योगेशको आह्वान, ईश्वरको चेतावनी

योगेशको आह्वान, ईश्वरको चेतावनी

नेकपा एमालेको एउटा पक्षले आजदेखि राजधानीमा राष्ट्रिय आयोजना गरेको २ हजारभन्दा बढी अगुवा कार्यकर्ता भेलाको व्यवस्थापकीय तथा राजनीतिक तयारी पूरा भएको छ । तर,अर्को पक्षले भने उक्त भेलामा सहभागी नहुन विशेष निर्देशन दिँदै कारबाहीसमेतको चेतावनी दिएको छ ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले हिजो जारी गर्नुभएको प्रेस वक्तव्यमा पार्टी नेतृत्वले आफूखुशी बैठकका नाममा गुटका गतिविधिहरू गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन नगर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरू भइरहेकाले सोविरुद्ध आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलाले सत्य र यथार्थ सन्देश आधारभूत तहसम्म पुर्याउने बताइएको छ ।

फागुन २८ गते बालुवाटारमा आयोजित गुटको भेलालाई केन्द्रीय कमिटीको बैठकको नाम दिइएकोप्रति भट्टराईले रोष व्यक्त गर्नुभएको छ । उक्त कार्यबाट पार्टीमा थप असहजता,बेमेल र अविश्वासको वातावरण पैदा भएको उहाँको ठहर छ । भेला आयोजक पक्षले प्रधानमन्त्रीको उक्त अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गरी विधानबमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई सुचारु गर्नुुपर्ने अडान राखेको छ ।

भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘जनताको बहुदलीय जनवादको मूल्य र मान्यताको रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद,गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्नका लागि सबै नेता,कार्यकर्ता र आमजनसमुदायको एकताबद्ध प्रयास यसबेला थप खड्किएको छ ।’

उता अदालतको आदेशमा पुनर्स्थापित महासचिव पोखरेलले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ ‘एमालेको नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरिएको छैन । अनधिकृत गुटगत भेला नगर्न नगराउन,भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता तथा कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ ।’

टिप्पणीहरू