राष्ट्रपतिकोमा नजाने निर्णय
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेलाई शीतल निवासमा बोलाउनुभएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र कुनैपनि हालतमा नजाने भएको छ ।
पुस ५ गते प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिशलाई निमेषभरमा सदर गर्नुभएका राष्ट्रपतिले अहिले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरन्तरतामा अप्ठेरो उत्पन्न भएपछि सर्वदलीय बैठक बोलाउनुभएको विपक्षी दलहरूको आरोप छ ।
अहिले बिहान बसेको माओवादी स्थायी समिति बैठकले आज शीतल निवासको भेलामा सामेल नहुने निर्णय गरेको हो । उनीहरू भन्छन् ‘संविधान र प्रणाली नै संकटोन्मुख भएको बेला प्रधानमन्त्रीको सिफारिशको सहयात्री बन्नुभएका राष्ट्रपतिले त्यतिबेला सर्वदलीय बैठकको औचित्य देख्नुभएन । तर आज संविधानसम्मत भइरहेका संसदीय गतिविधिलाई लिएर सर्वदलीय बैठक डाक्नु अर्थपूर्ण छ ।’
यता,पार्टी छाडेर गएका गृहमन्त्री रामबहादुर थापा बादललगायतलाई माओवादी केन्द्रले सोधेको स्पष्टीकरण पत्र हिजो सबैको हातैमा थमाइएको छ । उनीहरूले आज साँझसम्ममा स्पष्टीकरण बुझाउनुपर्ने पेरिसडाँडा स्रोतले बताएको छ ।
बिहान उक्त पार्टीको संसदीय दलको बैठकसमेत सिंहदरबारमा बसेको छ । आज दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएको सन्दर्भमा संसदीय दलको बैठक बसेको हो ।
टिप्पणीहरू