शीतल निवासमा सर्वदलीय, काे गए काे गएनन् ?
राष्ट्रपतिले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय उपेन्द्र यादव र अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ ।
पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल,झलनाथ खनाल र डा. बाबुराम भट्टराई भने बैठकमा सहभागी हुनुभएको छैन । खनाल र नेपाल पार्टीको आन्तरिक कामको व्यस्तताले शीतल निवास नजानुभएको बताइएको छ । डा. भटराई भने स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी नहुनुभएको हो ।
पछिल्लो समय राष्ट्रपतिले आफूलाई मुलुकको अभिभावकीय भूमिकामा उभ्याउन नसकेको भन्दै दलहरुबाटै आलोचना भैरहेको छ । खासगरी प्रतिनिधिसभा विघटनको घोषणा गर्दा राष्ट्रपतिले सामान्य परामर्शसमेत नगरेकोमा दलहरुको चित्त दुखाइ सार्वजनिक भएको थियो ।
राजनीतिक जटिलता बढेका बेला राष्ट्रपतिको सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीको हरेक कदममा बिना अलमल साथ दिंदै आउनुभएकी राष्ट्रपतिले सरकार परिवर्तनका लागि दलहरुबीच दौडधुप चलिरहेका बेला चासो देखाएको हुनसक्ने कतिपयले अनुमान गरेका छन् ।
तीन पूर्व प्रधानमन्त्रीहरु बैठकमा नजानुलाई पनि त्यत्तिकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि बैठकमा नजाने भनिए पनि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी हुनुभएको हो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु नेकपा एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी (जसपा) राप्रपा, जनमोर्चालाई बोलाइएको थियाे ।
टिप्पणीहरू