एमाले भेलामा सहभागी थपिँदै
आज बिहान ११ बजेदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट कार्यकर्ता भित्रिने क्रम अपरान्हसम्म पनि जारी छ । भेलामा देशभरबाट दुई हजार नेता–कार्यकर्ता सहभागी हुने अनुमान गरिएकोमा बिहान उद्घाटनअगावै ४ हजार ५ सय प्रतिनिधि कार्ड सकिएको आयोजकमध्येका मोहन गौतमले बताएका छन् । साँझसम्म थप कार्यकर्ता आउने जानकारी पाएपछि आफूहरुले ५ सय कार्ड छाप्न अर्डर दिएको स्वयंसेवक दस्ताका दानबहादुर थापा मगरले बताए ।
भेलामा मधेशबाट पनि राम्रै सहभागिता देखिएको छ । मधेशमा पनि धेरै २ नम्बर प्रदेशबाट आएको बताइन्छ । त्यसैगरी जनसंगठनहरुबाट पनि उत्साहका साथ सहभागिता रहेको छ । पहिलो पुस्ताका वामपन्थी नेता तथा कार्यकर्ताको राम्रै उपस्थिति देखिन्छ ।
उद्घाटन कार्यक्रमको अन्ततिर झापा आन्दोलनका खम्बा तथा १७ वर्षे जेल जीवन बिताउनुभएका नरेश खरेल हलभित्र प्रवेश गर्नुभएको छ । त्यसैगरी झापा,सुखानीमा हत्या गरिनुभएका शहीद नेत्र घिमिरेकी पत्नी जीवन घिमिरे र उहाँकी छोरी दिपासमेत सहभागिताको लागि कार्यक्रमस्थल आइपुग्नुभएको छ ।
राष्ट्रिय कार्यकर्ता भेलामा निजामती कर्मचारीको समेत राम्रै उपस्थिति देखिन्छ । झण्डै २ सय जना कर्मचारीमध्ये केही संसद सेवाका समेत हुन् ।
आज नेपाल–खनाल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा उपस्थित भएमा कडा कारबाही गरिने प्रधानमन्त्री केपी शर्मा ओलीको हिजोको मौखिक र महासचिव ईश्वर पोखरेलको लिखित चेतावनीको बेवास्ता गर्दै हजारौंले सहभागिता जनाएका छन् ।
यसवीच बालुवाटारको सत्ताले सानेपाका सहभागीलाई तर्साउन र माओवादीलाई केन्द्रीय सरकारबाट समर्थन झिक्न लगाउन माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने गरेको छ भने भोलि सिंहदरवारमा सँसदीय दलको भेला डाकेको छ । तर,सहभागीहरु विधि,पार्टी र आन्दोलनका निम्ति कुनै धम्कीले पछि नहट्ने भन्दै ठाउँ ठाउँबाट आउने क्रम जारी छ ।
टिप्पणीहरू