वामदेवको अबको बाटो

वामदेवको अबको बाटो

अध्यक्षको आदेशमा उपाध्यक्षको जिम्मेवारीबाट च्यूत हुनुभएका एमाले नेता वामदेव गौतमले विधान संशोधन,केन्द्रीय सदस्य थपलगायतका विषयहरुमा आत्मालोचित भएर पार्टीका नेता तथा कार्यकर्ताको संरक्षणमा एमाले अध्यक्ष केपी ओलीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपाल पनि समानान्तर संगठन विस्तारमा लाग्न नहुने उहाँको ठहर छ ।उहाँले उक्त कुरा आज सिद्धि गणेश पार्टी भेन्यु,बल्खुमा बोलाउनुभएको राष्ट्रिय एकता अभियानको पूर्णबैठकमा बताउनुभएको हो । पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमको संयोजकत्वमा बसेको बैठकमा राष्ट्रिय एकता अभियानबारे गहन छलफल भएको बताइन्छ ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापश्चात् नेकपा पार्टीको स्वामित्व ऋषिराम कट्टेलमा हस्तान्तरण हुने भएपछि एमालेको वैधानिकता २०७५ जेठ २ गते अघिको अवस्थामा पुगेको छ । त्यहि अवस्थामा आफूले पुलको काम गरेर पार्टीभित्रको समस्या समाधान गर्नेसमेत गौतमले बताउनुभएको हो ।

उहाँले विगतमा पार्टीमा कुनै समस्या नरहेको तर हाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच स्पष्ट दुईधार देखिएकाले तत्काल त्यसको संयोजन गरेर समस्या समाधान गर्नुको विकल्प नरहेको बताउनुभयो ।

बैठकपछि शुरु भएको प्रदेशगत छलफलमा स्वतन्त्र,निष्पक्ष र पवित्र उदेश्यका साथ शुरु गरिएको आफ्नो अभियानमा नेकपा एमाले मात्रै नभएर राज्यका सम्पूर्ण वामपन्थीलाई एकाकार गरेर अघि बढाइने पनि अभियानका संयोजक गौतमले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू