वेश्या बन्ने कि वीर ?
‘मेरो नेपालको भयो बेहाल, हाम्रो नेताको रन्डी जस्तो ताल’ । देशको हालत मुख बिगार्र्नैपर्ने भएपछि नेताहरुलाई यसरी मुख छाडेर गाली गरिनुलाई के अन्यथा/अस्वभाविक मान्नु ? आफ्नो पति–पत्नी बाहेक पनि परपुरुष–परस्त्रीसँग लाग्ने, वेश्यावृत्ति गर्ने महिला–पुरुषलाई रन्डारन्डी भनिन्छ । हाम्रा नेताहरु पनि त्यस्तै छन् त भन्ने के ? आफ्नो घर छोडेर, भाँडेर, बिगारेर अरुका घर–घर चहार्ने साँच्चिकै त्यस्ता नेताबाट यो देश–जनताको सुख–समृद्धिको आशा राख्नु देहव्यापारीबाट पवित्रताको रहर गर्नु जस्तै हो ।
लाउरे ‘हाउडे प्रोजेक्ट’को तीतोसत्य शीर्षकको ¥याप गीतमा नेताहरुलाई यसरी बेसरी गाली गरिएको छ, ‘…कति बस्छस् मोज गरी, १० वर्षको जनयुद्ध हातमा लाग्यो बेरोजगारी । सत्ताको रोटी सेक्दै बसिस् देशमा आगो बल्दा, मुखलाई मोही छैन… लाई घिउ दल्दा । हाम्रै लासको पहाड बनाई बस्दैछ टाकुरामा, आफ्नै हितको कुरा खोपिस् कानुनको पाखुरामा । चर्पीमा दिन्छु तँलाई सात तोपको सलामी, खाल्टो खनी नेतालाई हदै भयो गुलामी । घुसखोरी राजनीति, तीनकरोड छन् भोको पेट त्यसका बाउलाई बासमती, तेरै आन्दोलनमा सुक्यो बाँकी भाको सास जति …।’
हुन पनि सत्ता र शक्तिका निम्ति आफ्नै घरमा भित्रभित्रै गुट–उपगुट बनाउने, बाहिर चारैतिर गठजोड गर्दै हिँड्नेहरु देश र जनताको हितमा कहिल्यै मरिमेट्नेवाला छैनन् । निष्ठा र सिद्धान्त नै नभएका ढुलमुलेहरुबाट आशा गर्नु बेकार हो । कहिले कता, कहिले कता ! जता ललीपप देखिन्छ उतै टाँसिन पुग्ने लोभीपापी अनि कमजोर पनि ! छिमेकीका सामु नतमस्तक हुँदै लम्पसार परी आशिर्वाद थाप्न तँछाडमछाड गर्ने परावलम्बीहरुबाट घरको रक्षा अनि उन्नति–प्रगति कदापि हुन सक्दैन ।
देशको मिचिएका भूभाग फर्काउन खै सकेको ? सीमामा बस्ने नेपाली जनता भारतीय पक्षको ज्यादति भोग्न विवश छन् सरकार लाचार भएकै कारण । ‘वीर गोर्खाली’लाई त कहावत् नै बनाउने भए अहिलेका कातर नेताहरुले । खुट्टी हेर्दै चाल पाइयो भनेझैं उही घन्टा बजाउने सम्ममात्रै हो यिनको हात । देशकै प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल पशुपतिनाथको मन्दिरमा पूजा त बाहिरका मान्छे आएर गर्छन् भने अरु के गर्लान् यिनले ? साला विदेशीको इसारामा नाच्ने कठपुतलीहरु ! यिनको गुलियो आश्वासनको पछाडि झिँगा झैं भन्किने हामी जनता नै बेवकुफ भयौं वास्तवमा । यी त आफ्नो भुँडी टन्न भर्ने, आफन्त र आसेपासेलाई पोस्ने अनि देशकै चुल्होचौकोमा हगेर जनतालाई आची दिने खालका असत्ती भए । संघीयता तथा स्थानीय शासनका नाममा विकास भन्दा दलका नेता, कार्यकर्ता नै त पाल्ने, पोस्ने काम बढी भइरहेको छ अहिले ।
हिजो राणा, राजा–पञ्चायत फालेर देशमा बहुदलीय व्यवस्था ल्याउन जनताको ठूलो बलिदान चढेको छ । दलमा पनि कांग्रेसले राम्रो काम गरेन भनेर नेपाली जनताले पछिल्लोपटक कम्युनिष्ट गठबन्धनलाई झण्डै दुई तिहाइ मत दिई पठाउँदा समेत सुख भएन । स्थिर, शक्तिशाली सरकारले साँच्चिकै सुख–समृद्धि ल्याउला भन्ने थियो । सर्वहाराको नाममा गरिब, मजदूर, किसानलाई उचालेर राजनीति गरेका कम्युनिष्ट शासकले देशमा कायापलट ल्याउने जनअपेक्षा पनि अन्ततः निराशामै परिणत भएको छ । देशका सबैजसो राजनेता व्यक्तिवाद, परिवारवाद, पुँजीवाद, चाकडीवाद जस्ता निजी स्वार्थमा रुमल्लिएपछि भुत्रो हुन्छ हाम्रो भलाइ ? नाम देश र जनताको तर पद, पैसा र शक्तिका निम्ति यिनको राजनीतिक व्यवसाय चलिरहेको घामजत्तिकै छर्लड्ड छैन र ? अझै किन चुपचाप नेपाली जनता ?
माओवादी र एमालेमात्रै टुक्रिएको होइन कि एमाले–एमाले र माओवादी–माओवादी पनि भाँडिएको अवस्था हो यो ।
यिनकै लागि बेला न कुबेला राज्यको ढुकुटीबाट अरबौं खर्चेर चुनाव गरिरहनुपर्ने ? यिनलाई गोडमेल, मलजल गरेर केही हुन्न । कागलाई बेल पाक्यो हर्ष न विस्मात् भनेझैं त भएको छ अहिलेसम्म । कुन्नि के जले कोइला न खरानी भनेजस्तो । हेरौं न सांसद, मन्त्री, प्रधानमन्त्री पड्काउन जहिल्यै यिनको हानथाप, किचलो ! आफ्नै पार्टी फुटाएर वेश्याझैं जोसित पनि जोडिन जाने चाला ठिक हुँदै होइन । स्थानीय निर्वाचनमा छोरीलाई जिताउन कांग्रेससँग जोडिएको प्रचण्डमाओवादी फेरि संसदीय चुनावमा वामपन्थी मिल्नुपर्छ भन्दै एमालेसित मिसिन पुग्यो । कम्युनिष्ट गठबन्धनको शानदार जीत पनि भयो तर सत्तामा पुगेपछि नेताहरुको उही छिनाझपटी सुरु । शक्तिमा पुगेर आफ्नै पार्टीलाई त ङ्याक्न खोज्ने प्रवृत्ति शासकमा देखिन्छ भने देश र जनताको उत्थान कोबाट होला त नि ? कम्युनिष्ट शासक तानाशाह हुन्छन् भन्थे, ओलीले देखाउनै खोजेनन् त ?
शिशिर योगीको ‘मान्छेको खोजी’ गीतमा भनिएझैं साँच्चै हिजोआज एउटै वीर योद्धा, बहादुर नेता हुँदै भएनन् देशमा । सत्ता शक्ति पाएर कुकर्म नगर्ने, मूच्र्छित मातृभूमिको उद्धारका लागि विषको घडा पिउने । आफ्नै सरी अरुको मर्म बुझ्ने । संचेतना जगाई यो देश माथि लाने, आशा र उन्नतिको दृष्टि दिएर जाने । त्यस्ता परम प्रतापी, त्यस्ता अजेय नायक खोज्नुपर्ने सन्देश दिएको छ योगीको गीतले ।
अब कांग्रेस, कम्युनिष्टको ट्यागमा अल्झिनु हुन्न हामी पनि । अथवा माक्र्सवाद, लेनिनवाद, बीपीपथ, प्रचण्डपथ तथा कुनै वाद वा पार्टीको पछि नलागौं हामी । चाहे नेकपा होस् वा जसपा, प्रजातान्त्रिक होस् वा राजपा । दल हेर्दै नहेरौं । आफ्नो दिव्यदृष्टिले असल, इमानदार, कर्मठ व्यक्ति छानौं देशको नेतृत्वका लागि । गनौं त, २०६२/०६३ को जनआन्दोलनपछि मात्रै कतिवटा सरकार बने, फेरिए ? १५ वर्षको अवधिमा अधिकांश समय त सरकार ढाल्ने र बनाउने खेलमै बितेको छ । फेरि जुन जोगी आएपनि कानै चिरेका भनेझैं † लोभलालच त्यागेका सन्त योगी, साधु जोगी जस्ता सच्चा नेता कोही देखिएनन् ।
पदको भागबण्डा नमिलेकैले आपसी द्वन्द्वले अहिले नेकपा भत्किएको छ । माओवादी र एमालेमात्रै टुक्रिएको होइन कि एमाले–एमाले र माओवादी–माओवादी पनि भाँडिएको अवस्था हो यो । बाबुराम, वैद्य, विप्लव गरी उहिल्यै चार–पाँच चिरामा विभक्त भएर सकिन लागेको प्रचण्ड माओवादीको दयनीय स्थिति जगजाहेरै छ । जनताले विश्वास नगरेरै निर्वाचनमा धुलो चटाएको कांग्रेस अहिले फेरि सरकार निर्माणमा निर्णायक देखिनु, सम्भवतः उसकै नेतृत्वमा सरकार बन्ने स्थिति आउनु जनतामाथि नेताहरुको धोका नभए के त ? भँडुवाहरु हरुवासँग मिलेर सरकार बनाउने कसरतमा छन् यतिखेर ।
नेताहरुको यस्तै ताल भइरहे अन्ततः यिनकै अस्तित्व सकिएर जाने हो । ख्यालरहोस्, हिजो आफू चिहान बनेर देशको परिवर्तनको लागि लडेका जनताले अतिसार भएपछि नेताहरुलाई नै चिहान बनाउने दिन नआउला भन्न सकिन्न । जनता जागे, जुर्मुराए जेपनि हुनसक्छ भन्ने हेक्का समयमै होओस् सबै नेतागणलाई ।
टिप्पणीहरू