निरंकुशताको सपना नदेख्न एमाले अध्यक्षलाई रावलको चेतावनी
एमालेबाट हालै निष्कासित डा. भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताको उन्मादमा निरंकुशता र तानाशाही प्रवृत्ति लादेको आरोप लगाएका छन् । मातृभूमि जागरण अभियान लिएर गृहजिल्ला अछाम पुगेका रावलले ओलीभित्र सत्ताको उन्माद हावी हुँदै गएको बताए ।
साँफेबगरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै रावलले नेपालमा तानाशाही मनोवृत्ति अस्वीकृत भएको स्मरण गराउँदै निरंकुशताको सपना नदेख्न ओलीलाई चेतावनी दिएका छन् । उनले भने, ‘केपी ओली पार्टीभित्र कसैले आवाज उठाए सबैलाई हटाउने सोच राख्छन् । यो सत्ताको उन्मादमा उहाँमा चढेको निरंकुशता र तानाशाही प्रवृत्ति हो ।’
प्रधानमन्त्रीलाई प्रतिप्रश्न गरेका छन्, ‘नेपालमा कुन तानाशाही बचेको छ र ? केपी ओलीले सपना त देखेका होलान् ! तर त्यो सपना राति देख्दा हुन्छ, विपनामा पूरा हुनेवाला छैन ।’
रावलले एमाले पार्टी ‘बामाले’मा परिणत भएको र त्यसको चर्को समर्थक महासचिव शंकर पोखरेल रहेको बताए । उनले ‘ओलीको निरंकुशता’लाई दबाउन उनको गृहजिल्ला झापा र महासचिव पोखरेलको गृहजिल्ला दाङमा ठूलो खाल्डो तयार भएको टिप्पणी गरे ।
भनेका छन्, ‘चाहे झापामा भन्नुहोस् वा बामाले अथवा केपी ओलीको पक्षमा खुलेर लागेका महासचिवको दाङ जिल्लामा । म यहीँबाट जानकारी गराउन चाहन्छु, निरंकुशतालाई गाड्न सबैभन्दा पहिले सबैभन्दा ठूलो खाल्डो कहीँ तयार भएको छ भने त्यो दाङ र झापामा छ ।’
टिप्पणीहरू