धुम्बाराही जानुअघि माधवलाई के भनियो ?

धुम्बाराही जानुअघि माधवलाई के भनियो ?

प्रधानमन्त्री तथा एमाले अध्यक्षले भेटघाटको लागि माधव कमरेडलाई फोन गरेर बोलाउनुभएको भन्ने खबर सुन्ने बित्तिक्कै हिजो बिहान केही नेता कोटेश्वरतिर हुर्रिएका थिए । तीमध्येका एक जना केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीले नेपाललाई भेट्ने बित्तिक्कै ठाडो ठाडो उभिएर भन्नुभयो ‘कमरेड,प्रधानमन्त्रीको विगतलाई हेर्दा भेटघाटको प्रपञ्च ४ र ५ गते बोलाइएको कार्यकर्ता भेला भाँड्नको लागि हो जस्तो लाग्यो । त्यसैगरी भ्रम सिर्जना गर्नलाई चियापानको आयोजना र भेटको नाटक गरिएको हुनसक्छ । उहाँले कुनै सदाशयता र राम्रो आशयले गर्न खोजेको जस्तो लाग्दैन । त्यसैले अलि बढी सतर्क हुनुहोला । उहाँको बोली र भाषामा मज्जैले ख्याल राख्नुहोला ।’

नभन्दै शुरुमा बालुवाटारमा बोलाउन खोजिएको वार्तास्थल नेपालको अडानपछि धुम्बाराहीमा सारिएको थियो । वार्ताको क्रममा पहिले मीठो बोलेर फकाउन खोजिएको बताइन्छ । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘यतिञ्जेल जे भयो भयो, अब मिलेर जाऔं ।’

केही पछिचाँहि उहाँले कुरालाई अलि बङ्ग्याउनुभएको वार्तामा उपस्थित एकजना स्थायी समिति सदस्यले बतानुभएको छ । २८ गते बोलाइएको भनिएको केन्द्रीय समितिको सानो बैठकमा ७० वर्षे उमेर हद हटाउने,विधान संशोधन गर्ने र रामबहादुर थापा बादलहरूलाई मनोनयन गर्ने काम गरिएकाले नेपाल पक्षले ती सबै निर्णयबाट पहिले फिर्ता हुनुपर्ने, खारेज हुनुपर्ने अन्यथा मंगलबारको चियापान र ७ गतेको बैठकमा अनुपस्थित हुने सुन्ने गरी नै जानकारी गराएको थियो । प्रधानमन्त्रीले ‘हुन्न’ भन्ने आशयले धारणा राखेपछि कुराकानीको अन्तमा नेपाल पक्ष त्यसो भए हामी पनि पार्टी र संगठन निर्माणमा हिँड्यौं भनेर बाहिरिएको थियो ।

धुम्बाराहीको वार्तामा प्रधानमन्त्रीले फागुन २८ गते १० र ११ औं गरी केन्द्रीय समितिको २ वटा ‘किर्ते’ बैठक बसेको जानकारी समेत गराउनुभएको बताइन्छ । जबकि २०७५ जेठ ३ अघि एमालेमा केन्द्रीय कमिटीको ९ औं बैठक मात्र बसेको थियो । त्यसपछि अब बस्ने भनेको १० औं हुन्थ्यो । तर, ७ गते बस्ने भनिएको बैठकअघि ‘किर्ते’ तरिकाले एकैछिनमा २ वटा बैठक राखेर माइन्युट गरिएको रहस्य पत्ता लागेको हो ।

स्रोत भन्छ ‘बालुवाटारमा २८ गते उपस्थित अधिकांश आफ्नै पक्षका केन्द्रीय सदस्यलाई समेत त्यसको सुईंको दिइएको रहेनछ । अन्तिममा माइन्युटमा दस्तखत गर्ने क्रममा केही सदस्यले यो के हो ? भनेर सोध्दा माइन्युट भन्नुले पनि उहाँहरू समेत रनभुल्लमै हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ ।’

धुम्बाराहीमा भेटवार्ता गर्ने क्रममा देखिएको प्रधानमन्त्री र उहाँ निकटस्थ नेताहरूको बडि ल्याङ्वेज चैत ४ र ५ गतेको कार्यकर्ता भेलाले केही आत्तिएकोझैँ देखिएको स्रोतको दाबी छ । किनभने भेलाले यसबीचमा उहाँले गर्नुभएको अवैधानिक सबै कदमलाई राष्ट्रव्यापी रुपमा छताछुल्ल गरिदिने छ । त्यसैगरी समानान्तर संगठन पनि अघि बढ्ने छ । अहिलेसम्म दबिएर बसेको सबै ‘इस्यु’ सतहमा आउने भएपछि रोक्नको लागि अनेक प्रयास गरिएको नेपालपक्षका नेताहरूको बुझाइ छ ।

एउटै तीरले दुईवटा राजनीतिक शिकार गर्न सिपालु प्रधानमन्त्रीले हिजोको भेटवार्ता र आजको चियापान कार्यक्रम पूर्वराजपा, जसपा र माओवादी केन्द्रलाई अत्याउन पनि आयोजना गरेको हुनसक्ने भनिएको छ । कम्तिमा राजनीतिक परिदृश्य क्लियर नहुञ्जेल माओवादी र काँग्रेसलाई समेत भ्रममा पार्नैपर्ने बाध्यकारी अवस्थामा प्रधानमन्त्री ओली रहनुभएको बताइन्छ ।

टिप्पणीहरू