पानीको मुहानमा सेनाको नाकावन्दी
मेलम्चीको पानी पिउने आशामा बसेका भक्तपुरवासी छेवैको मुहानको पानीसमेत उपभोग गर्नबाट बन्चित भएपछि आक्रोशित बनेका छन् । ठिमी नगरपालिका-२ गट्ठाघरस्थित दुथु हिति मुहान संरक्षणमा कर्णेल राजेन्द्र सिंह नेतृत्वको सेना र स्थानीय प्रशासन बाधक बनेपछि काकाकूल बन्नुपर्ने अवस्था आएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । सेनाले मुहान रोकिदिएको स्थानीयको आरोप छ ।
प्राकृतिक पानीको यो मुहान सेनाको ब्यारेकभित्र पर्छ । त्यहाँ पुरानो ढुंगेधारा पनि छ । उक्त मुहान संरक्षण गर्न सके केही हदसम्म पानीको अभाव पूर्ति हुनेमा स्थानीय आशावादी छन् । तर, मुहान ब्यारेक क्षेत्रमा पर्ने भएकाले सेनाको सहयोग बिना संरक्षण गर्न कठिन हुने उनीहरुको भनाइ छ । पटक-पटक अनुरोध गर्दा पनि तारबार गरेको सेनाले मुहान खोल्न हेलचेक्र्याइँ गरेको उनीहरुको आरोप छ ।
वडाबाट पत्र पठाइएको महिनौँ बितिसक्दा पनि मुहान संरक्षणका लागि सेना गम्भीर नबनेको स्थानीयले दुखेसो गरे । ‘नगरपालिकालाई कयौं पटक जानकारी गराइ सकियो, मेयर पनि यो बिषयमा अनभिज्ञ हुनुहुन्न, तर खै किन हो आलटाल भैरहेको छ’, एक स्थानीयले भने, ‘के सेनाले जनतालाई पानी खुवाउन हुँदैन ? त्यो मुहान खोल्नै नहुने हो ?’
उनले मुहानको अस्तित्व कुनैपनि बेला समाप्त हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे । आफ्नै अगाडि २४ घण्टा कलकल बग्ने प्राकृतिक पानी हुँदाहुँदै मिनरल वाटर किनेर खानुपर्ने बाध्यतामा रहेको उनले सुनाए । सेनाले भने मुहान संरक्षणमा आफूहरु बाधक नबनेको दाबी गरेको छ । सैनिक जनसम्पर्क प्रमुख सन्तोषबल्लभ पौडेलले स्थानीयसंग छलफल भैरहेको र सैनिक संवेदनशीलतालाई ख्याल गर्न आग्रह गरिएको बताए ।
‘स्थानीयसंग छलफल भैरहेकै छ । समस्या के भयो भने उहाँहरु (स्थानीय) आफैँ भित्र आउन अप्ठेरो छ । किनभने ब्यारेकमा भएभरका गोलीगठ्ठा र बिस्फोटक पदार्थ भण्डारण गरिएको छ । सेनाकै मान्छेलाई पनि भित्र जान दिइँदैन’, उनले भने, ‘यही संवेदनशीलताका कारण हामीले आफैँ काम गर्छौँ, तपाईंहरु समन्वय गर्दिनुस् भनेर स्थानीयलाई आग्रह गरेका हौँ ।’
स्थानीयसंगको समन्वयमा सेनाले आफैँ काम गर्ने समझदारी भैसकेको भन्दै उनले कुनै विवाद नरहेको बताए । ‘हामीले आफैँ निर्माण गर्दिने गरी स्थानीयसंग समन्वय गरेका हौँ । अन्डरस्ट्यान्डिङ्ग पनि भैसकेको हो । तर, किन मिडियामा आउनुभयो थाहा भएन’, पौडेलले भने ।
मुहान संरक्षणमा सेना पनि स्थानीय जत्तिकै गम्भीर रहेको भन्दै उनले सुरक्षा संवेदनशीलता बुझिदिन आग्रह मात्र गरेको बताए । उनले भने, ‘यो मुहान संरक्षण गर्नुपर्छ भन्नेमा हामी पनि सचेत छौँ । मात्र त्यहाँको संवेदनशीलतालाई ख्याल गरेर स्थानीयलाई भित्र जान रोकेको हो । काम हामी गर्दिन्छौं, प्राविधिक लिएर आउनुस् भनेको हो ।’
स्थानीयले भने हितिको अस्तित्व समाप्त हुन सक्ने भन्दै सेना त्यसको कारक बन्न नहुनेमा सचेत गराएका छन् । एक स्थानीयले भने, ‘हितिको अस्तित्व कस्ले समाप्त पार्दैछ त ? राज्यका बिभिन्न निकायले समाप्त पार्दैछ, अनेक बहानामा । के सेनाले जनतालाई पानी खुवाउन नहुने हो ? सेना नेपाली जनताप्रति लचिलो हुन नहुने हो ?’
विज्ञहरुले पनि वास्तविक प्राकृतिक पानी आउने हिति मुहानबाट अहिले पानी बग्ने प्रचुर सम्भावना रहेकाले संरक्षणमा जोड दिएका छन् ।
टिप्पणीहरू