प्रधानमन्त्रीलाई धम्की नदिन योगेशको सुझाव

प्रधानमन्त्रीलाई धम्की नदिन योगेशको सुझाव

नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न आग्रह गर्नुभएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलि बुधबारदेखि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई शक्ति र धम्कीको भाषा प्रयोग नगर्न हार्दिकतापूर्वक आग्रह गर्नुभएको हो ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरिएको चियापान समारोहबाट गुटगत भेला गरे कारबाही हुनसक्ने संकेत प्रधानमन्त्रीले गरेकोतर्फ औंल्याउँदै उहाँले अहंकारको भाषा प्रयोग नगर्न सुझाव दिनुभएको हो । ‘कारबाही गरेर राजनीति अगाडि बढ्दैन,’भन्दै उहाँले, ‘आफूहरू कारबाही भोग्नसमेत तयार रहेको’ बताउनुभयो ।

भट्टराईले अंहकारी शैली बढ्दै गए प्रधानमन्त्रीको दुःखमा दुईथोपा आँसु चुहाउने मान्छेसमेत फेला पर्न नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘इतिहासको कठघरामा उभिँदा आइपर्नसक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्नोस् । इतिहासले सोधेका प्रश्नको उत्तर दिन नसकेको बेलामा उल्टै तपार्ईं (प्रधानमन्त्री) लाई इतिहासले नै कठोर कारबाही गर्नेछ ।’

टिप्पणीहरू