के माधव नेपाल सकिएकै हुन् ?
– नारायण पौडेल
२०६५ सालमा तत्कालीन सेनापति रुक्मांगद कटवाललाई प्रचण्ड नेतृत्वको सरकारले बर्खास्तीको निर्णय गरेपछि राजनीति १८० डिग्रीले घुम्यो । प्रत्यक्षतर्फ बहुमत हासिल गरेको तत्कालीन नेकपा माओवादीसामु २ विकल्प थिए– राष्ट्रपतिले पुनःस्थापित गरिदिएका कटवालको चुरीफुरी सहेरै बालुवाटारमा बसिरहने वा बालुवाटारको बसाइलाई बिट मार्ने । खासमा प्रचण्डका लागि पछिल्लो विकल्प मात्र थियो । कारण पार्टीभित्र उनीमाथि संशोधनवादीको आरोप चर्को थियो । या त केही क्रमभंग गरेर आन्तरिक असन्तुष्टिलाई थामथुम पार्नुपथ्र्यो या सडकको मोर्चा रोज्नुपथ्र्याे । प्रचण्डले मोहन वैद्य, विप्लवहरूसँग समय मागेका थिए । त्यसैको उत्कर्षमा कटवाल सामुन्ने देखा परे । कटवाललाई कारबाही गरेर सत्ता आफूसँग रहेको पुष्टि गर्न चाहन्थे प्रचण्ड ।
तत्कालीन सत्तारूढ घटक नेकपा एमालेले प्रचण्डलाई कटवाल प्रकरणमा काँध थापेको थियो । कटवाललाई कारबाही गर्नुपर्ने विषयमा प्रचण्डसँग सबैभन्दा पहिला मुखर हुने एमाले थिए– ईश्वर पोखरेल । एमालेको बुटवल महाधिवेशनमा खनाललाई पार्टी अध्यक्ष र पोखरेललाई महासचिवमा जिताउन प्रचण्डले आफ्नो बलबुता लगाएका थिए । तिनका बीच मित्रता गजब थियो । पोखरेलपछि प्रचण्डलाई खनाल, गौतमले साथ दिए । खनाल त म फर्किने बेलासम्म यसलाई फालिसक्नु भन्ने निर्देशात्मक वचन दिएर चीन हान्निएका थिए ।
खनाल फर्केपछि वचनमा अडिन सकेनन् । ईश्वरको लीला बेलाबेला अपरम्पार हुने गर्छ, भयो त्यस्तै । वामदेव लास्टैसम्म अडिए । नाप्न केही नसके पनि इमान जोगाए । केपी ओली, विद्या भण्डारी, माधव नेपालहरूको बहुमत भएपछि एमाले हारगुहार गर्दै कटवाललाई पुनःस्थापित गर्नुपर्ने याचनासहित शीतल निवास पुग्यो । अरू नेता पुनःस्थापित गर्न राष्ट्रपति तयार भएपछि घरतिर लागे । ओली पुनःस्थापना गरिएको पत्र जंगीअ८ा नपुगेसम्म शीतल निवासमै रहे ।
त्यसपछि ओलीबारे जंगीअड्डाको मूलधार अनुग्रहित रहँदै आएको छ । त्यसमाथि विद्या भण्डारी परमाधिपति भएपछि ओलीप्रति जंगीअड्डा त्यसै नजिक भैगयो । कटवाल प्रकरणमा प्रचण्ड पाहाझैं पछारिए । सायद त्यो सन्दर्भमा एमाले त्यति कुटिल नहुँदो हो त प्रचण्डका लागि संसदीय राजनीति फलामको च्युरा हुने थिएन । २ ठाउँमा हारेर पनि प्रचण्डकै अनुनयमा संसद् प्रवेश गरेका माधव नेपाल त्यसपछि प्रधानमन्त्री भए । त्यसले प्रचण्डलाई औडाहा बनायो ।
प्रचण्डपछि प्रधानमन्त्री बन्ने स्वाभाविक पात्र थिए गिरिजाप्रसाद कोइराला । बयोवृद्ध उमेर तथा टाकुरो बिरासतका कारण कोइरालाका लागि प्रधानमन्त्रीको आसन होचो हुन थालिसकेको थियो । कांग्रेसले प्रधानमन्त्री छाड्दा एमाले अध्यक्ष खनाल दोस्रो विकल्प थिए । संसदीय दलको अध्यक्षसमेत थिए खनाल । कोइरालाले नाम लिइदिए नेपालको । खासमा दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्रीका हकवाला थिए– माधव नेपाल । कोइरालाले वचन दिएका थिए । तर, तत्कालीन एमाले महासचिव नेपाल आन्दोलनपछि एक कदम अघि बढे । र, शुरूमै विषय टुंग्याइदिए– अबको प्रधानमन्त्री गिरिजाबाबु ।
दरबारमा प्रधानमन्त्रीका लागि दरखास्त हाली पदलोलुपको बिल्ला बोकेका नेपालको सो त्यागबारे सायदै कहिल्यै चर्चा भयो । भित्रियाहरू खुश थिएनन् । उनीहरूलाई नेपाल तर्क दिन्थे– मैले सात दलको निर्णयअनुसार दरबारमा निवेदन दिएको हुँ, त्यतिबेला दरबारसँग मिलेर शासन चलाउने बेला थियो । अहिले दरबारसँग छिनेर माओवादीसँग मिलेर ऐतिहासिक कार्यभार सम्पन्न गर्नु छ, यो गिरिजाबाट मात्र सम्भव छ । नेपाल पूरक तर्क गर्थे– सत्ताबाट बाहिर रहँदा गिरिजाको भूमिका सहज नहुन सक्छ, भारतलगायत देश विश्वस्त हुन पनि गिरिजा नै चाहिन्छ ।
कारण जे भए पनि गिरिजालाई नेपालले राम्रै सम्मान दिएका थिए जीवनको उत्तरार्धमा । सायद गिरिजाको मनमा खड्किएको थियो– माधव नेपाललाई प्रधानमन्त्री बनाउने कुरा । गिरिजाले पार्टी पंक्तिमा समेत छलफलरहित निर्णय सुनाएका थिए– माधव समन्वयकारी छन्, उनलाई सहज हुने गरी प्रधानमन्त्री बनाऊँ । छोरी सुजातालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउनेबाहेक अरू शर्त गिरिजाले सायदै माधव नेपालसँग राखे ।
राजतन्त्र हटिसकेको थियो तर शान्तिप्रक्रियाको व्यवस्थापन भइसकेको थिएन । ब्यारेकमा माओवादी लडाकु थिए । सडकमा माओवादी माधव नेपाललाई कठपुतली दर्ज गर्दै भीषण शक्ति प्रदर्शनमा थियो । यस्तो बेला मन्त्रिमण्डल गठन आफूअनुकूलको बनाउन नेपाललाई अपरिहार्य थियो । एमालेले गृह, रक्षालगायत महत्वपूर्ण मन्त्रालय पाएको थियो । अचम्मै भयो– माधव नेपालले खनालतिरका सुरेन्द्र पाण्डे र ओली गुटकी विद्या भण्डारीलाई क्रमशः अर्थमन्त्री र रक्षामन्त्री प्रस्ताव गरे । भीम रावलले आफू कानुन र अन्तर्राष्ट्रिय मामिलाको विद्यार्थी भएकाले गृहमा रुचि नभएको बताए । उनले दिने भए परराष्ट्रमन्त्री दिन, नभए आफूलाई पार्टी काममै छाड्न नेपालसँग आग्रह गरे । रावलले आफूले गोली हान्ने आदेश दिन नसक्ने जिकिर गर्दै गृह मन्त्रालय अस्वीकार गरे । सुन्दा अनौठो लाग्ला, नेपालले गोली हान्ने आदेश दिन परे मै दिउँला, तपाईंको ज्ञान गृहमा चाहिएको भन्दै सम्झाएका थिए ।
नेपाली सेनामा महिला अफिसर बन्दा समाचार बन्ने बेला थियो त्यो । महिला नै विभागीय मन्त्री बन्ने कुराले जंगीअड्डा कति तरंगित थियो होला । पार्टीभित्र विद्याको एकपछि अर्को बढुवा नरुचाउने तप्का ठूलै थियो । माधवपक्षीय अष्टलक्ष्मी शाक्यसँग विद्याको शीतयुद्ध पुरानै हो । भण्डारीको सार्थकता पुष्टि गर्न माधव नेपाल भन्थे– माओवादीसँग अब हाम्रो कि वार कि पार हो, यस्तोबेला आन्तरिक एकता अनिवार्य शर्त हो । विद्या हुँदा ओलीले पनि प्रतिकूल चलखेल नगर्ने उनको ठहर थियो ।
माओवादी एमालेलाई लिंग नभएको पार्टी भन्थ्यो, माधव नेपाललाई कठपुतली र ढुलमुले । तर माधव नेपाल बेग्लै रूपमा प्रस्तुत भए । अनमिनको म्याद नथप्ने अड्डी कसे । माओवादी नेताहरू अनमिनको अनुपस्थितिमा आफूहरूमाथि जे पनि हुन सक्ने बताउँथे । माधव प्रचण्ड–बाबुरामलाई भन्थे– केही हुन्न, म छु तर गडबड गर्न खोजे मै एक्सनमा उत्रिनेछु । उनको फर्मुला थियो– टिट फर ट्याट ! प्रचण्डले एमालेले कटवाल प्रकरणमा धोका दिएकोलगायत प्रसंग झिकेर आशंका दर्शाए । नेपालले सोझो जवाफ दिए– कटवाल प्रकरणमा तपाईंलाई शुरुमै अघि नबढ्न सुझाएको थिएँ । म वचन दिएपछि फर्कने मान्छे होइन । प्रचण्डको विश्वास जित्न नेपालले अर्को उदाहरण दिए– ‘कटवालले तपाईंलाई देखाउनकै लागि आफ्नो कार्यकाल लम्ब्याउन हरसम्भव प्रयास गरेको थियो, ममाथि दबाब पनि थियो, मैले मानिन ।’ नेपालले थपे, ‘तपाईंसँग प्रतिशोध भए, म अराजनीतिक भए जरुर कटवाल लम्बिन्थ्यो ।’ सोही बखत नेपालले प्रचण्डलाई पार्टी एकता गरेर अघि बढ्ने प्रस्ताव दोहो¥याएका थिए ।
सर्वोच्चका दुई न्यायाधीशको कोखबाट पुनर्जन्म पाएको एमालेमा कोही फर्केको होइन । माधव नेपाल फर्केको र केपी ओलीले ढोका खोलेको स्वाँठ तर्क गर्नु बेकार छ ।
माधव नेपाल प्रचण्ड–बाबुरामलाई गलाउने र फकाउने रणनीतिमा थिए । प्रचण्डलाई महसुर हुनबाट रोक्ने तर स्वाभिमानमा चोट पुर्याएर उछिट्टिन पनि नदिने शैली थियो । परिणाम, माओवादीको ६ दिने आन्दोलन बिनानिश्कर्ष सकियो । लडाकु पनि सेनाको अधीनस्थ आए । कठपुतली घोषित माधव नेपाललाई अघि लगाएर प्रचण्ड शक्तिखोर पुगे । र, आफैँले जन्माएको जनमुक्ति सेनालाई विधिवत् विघटन गरे । राजनीतिक रूपमा नेपाल–प्रचण्ड दुवैले बाजी मारे । नेपालले आफ्नो समन्वयकारी पाइन देखाए । प्रचण्डले हतियार र लडाकुको रक्तपातविहीन व्यवस्थापन गराउन सफल भए । राजनीतिक रूपमा बाजी मारे पनि प्रधानमन्त्री नेपालविरुद्ध पार्टीभित्रै हस्ताक्षर शुरु भयो । कांग्रेसले समेत पछि नहट्न सुझाउँदा सुझाउँदै उनी आन्तरिक असन्तुष्टिबीच नबस्ने जिकिरसहित राजीनामा गर्न तम्सिए ।
त्यसयता माधव नेपाल सत्ता र पार्टीको मूल नेतृत्वमा छैनन् । एमालेको पुनः मूलधार बन्ने उनको धोको नवौं महाधिवेशनमा पूरा भएन । केपी ओली केही मतले विजयी भए । संविधानसभा दोस्रो निर्वाचन झलनाथ खनालको नेतृत्वमा भएको थियो । तर, एमाले पुनरोदयको जस ओलीलाई गयो । त्यसयता ओली पार्टीमा यति शक्तिशाली भए कि १५ वर्ष पार्टी हाँकेका माधव नेपाल ओलीको नजरमा मामुली कार्यकर्ताजस्तो देखिए ।
संविधान जारी भएपछिको पहिलो निर्वाचनमा एमाले–माओवादीबीच कार्यगत एकता र पार्टी एकतासम्मको सहमति भयो । माधव नेपाल फड्के किनाराको साक्षी मात्र बनाइए । एकता आफ्नै मुद्दा भएको भन्दै उनले आपत्ति भने जनाएनन् । तर, ओलीसँग शर्त राखे– जबजमा आधारित एकता हुनुपर्छ । ओलीले एकताको पूर्वसन्ध्यामा पोल खोले– अहिले एकता गर्ने तर जबज नभन्ने, पछि मिलाउने । प्रचण्डको सहजताका लागि जबजलाई सोझै पार्टी लाइन भन्न नसकिने ओलीको स्वीकारोक्ति थियो । एकताका लागि नहतारिन र जबजमा सम्झौता नगर्न ओलीलाई नेपालले पुनः सुझाए । ढिलोचाँडो प्रचण्ड जबजसहित एकताका लागि तयार हुने नेपालको दाबी रहन्थ्यो । ओलीले उही कुरा दोहो¥याए– पछि मिलाउने । माधव नेपालले पनि सोझै भनिदिए– अहिले एकथोक भनेर सम्झौता गर्ने, पछि अर्को थोक गर्ने त्यो मबाट हुन्न । नगदमै हुन्छ । जबज थाती राखेसी हाम्रो हात तल पर्छ, पर्छ ।
त्यसयताका ३ वर्ष ताजै छन् । विगत भइसकेको एमाले सर्वोच्चको आदेशपछि ब्युँतेको छ । एमाले पुनर्गठित भएपछि माधव नेपाल साविकको केपी ओली नेतृत्वकै एमालेमा पुनःस्थापित भएका छन् । सर्वोच्चका दुई न्यायाधीशको कोखबाट पुनर्जन्म पाएको एमालेमा कोही फर्केको होइन । ओलीको नेतृत्वमा विघटित एमाले उनकै नेतृत्वमा ब्युँझाइएको मात्र हो । यसमा माधव नेपाल फर्केको र केपी ओलीले ढोका खोलेको स्वाँठ तर्क गर्नु बेकार छ । कि ओलीले सेटिङबाटै सही, एमाले त ब्युँझाएँ भन्न सक्नुपर्यो । शक्तिसन्तुलनको भीरमा पुगिसकेका ओलीले परिस्थितिमा फेरबदल आएसँगै बाटो भेटेका मात्र हुन् । विजेता हुन् र ? माधव नेपालसँग पनि एमालेभित्र नवौं महाधिवेशनमा जुन शक्ति थियो, त्यो त लगभग उस्तै छ । उनी कसरी निरीह ? पार्टीका आफ्नै सहयोद्धाहरूले प्रचण्डलाई आफ्नो ठान्ने परिस्थिति निर्माण ओलीकै कारण भएको होइन र ?
बरु शक्ति क्षय ओलीको भयो, भइरहेको छ । प्रचण्डसमेतले नेता स्वीकारेपछि नेपालको समकालीन राजनीतिमा ओलीको बागी कोही थिएन । सर्वमान्य नेताको उचाइबाट घटेर रामकुमारी झाँक्रीसमेतले औँलो उठाउने तहमा उनी झरेका छन् । दुई तिहाइको बुइमा सिंहदरबार प्रवेश गरेका नेपाली कम्युनिष्ट आन्दोलनका बादशाहले माका फुइँमा मजा लिन थालेपछि सत्ता टिकाउन अरूका सांसद चोर्नुपर्ने वा जस्तोसुकै सम्झौता गरेर सिंहदरबारमा टिक्नुपर्ने हालतमा पुगेछन् । अरु सब एकातिर हुँदा पनि गोकुल बाँस्कोटाको तुलो बढी देख्ने अल्पज्ञानकै कारण ओली आम उचाइमा रहिरहन सकेनन् । पेल्ने, बेल्ने र बोल्नेबाहेक खास अरु केही काम गरेको भए संसदीय प्रधानमन्त्री भएर संसद्कै खिल्ली उडाउने कुण्ठा ओलीमा जागृत हुने थिएन ।
पार्टीको आधा शक्तिलाई बाहिरै राखेर चुनावको धाक देखाउनु खुट्टी हेरेरै पत्याएजस्तो होइन र ?
माधव नेपालले गठबन्धन सरकार प्रतिकूल अवस्थामा पनि सहमतिमा चलाएका थिए । चार चौरास जानेका आफ्नै पार्टीका विपक्षी, मधेशी र कांग्रेसलाई विश्वासमा लिएर माधव नेपालले विलक्षण खुबी देखाएकै हुन् । सर्वदा शक्तिमान प्रधानमन्त्रीका रूपमा शपथ लिएका ओलीमा ठीक उल्टो प्रवृत्ति देखियो । आफ्नो आसन र आयतनको मापन गर्न विफल ओलीले चाहिने–नचाहिने सबतिर इखको डण्डा नचाइरहे । उदाहरण, दुनियाँले कुलमान घिसिङको निरन्तरता चाह्यो विद्युत् प्राधिकरणमा । ओलीले इन्कार गरिदिए ।
कर्मचारीको लोकप्रियतामा ईर्ष्या जाग्ने ओली राजनीतिक रूपमा इखालु र विषालु नहुने कुरै भएन । ओलीसँग पुनर्मिलनका लागि औपचारिक निर्णय गरेका माधव नेपालको निर्णय निरीहता थिएन, ऐतिहासिक महत्वको थियो । तर, ओलीले संग्लिने अर्को मौका चुकाए । नेपाल पक्षलाई निषेध गरेबाटै ओलीको राजनीतिक मुटु थाहा भएन र ? पार्टीको आधा शक्तिलाई बाहिरै राखेर चुनावको धाक देखाउनु खुट्टी हेरेरै पत्याएजस्तो होइन र ? सूर्य थापा बोल्ने र केपी ओली उही लयमा प्रस्तुत हुने । के ओलीको अनावरण भावी इतिहासमा यसैगरी हुन लेखेको छ ? होइन भने ओली समूल पार्टी बनाउने ऐतिहासिक घडीमा गुटलाई नै पार्टी घोषणा गर्न किन उद्यत छन् ? यो छोटो दौड होइन, म्याराथनमा क्षणभरमै विजेता घोषणा गर्न सकिन्न । एमाले पुनःस्थापित भएपछि राजनीतिकरूपी म्याराथन मध्यान्तरमा पुगेको छ । ओलीले बाजी मारे, माधव सकिए भन्ने होइन । दौड बाँकी नै छ ।
टिप्पणीहरू