बिजोग छ अहिले सिनेमा बजारमा

बिजोग छ अहिले सिनेमा बजारमा

१० महिनापछि बल्ल हल खुल्यो । एकातिर नयाँ फिल्मको खडेरी, अर्काेतिर पुरानै फिल्म प्रदर्शन गर्नुपरेपछि रुवावासी शुरु भएको छ, हल मालिक र निर्माताहरूको । कोरोना कहरअघि साताको शुक्रबार नेपाली सिनेमाको भिडन्त हुन्थ्यो । एकै मितिमा चार वटासम्म नेपाली सिनेमा जुधाउँथे निर्माता र हल मालिकले । कोरोना कहरको १० महिनापछि सरकारले औपचारिक रूपमा २६ पुसबाट सिनेमा घर खोल्न अनुमति दिएको दुई महिना बित्न लाग्यो तर नयाँ फिल्म प्रदर्शन गर्न निर्माताहरू खुट्टा कमाइरहेका छन् । १ माघमा ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । त्यसले पोष्टर टाँसेको पैसा पनि उठाउन नसकेको चर्चा छ । त्यसयता अरू नयाँ फिल्म प्रदर्शन गर्न निर्माताले खुट्टा कमाएपछि हल मालिकहरूचाहिँ फिल्म रिलिज गरिरहेका छन् । भ्यालेन्टाइन्स डेबाट १३ वर्षअगाडि प्रदर्शन भएको फिल्म ‘सानो संसार’ प्रदर्शनमा आयो । अघिल्लो वर्षको सफल चलचित्र ‘कबड्डी कबड्डी’ देखि १३ वर्ष पुरानो ‘कागबेनी’ पुनः प्रदर्शन गरिएको छ । नेपाली फिल्म पाउन छाडेपछि हल मालिकहरूले चिनियाँ र हिन्दी मुभी प्रदर्शन गर्न थालेका छन् ।

अहिले नेपाली फिल्मी बजारमा देखिएको रोग हो, धमाधम फिल्मको सुटिङ मात्र भइरहने तर नयाँ फिल्म रिलिजचाहिँ नहुने । फिल्म बन्न रोकिएको पनि होइन, कोरोना कहर चल्दै गर्दा नै छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम भएका ४० भन्दा बढी थिए । कोरोनाकै छायांकन रोकिएका र छायांकनमा जान नपाएका फिल्म ५० हाराहारी थियो । केही निर्माताले लकडाउनकै बीचमा सुटिङ सकेका छन् त कतिले लकडाउन खुलेपछि । तर, हलमा नयाँ फिल्म चलाउन कोही निर्माता अघि सरेका छैनन् । सबै खुट्टा कमाइरहेका छन् बरु धमाधम नयाँ फिल्म निर्माणको घोषणा भइरहेको छ । जस्तो सुवर्ण थापा राधा निर्माण गर्न कस्सिएका छन्, दिनेश राउत ‘प्रकाश’ बनाउँदै छन् भने दीपक श्रेष्ठ ‘घिन्ताङ’ निर्माणमा जुटेका छन् । प्रेम गीतको सिक्वेल बन्दै छ प्रेमगीत ३ । दयाहाङ राई ‘बिहे पास’ गर्ने तरखरमा छन् । गत वर्ष ‘आमा’ निर्माण गरेर चर्चा बटुलेका दीपेन्द्र के खनाल चलचित्र ‘चिसो मान्छे’ बनाउन जुटेका छन् । यही भीडमा ए मेरो हजुरको चोथौ सिक्वेल बन्दै छ । लुटका निर्माता निश्चल बस्नेत ‘जिन्दावाद’ लिएर आउँदै छन् जसको कथावस्तु बुद्धिसागरले तयार पारिसकेका छन् । खगेन्द्र लामिछाने पानी फोटो निर्माणमा जुटेका छन् । यस्तै प्रसादको सिक्वेल बन्ने तयारी चल्दै छ ।

अहिले नेपालमा १ सय ९३ वटा स्क्रिन चालु छन् । जसमध्ये ३० क्युएफएक्स स्क्रिनमध्ये काठमाडौंमा १५ वटा सञ्चालित छन् । नयाँ फिल्म प्रदर्शन नहुँदा हलहरू बन्द हुने अवस्थामा पुगेका छन् । अहिले प्रदर्शन गर्न खुट्टा कमाएका निर्माताहरू फेरि चैतपछि जुधेरै सिद्धिने एक निर्माताले जनआस्थालाई सुनाए । जस्तो आगामी २७ चैतमा एकै पटक ‘लप्पन छप्पन २, मनसँग मन र कृष्ण लीला’ प्रदर्शनका लागि मिति तय भएको छ ।

टिप्पणीहरू