एकता राख्ने वा भाँड्ने जिम्मा ओलीको हातमा

एकता राख्ने वा भाँड्ने जिम्मा ओलीको हातमा

सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले अरु जे भएपनि एमालेको मजबुत संगठनलाई फेरि एकपटक एकतापूर्ण बनाउँदै अघि बढाउन नसोचेको मार्ग प्रशस्त गरेको छ । तर,सँधै चलाखीको राजनीति गर्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसपछि पनि त्यहि बाटो रोज्नुभएको देखियो । अदालतको आदेश पालना गर्ने क्रममा विधानबमोजिम बैठक बोलाउन र आवश्यक छलफलसहितको निर्णय गर्न छाडेर एकाएक फागुन २८ गते आफ्नो कोर ग्रुपको छलफललाई केन्द्रीय समितिको बैठकको नाम दिने प्रयास भयो ।

अहिले त्यहि गुटको भेला र छलफलको विषय नै एमालेभित्र पेचिलो बनेको छ । विधानको न्यूनतम प्रक्रिया नै नपुर्याई डाकिएको भनिएको उक्त भेला सर्वाधिक विवादित बनेको छ । हिजो पार्टी मुख्यालय धुम्बाराहीमा भएको एमालेका दुई पक्षबीचको वार्ताले समेत प्रधानमन्त्री ओली छलकपटबाट बाहिर आउनुहुन्छ कि हुँदैन भन्ने विषयलाई बटम लाइन बनाएको छ । एमालेको एकता र आगामी भविश्यको सबैभन्दा धेरै अंश त्यसैले निर्धारण गर्ने बताइन्छ ।

तुलनात्मक रुपमा सोमबार धुम्बाराहीको भेटवार्तामा नेताहरूबीच त्यति धेरै घोचपेच नभएको सहभागी एकजना नेताले बताउनुभएको छ । उहाँका अनुसार दुवै पक्षले आ-आफ्ना कुरा राखेका थिए । माधव नेपाल पक्षले हाम्रो बटम लाइन भन्दै फागुन २३ गतेपछि गरिएका पार्टीका सबै कामकारबाहीलाई शून्यमा झार्नुपर्ने अडान लिएको थियो । तर प्रधानमन्त्री ओलीले नमान्ने भन्दै ‘अहँ’ भन्नुभयो । कुराकानीको बातावरण राम्रो भएपनि सारमा ‘कुरा मिलेन’ भनेर नेताहरू उठेका थिए ।

बालुवाटार निकट नेताहरूको प्रस्तुति र भाव कस्तो थियो भनेर राखिएको जिज्ञासामा एकजना सहभागी नेताले भन्नुभयो ‘सँधै चियरफुल मुडमा देखिने सुवास पनि हिजो उदास अनुहारमा बस्नुभयो । महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलको मुड र चेहरा उज्यालो थिएन । पोखरेल त पूरै समय घोसे मुण्टो लगाएर बस्नुभयो ।’

प्रस्तुतिको क्रममा पनि प्रायः उग्र र बाँङ्गो कुरा गर्ने ईश्वर हिजो प्रधानमन्त्रीले बोलाएको चियापान कसरी रोक्ने भनेबाहेक अरु सवालमा मत्थर हुनुभएको बताइन्छ । प्रधानमन्त्री ओलीले भने आफ्नै स्टाइलले कुरा राख्नुभएको थियो । तर,टोन निकै ‘लो’ रहेको बताइन्छ ।

आफ्नो लागि ७० वर्षको उमेर हद हटाउन र बादलहरूलाई एमालेमा भित्र्याउन पहिले विधान संशोधन गरेको र अर्को बैठकले निर्णय गराएको देखाउन एकैछिनमा दुईवटा बैठक गरेर २८ गते परिपक्व निर्णयको नाटक गरेको हुनसक्ने बताइएको छ ।

त्यहि बैठकलाई जोड दिँदै वार्ताको क्रममा प्रधानमन्त्रीले एक पटक भन्नुभएको थियो ‘उता छाडेर यता आएकालाई उनीहरूको हैसियत त प्रमाणिकरण गरिदिनुपर्यो नि’ भन्नुभएको थियो ।

हिजोको भेटघाटलाई प्रधानमन्त्रीले भित्री मनदेखि भन्दापनि मैले ‘स्पेश’ राखेको छु भन्ने देखाउन र अधिकतम प्रयास गरेको छु भन्ने भान पार्न कुराकानी थालेको बुझ्नेहरू पनि प्रशस्तै छन् । सम्भवतः नेपाल पक्षले भोलि र पर्सि बोलाएको कार्यकर्ताहरूको राष्ट्रिय भेलालाई असर पार्ने मनशाय रहेको विश्लेषकहरूको दाबी छ ।

अर्कोतर्फ अन्य दलहरू मिलेर सरकार बनाउन गरेको कसरतलाई कसरी ‘डिफ्युज’ गराउन सकिन्छ भन्दै रचिएको खेल भन्नेहरू पनि छन् । एमालेभित्रै र माओवादी केन्द्रका अध्यक्षसँग सम्बन्ध सुधारको लागि प्रधानमन्त्री ओलीले एक कदम पछाडि हटेर गर्नुभएको वार्ताको पहलले काँग्रेस र जसपालाई गतिलो झट्का र मनोविज्ञान दिलाउने निश्चित छ ।

टिप्पणीहरू