भोलिको भेलामा नजान भन्नुहुन्छ ओली

भोलिको भेलामा नजान भन्नुहुन्छ ओली

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षले बोलाएको भेलामा सहभागी हुनेलाई कारवाहीको चेतावनी दिनुभएको छ । उहाँले पार्टी नेतृत्वका विरुद्ध गुटगत भेला गर्ने र त्यस्ता भेलामा सहभागी हुने नेता-कार्यकर्तालाई कारवाही गरिने बताउनुभएको हो ।

आज बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टीमा मनपरि गर्ने छुट कसैलाई नभएको बताउनुभयो । कानुनका नजरमा सबै समान हुने भन्दै उहाँले निर्देशन विपरित गुटगत भेला भएमा कारवाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘भोलि भेला आव्हान गरेको छ रे । नेकपा एमालेसंग आवद्ध नेता वा कार्यकर्ताले गुटगत भेला नगरुन्, नगराउन्, त्यस्ता भेलामा सरिक, सहभागी र नहोउन् ।”

ओलीले सडकमा विधि विधानका कुरा गरेर नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गर्नुभयो । उहाँले अब पार्टीभित्र अराजकता चल्न नदिने बताउनुभयो ।

‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मूल्य मान्यता, पद्धति,विधि,नियम,कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अहँकार, स्वेच्छाचारिता उस्तै छ । अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरु छुट्टै भेला,छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन्’, उहाँले भन्नुभयो ।

ओलीले एमालेमा बसेर कसैले समानान्तर कमिटी बनाउन नसक्ने दाबी पनि गर्नुभयो । ‘७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाईएको छ । उहाँहरु भोलि राष्ट्रिय भेला बोलाउने,राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के के समानान्तर कमिटी बनाउने अरे । समानान्तर होइन अर्को कमिटी बन्ला’, उहाँले अगाडि भन्नुभयो, ‘कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ? तर यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता ,अनुशासनहिनता, उछृंखलता जस्ता कुराहरु ,विधि विधान विपरितका कामकारवाहीहरु, पार्टीको एकताविरोधी कृयाकलापहरुमा छुट हुनेछैन ।’

फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले ब्युँताउने फैसला सुनाएपछि एमाले पुरानै अस्तित्वमा फर्किएको थियो । नेकपामा हुँदा फरक-फरक खेमामा रहेका ओली र नेपाल पक्ष एमाले फर्किँदा पनि दुई खेमामा विभाजित छन् । यसैबीच फागुन २८ गते अध्यक्ष ओलीले नेपाल पक्षलाई बाहिरै राखेर एकलौटी रुपमा केन्द्रीय कमिटी पुनर्गठन गरेपछि विवाद थप बढेको हो ।

ओलीको निर्णयलाई चुनौती दिँदै नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास गर्ने बताइसकेको छ । भोलि र पर्सिका लागि कार्यकर्ता भेला गरेको नेपाल पक्षले ओलीले आज आयोजना गरेको चियापान कार्यक्रम बहिस्कार गरेको छ।

टिप्पणीहरू