर्न  पठाउनचाहिँ कुनै अप्ठेरो लागेन । सबै दल चुनाव सार्न सहमत हुने, अनि राजाले त्यसैको आडमा बञ्चरो हान्दाको अपजशको भारीचाँहि जम्मै मेरो थाप्लोमा हालेर बुकुर्सी मार्दै सत्ताको दौडमा कुद्ने ? यसचोटि पनि चुनाव सार्दा बेबकुफ बनिएला, त्यसैले जेजसरी होस् चुनावमा जाऔं भनी सबैसँग मैले करजोडी बिन्ती गरेकै हो । तर, माधवजी जब–जब चुनावको कुरा उठ्छ, पार्टीबाट निर्णय गराउन मलाई २ हप्ताको समय चाहिन्छ भन्ने । मेरो त अठोटै थियो कि सार्क शिखर सम्मेलनबाट फिर्नासाथ चुनावको घोषणा गरिहाल्ने । तर, सार्कमा जानै नपाई ‘कू’ भैदियो र पो !’– देउवाको मूल्याङ्कन यस्तो थियो ।

दलहरूप्रति यसरी आक्रोश पोखिरहँदा देउवामा आफ्ना कमी–कमजोरीप्रति कुनै आत्मग्लानी थिएन । विस्तराको छेउ काठको कुर्सीमा आफ्ना कार्यवाहक सभापति गोपालमान श्रेष्ठलाई साक्षी राखेर मसँग कुरा गरिरहँदा बेलाबखत औंठी नै औंठीले जेलिएको दाहिने हातले आफ्नो चश्मा चलाउँथे । बन्दी जीवन बिताउनुपर्दा उनी उत्तिकै थकित र दिक्दार पनि देखिन्थे ।

देउवाका निम्ति एमालेसँग गरिएको स्थानीय निकाय व्युँताउने समझदारी पनि भालुको कम्पट सावित भयो । हाइकमाण्डले त तीन महिनाअघि नै पुनर्बहालीको सिफारिस बुझाइसकेको थियो । तर, त्यो देउवाको कोटको खल्तीमै रह्यो, बाहिर निस्किएन । पुनर्बहाली गर्दा प्रायःजसो गिरिजा र एमालेका मान्छे पर्ने डर † आखिर देउवाको दिमागमा थुुप्रिएको त्यही डर प्रजातन्त्र मास्ने थुप्रैमध्येको एउटा कारक बन्न पुग्यो ।

‘प्रधानमन्त्रीलाई त सबैतिरबाट रिपोर्ट आइरहनुपर्ने हो, माघ–१९ गते यस्तो होला भन्ने आभाष थिएन ?’ मैले यसरी नै अर्काे प्रश्न सोध्दा सुस्केरा काढ्दै उनले भनेका थिए– ‘राजाले भदौ १६ मै फालिदिन्छन्, दशैं पनि कट्न दिँदैनन् भन्ने हल्ला चलेको चल्यै थियो । कुन–कुन हल्ला मात्रै पत्याउने ? मलाई फेरि पनि पदबाट हटाउलान्  भन्ने त मनमा लागेको थियो, तर प्रजातन्त्रै खाइदिनेमा चाँहि एकरत्ति विश्वास थिएन ।’

भारतले सिक्किम निल्दै गर्दा नेपालमा राजदूत रहेका तिनै रसगोत्राले १९ गतेका दिन भारतको सरकारी टेलिभिजन च्यानल दूरदर्शनलाई अन्तर्वार्ता दिँदै भनेका थिए– ‘जो हुवा ठीक हुवा । नेपाल नरेशको हमारा यही सुझाव था ।’

राजाको सक्रिय शासन चलेको पञ्चायती कालमा आठ वर्षसम्म जेल बसेका र दाजुभाइ दुवै राजासँग सहकार्य गरेका देउवाले दरबारलाई वास्तवमा कहिल्यै चिन्न सकेनन् । यसअघि ०५९ असोज १८ मा पहिलोचोटि अपदस्थ गरिँदा त चेत्नुपर्ने हो तर उनले त्यतिबेलै हलाहल विष पिउनु परेको घटनाबाट समेत पाठ सिक्न सकेनन् । जबकि उनी आफैंले ०५९ मंसीर १४ गते खुमबहादुरसँग भनेका थिए– ‘मैले असोज १८ अघि उत्पन्न हुँदै गएको घटनाक्रमलाई बुझ्न सकिन । राजाबाट मलाई ठूलो धोका दिइयो ।’

माघ १९ अघि प्रम देउवाको दराज फोरियो र पछि भरतमोहन तथा ईश्वर पोखरेलको पानी ट्याङ्कीबाट ३ र ५ करोड नगद बरामद गरिएको अफवाह फैलाइयो ।

एकदिन केपी ओलीलाई हाल तुल्सी गिरी बसेको तस्कर सीताराम प्रसाईंको घरमा सुटुक्क बोलाइएको थियो । ०५९ असोज १८ पछि लोकेन्द्रको सरकारमै सामेल हुन पार्टीकै शीर्षस्थ केही नेतासहित ओली तयार भइसकेका थिए ।

सत्ता हत्याउने काममा राजामात्र होइन, आफ्नो पदीय आयु लम्ब्याउने कुरामा देउवा पनि उत्तिकै बद्नाम छन् । कुर्सीको रक्षाकै खातिर आफ्नो पार्टी फुटाउने तहसम्मको कठोर निर्णय लिने उनी नै थिए भने गजबकै कुरा मान्नुपर्छ– एमाले, राप्रपा र सद्भावना गरी सबका सब दलहरू सत्ताकै छिनाझप्टीमा एक–एकचोटि फुटको तीतो अनुभव झेलिसकेका देउवाका बैशाखीहरू थिए ।

एकदिन केपी ओलीलाई हाल तुल्सी गिरी बसेको तस्कर सीताराम प्रसाईंको घरमा सुटुक्क बोलाइएको थियो । ०५९ असोज १८ पछि लोकेन्द्रको सरकारमै सामेल हुन पार्टीकै शीर्षस्थ केही नेतासहित ओली तयार भइसकेका थिए । तर, सहमति भइसकेपछि त राजाले मिलिजुली सरकार बनाउनुपर्ने हो ! प्रधानमन्त्रीदेखि सहायकमन्त्री गोपाल दहितसम्मको नाम घोषणा भयो । तैपनि उक्त सरकारमा महिना दिन बितिसक्दा पनि दलहरूलाई सामेल गरिएन । त्यसपछि त खाए खा नखाए घिच्को अवस्थामा पु¥याइएका दलहरूले मरिहत्ते गरेर चन्द सरकारमा सामेल हुने कुरै आएन । हवाई निम्तो बाँड्दाबाँड्दै हतास भएपछि अन्ततः असोज २५ मा गठित चन्द सरकार ठूला दलहरू सामेल नभएकै अवस्थामा ३७ दिनपछि मंसीर २ गते बिस्तारित हुन पुग्यो ।

राजाद्वारा सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, माधव नेपाल र अन्य नेतालाई समेत असोज १८ अघि पटक–पटक दर्शनभेट दिइयो । दर्शनभेटमा लोकेन्द्रलाई प्रधानमन्त्री बनाउँदा के होला ? भनेर सबैलाई सोधियो र अरु पार्टीले सहमति जनाइसके, तपाईंको विचारचाहिँ के छ ? भन्दै एक–अर्कालाई जिल्याइयो । ‘सबैले माने भने ठीकै छ नि त’ भन्दै फर्केका नेताहरूले एकापसमा भेट हुँदा मात्रै थाहा पाए कि सबैलाई सोधिएको प्रश्न त एकै खालको पो रहेछ । कांग्रेसलाई भनियो– एमालेले लोकेन्द्रलाई समर्थन ग¥यो, एमालेलाई भनियो– कांगे्रसले चन्दलाई साथ दिने भयो । यहाँनेर स्मरणीय कुरा के छ भने ०१४ सालमा पनि राजाले विभिन्न दलका नेताहरूलाई यसरी नै उल्लु बनाउन खोज्दा नेपाली राष्ट्रिय कांग्रेसका नेता डिल्लीरमण रेग्मीले आजित भएर सार्वजनिकरुपमा भनेका थिए– ‘प्रजातन्त्रको जमानामा जनता मालिक हुन्छ कि कुनै एक व्यक्ति ? अब हामी जनतासँग क्षमा मागौं, एक्लाएक्लै राजालाई नभेटौं ।’ तर, अहिलेको चल्तापुर्जा दुनियाँमा कसलाई पो इतिहास पढ्ने फुर्सद छ र !

केपी ओली दीपक बोहोरालाई लिएर माधव नेपाललाई कन्भिन्स गर्न कोटेश्वर गए । तर, श्रीलङ्काबाट आइपुग्ने तोकिएकै दिन माधव नेपाल अन्तर्राष्ट्रिय उडानबाट उत्री डोमेस्टिकबाट अर्को विमान चढेर सीधै विराटनगरतर्फ लागे । विराटनगरबाट फर्केर नेपाल सीधै स्थायी समितिको बैठकमा भाग लिन केन्द्रीय कार्यालय बल्खु गए । ओलीले अलग्गै भेटेर आफ्नो कुरा राख्ने मौकै पाएनन् ।

केपीलाई राजाबाट त्यसैबेला दर्शनभेट बक्स भयो र उनले महाराजाधिराज सकारात्मक होइबक्सेको सार्वजनिक टिप्पणी गरे । त्यसैबेलादेखि अबको पालो हाम्रै हो भन्ने मनोग्रन्थी एमालेमा पलायो । संभवतः यही कारणले हुनुपर्छ केपी ओली दीपक बोहोरालाई लिएर माधव नेपाललाई कन्भिन्स गर्न कोटेश्वर गए । तर, श्रीलङ्काबाट आइपुग्ने तोकिएकै दिन माधव नेपाल अन्तर्राष्ट्रिय उडानबाट उत्री डोमेस्टिकबाट अर्को विमान चढेर सीधै विराटनगरतर्फ लागे । विराटनगरबाट फर्केर नेपाल सीधै स्थायी समितिको बैठकमा भाग लिन केन्द्रीय कार्यालय बल्खु गए । ओलीले अलग्गै भेटेर आफ्नो कुरा राख्ने मौकै पाएनन् ।

लोकेन्द्र प्रम भइसकेपछि एकदिन केपी खाना तयार पारेर राति उनलाई पर्खी बसेका थिए । तर, यिनीसँग कुरा गरेर पार लाग्दैन भनी कसैले सन्काइदिएपछि त्यहाँ कुरा लिक हुनसक्छ, यतै आउनुहोस् भनी उनलाई राति आठ बजे बालुवाटार बोलाइयो । लोकेन्द्रबहादुर चन्दबाट उपप्रधानमन्त्री वा गृहमन्त्री खान ओलीलाई प्रस्ताव राखिएको थियो । कांग्रेससँग पनि चन्दद्वारा त्यसैगरी ‘डिल’ गरिएको थियो । त्यसो त सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वकालमा पनि कमल थापाले कांग्रेस–एमालेका नेताहरूकहाँ धाउनुसम्म धाएकै हुन् ।

यस्तै–यस्तै गञ्जागोलबीच लोकेन्द्रसँग पनि राजाबाट राजीनामा मागिएपछि सूर्यबहादुरको पालो आयो । दलहरू बरु थापाको सट्टा कीर्तिनिधि बिष्टलाई प्रधानमन्त्री मान्न तयार देखिन्थे तर राजाका विभिन्न प्रयोगहरूमा तत्काल कीर्तिनिधि फिट हुन सकेनन् । अब पालो आयो देउवाको पुनर्बहालीको । अन्ततः चार दलको सडक आन्दोलनलाई चटक्कै छाडेर एमाले सरकारमा सामेल हुने निश्कर्षमा पुग्यो ।

(राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालकै बीच ०६३ मा प्रकाशित संस्मरणात्मक पुस्तक ‘माघ १९ को महाभारत’ बाट)

टिप्पणीहरू