के भएको हो अचेलका केटाकेटीलाई ?

के भएको हो अचेलका केटाकेटीलाई ?

अधिवक्ता प्रेमराज सिलवाल

नयाँ प्यान्टमा ब्लेड धस्दै चरचरी चिर्नुपर्ने कस्तो समय आयो ? १२ कक्षाको परीक्षा दिएर बसेकी छोरी प्रियंकाले भनिन्, ‘बाबा, साथीहरूले कपाल काटेर छोटो बनाएका छन्, कपालमा ‘कलर’ गरेका छन्, मचाहिँ कति ‘गाउँले जस्तो’ देखिनु !’ ‘बाबा, म पनि कपाल काट्छु, कलर (रङ्ग) हाल्छु र ‘ब्वाईफ्रेन्ड जिन्स प्यान्ट’ लगाउँछु ।’ उनले भनिन्, ‘आधुनिक देखिन प्यान्ट च्यात्नै पर्ने भयो, म पनि ब्लेडले प्यान्ट चिर्छु । नत्र समूहमा टिक्ने नसकिने पो भइयो !’

स्कुलदेखि नै पढाइमा लगनशील, मिहिनेती, इमान्दार तथा जहिल्यै उच्च अंकका साथ राजधानीको नाम चलेको कलेजमा अध्ययन गरी मेडिकल साइन्ससम्बन्धी तयारीको अध्ययन गर्दै रहेकी छोरीको स्वाभाविक र आत्मदेखिको आग्रह देख्दा मलाई छाँगाबाट खसेजस्तो भयो । म छोरीको सवालभन्दा पनि हाम्रो समाज र सामाजिक मनोविज्ञान कता गएछ भन्ने कुराले चिन्तित बनेँ । विश्वव्यापीकरण, पश्चिमीकरण, आधुनिकीकरण, फेसन र विदेशी संस्कृतिको नक्कल गर्ने सोच हाम्रो समाजमा पनि कसरी जबर्जस्ती फैलिएर गएछ भन्ने कुरालाई आफ्नै आँखाले देख्न र मनले अनुभूति गर्न पाएँ । हाम्रो शहरिया जीवनमा युवायुवतीको मन मस्तिष्कमा आधुनिकता र सभ्य भन्ने कुराको मानक तथा विम्ब कस्तो रहेछ भन्ने कुराले बढी नै सोचमग्न बनायो ।

अर्काे यस्ता दिनदिनै विकास भएर जाँदै गएको युवा दृष्टिकोणले चिन्तित पनि बनायो । अबका युवाको भविष्य र चिन्तनधारा कता जान लाग्यो भनेर गम्भीर र बढी सोचमग्न बनायो । समाजका युवामा रहेको चिरिएको, चर्किएको र टुक्रँदै गएको सामाजिक मनोविज्ञानको असर र प्रभाव भोलिका युवामा कस्तो नकारात्मक प्रभाव पर्ला भन्ने कुराले विवेचना गर्न उत्सुक पनि बनायो ।

व्यक्तिगत हिसाबले छोरीको सो माग पूरा गर्न नसक्ने मलाई केही बाध्यता छैन । तर, जसरी छोरीबाट त्यो तहको कुरा आएपछि मेरो मनमा वर्तमान आधुनिक र अझ भन्नुपर्दा उत्तरआधुनिकतातर्फ अघि बढेको शहरिया युवा पुस्ताको सोच, चिन्तन, व्यवहार, सामाजिक प्रभाव, मनोविज्ञान, फेसन, परिवर्तन, बुझाइ तथा विश्वव्यापीकरणको असर एवं जबर्जस्त प्रकारको पश्चिमी असर कस्तो परेको रहेछ भन्ने कुराले गम्भीर अनुभूतिसहित चिन्तन गर्न बाध्य बनायो ।
शहरका युवामा आधुनिकता, सम्भाव्यता, समुन्नति, प्रगति र सांस्कृतिक परिवर्तन आदिको के कस्ता नवीन सोचको प्रवेश भएर गएको रहेछ भन्ने एउटा उदाहरण आफ्नै घरको पर्खालभित्रै छिरेको रहेछ । एउटा शिक्षित, सूचित र प्रगतिशील विचारधारा भएको परिवारमा त त्यो धारणा यस्तरी प्रवेश गर्छ भने अन्य परिवारमा कस्तो होला भन्ने कुराको खुलदुली मनमा भयो । त्यो कुराले मलाई नेपाली समाजमा रहेका आधुनिक युवाको चिन्तन कसरी विकास भएर गएको छ भन्ने प्रश्न बढो जोडले उठाइदियो ।

हाम्रा युवा समुदायलाई (खासगरी टिनएजेजजलाई) के–कस्ता कुराले यस्तो खाले संस्कार तथा संस्कृतितर्फ आकर्षित गर्दै लगेको छ ? किन हामी आधुनिकता र सम्य बन्ने सोच पालेर यस्ता कुरातर्फ बढी आकांक्षी बन्ने गरेका छौं ? कहाँबाट आएको छ यस प्रकारको चिन्तन र विचार ? हाम्रा युवाले आधुनिकता र विकास केलाई भन्ने र ठानेका रहेछन् ? भन्ने खाले विचार एउटा बढो ठूलो सामाजिक चिन्तन हो । यो पनि नेपाली समाजको एउटा जटिल र चोटिलो बहसको विषय हो ।

घरपरिवार र भान्छामा पाक्ने दाल, भात, रोटो–ढिँडो, तरकारी, फलफूलजस्ता कुरा खान किन युवाहरू धक मान्ने गर्छन् । बाहिरका ‘पिज्जा’, ‘वर्गर’, ‘मम–चाउमिन’,‘कोक–फेन्टा’ जस्ता खानेकुरा खान पाए ‘शहरिया र आधुनिक’ भइने सोच पालेर बसेका छन् । कस्तो विडम्बना ? जुन खाद्यले स्वास्थ्य बिगार्छ त्योचाहिँ खाना ‘आधुनिक’ हुने ? बियर, वाइन खानेचाहिँ ‘शहरिया’ ? दही, मोही, तातोपानी, हरियो–परियो खानेचाहिँ ‘पाखे र गाउँले’ ? यस्तै हो त पढेका शहरिया युवा भाइबहिनीहरूको सोच ? स्वास्थ्यका लागि यस्तै खाले शहरिया र आधुनिक खानुपर्छ भन्ने कुरा कुन विज्ञान पढेर जानेको हो भाइबहिनीहरूले ?

केटाहरूले झ्याङलाङ्ग कपाल पाल्दा आधुनिक हुने हो ? केटीहरू ‘ब्वाइज कट’ काट्दा शहरिया हुने हो ? भएको प्राकृतिक कालो कलकलाउँदो कपालमा ‘खैरा–पाटे’ ‘कलर’ हाल्दा ‘ठूलो’ भइने हो ? के भएको आजकलका आधुनिक शहरिया युवा–युवतीलाई ? कस्तो खाले मनोविज्ञान ? कस्तो खाले संस्कृति ? कस्तो खाले सोच र चिन्तन ? केको प्रभाव हो ? यस्ता अनगिन्ती सवाल र प्रश्न ठडिएका छन् समाजमा । जाडोमा जिउ छोप्ने र बाक्ला लुगा लगाउँदा ‘गाउँले–पाखे’ देखिन्छ ? जति छोटो कपडा लगायो त्यति शहरिया हुने हो ? के भनेको हो ? युवा भाइबहिनीहरू ? तिमीहरूले के सिकेको ? के बुझेको ? भएको नयाँ प्यान्ट, ज्याकेटलाई बित्थामा किन प्वाल पार्नुपर्ने ? किन ब्लेडले च्वारच्वार्ती चिरेको ? यो गरेर कसलाई के देखाउन खोजेको ? यस्तो व्यवहार र संस्कृतिले नेपालीलाई कहाँ लैजान्छ ? अभिभावकहरूले गम्भीर भएर सोचेका छन् ?
युवाहरू होटल डिस्को र पपडान्सबार जानु मात्र आधुनिकता, सभ्यता र विकसित समाजको पहिचान र परिचय हो ?

घरको खाना खाएर आफ्नै घरपरिवारमा आ–आफ्नो रुचि, क्षमता, चाहना र आवश्यकताअनुसार घरकै खानामा रमाउने युवायवतीचाहिँ ‘पाखे’ हुन् ? डिस्को डान्स र पपडान्समा युवा–युवती हल बाँधेर जानेचाहिँ आधुनिक, शहरिया, सभ्य र ‘खानदानी–घरानियाँ’ हुन् ? के भन्न खोजेको ? के सोच पालेको ? कलेजको गेट के जान थालेको छ ‘फ्वाँहाहा…फ्वाहाहा… गरेर चुरोटको धुँवा उडाउनै पर्ने ? के चुरोट खाने मान्छे ठूलो हो ? चुरोट खाएपछि युवा–युवती ‘आधुनिक’ देखिने हो ? अर्काेकुरा यस्ता सोच, मूल्य, विचार र भावना आफूबाहेक अन्य युवायुवतीमा सम्प्रेषण गरेर आफूलाई महान् काम गरेको भन्ने सोचेको हो ? बाबुआमाले खाइनखाई गरेर जतन गरेको पैसाले ‘ट्वाँ–ट्वाँ र भ्वाँआ–भ्वाँआ’ गर्ने बाइक किनेर टोल थर्काए आधुनिक हुने हो ? ‘हिरो होन्डा’ जस्ता मोटरसाइकल चढ्ने मान्छे गाउँले हुन्छ ? कसले भनिदियो र कसले भरिदियो यस्ता घटिया सोच युवायुवतीलाई ? कता जाँदै छ हाम्रो समाज, विचार, सोच, चिन्तन, मूल्य, धारणा, सभ्यता र संस्कृति ?

देख्दा व्यक्तिगत हो भन्ने लाग्न सक्छ । सुन्दा समाजका केहीले त्यो गर्दा र भन्दा अरूलाई के फरक पार्छ त भन्ने लाग्न पनि सक्छ । तर, त्यो होइन । त्यो खाले विचार, चिन्तन र सोचले पूरै शहरिया समाज तथा त्यसको खराब बाझिटाले गाउँलाई पनि सक्दै छ, डस्दै छ । धनी बाबुको केही छोराछोरीले गरेका र गर्ने व्यवहार र गतिविधिको नकारात्मकताले हाम्रो नेपाली युवा समाज तथा समुदायलाई पूराका पूरा बोक्रे, थोत्रे, ढोँगी, निकम्मा र घमण्डी बनाएर लगेको देखिन्छ ।
विश्वका शहरिया समाजमा र विशेषगरी पश्चिमा शहरिया युवामा देखिएका त्यस्ता खाले ‘हिप्पी, जङ्की र पङ्की’ सोच, व्यवहार र चिन्तनले नेपालको राजधानी काठमाडौं र ठूला शहरलाई नराम्रोसँग गाँजेको देखिन्छ । युवाहरूको यसखाले सोच र चिन्तनको कारण समाजलाई पूरै नकारात्मक बनाएको छ ।

ठूला स्कुल कलेजमा पढ्ने, टाइसुटमा ठाँटिने, ‘टाइफाई’ अंग्रेजी बोल्ने अनि सामाजिक र नैतिक व्यवहार भने पटक्कै गर्न नजान्ने सोच र व्यवहार एकदमै झांगिएर गएको छ । सोही कारण प्लस टु मा सामाजिक शिक्षा र जीवनउपयोगी शिक्षा पढाउनुपर्ने खाँचो पनि बढेको रहेछ । त्यो व्यवहार हेर्न धेरै ठूलो ठाउँ पनि जानु पर्दैन । सडकमा जेब्रा क्रसिङबाट लौरो टेकेर बाटो काटिरहेका आदरणीय नागरिकहरूलाई त्यस्ता युवा पछाडि युवती राखेर धकेल्दै–ठेल्दै र धक्का मार्दै जाने गरेको दृश्य नौलो छैन । पढेका युवा–युवतीलाई कुनै सरकारी र सार्वजनिक स्थानमा लाइन लागेर सेवा लिनुपर्छ भन्ने सिकाइएन वा सिक्नै चाहेनन् ? कसैलाई ठोक्किदाँ वा आफ्नो कारण असर पर्न पुग्दा ‘सरी’ हजुर गल्ती भयोसम्म किन भन्न सक्दैनन् र जान्दैनन् युवायुवती ? अरूले आफूलाई कुनै सहयोग गर्दा ‘थ्याङ्कफूल’ भएर हजुर धन्यवादसम्म पनि किन भन्न सक्दैनन् हाम्रा युवायुवती ? यो भनेको एउटा सामान्य मानवीय संस्कार र सभ्यता एवं संस्कृतिको कुरा पनि हो । तर, कुन घमण्डको घोडा सवार भएर युवाहरूको मुखबाट बोली फुट्दैन ? आफूलाई भएपछि भयो भन्ने साँघुरो सोच मात्र किन भरिएको हाम्रा युवा समुदायमा ? यो बढो गम्भीर सामाजिक र सांस्कृतिक समस्या हो ।

ठूलो कलेज पढ्यो, बढी नम्बर ल्यायो । अनि पुग्यो ? सामाजिक, नैतिक तथा सांस्कृतिक व्यवहार चाहिन्न ? ठूलालाई सम्मान र सानालाई माया भन्ने सिकेको छैन ? नेपाली समाजमा विशेषगरी स्कुल कलेज पढ्ने युवा–युवतीको सोच, चिन्तन, संस्कार र संस्कृति फाट्दै र चिरिँदै गएको छ । जसले नेपाली समाजलाई दुर्घटनातर्फ लाँदै छ । यो आधुनिक र विकसित भनिएको नेपाली समाजको साझा समस्या हो । सबै मिलेर न्यूनीकरण गर्नुको विकल्प छैन । आधुनिक देखिन भएको जिन्स प्यान्टलाई च्यात्नै पर्ने कस्तो संस्कृतिमा हामी रमाउँदै छौं ? समाज कता जाँदै छ ? यो सवाल एउटा गम्भीर कुरा हो ।

टिप्पणीहरू