कार्यकर्ता भेलामा माधव नेपालका ‘छ कुरा’

कार्यकर्ता भेलामा माधव नेपालका ‘छ कुरा’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउने कि एकताबद्ध बनाउने भन्ने अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीमा भरपर्ने बताउनुभएको छ । विधि, पद्धति र संस्थागत प्रणालीअनुसार पार्टी सञ्चालन गर्न ओली तयार भए एकताबद्ध भएर जान सकिने सम्भावना अझै रहेको उहाँको भनाई छ । उहाँले पार्टी एकता जोगाउन छ वटा उपायसमेत सुझाउनु भएको छ ।

बुधबार ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अदालतको अप्रत्याशित निर्णयले एमाले पुरानै अवस्थामा पुगेपछि त्यहि विन्दुबाट पार्टी सञ्चालन गरिनुपर्नेमा आफ्नो पहिलो जोड रहेको बताउनुभयो । ओलीले एकलौटी ढङ्गले फागुन २८ गते बालुवाटारमा गरेको निर्णय अदालतको फैसला विपरित रहेको भन्दै नेपालले त्यसलाई फिर्ता लिन ओलीपक्ष तयार नहुँदा समस्या आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले ६ वटा कुरा गर्यौं । एमालेलाई बलियो बनाएर समग्र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन हामीले भनेका थियौँ, तर ओलीले मान्नुभएन । आज पनि हाम्रो कुरा त्यहि छ । हामीले विभाजन चाहेका छैनौँ ।’

नेपालले अघि सार्नुभएको छ वटा बुँदामा माओवादी केन्द्रसँग एकता हुनुपूर्वको एमालेको संगठनात्मक संरचना, राजनीतिक वैचारिक मान्यता, सबै पदाधिकारी र सदस्य यथावत रहनुपर्ने भन्ने छ । त्यस्तै, पार्टीलाई विधि र पद्धतिका आधारमा चालाउनुपर्ने कुरालाई उहाँले विशेष जोड दिनुभएको छ ।
उहाँले पार्टीका बैठकहरू नेताको निजी निवासमा नभई पार्टी कार्यालयमा बस्नुपर्ने, कम्युनिष्ट पार्टीहरूबीचको एकतामा जोड दिनुपर्ने, वामपन्थी नेतृत्वमा सरकार बनाउने र सरकार सञ्चालन गर्दा पार्टीको नीति र विधिमा रहेर गर्नुपर्ने कुरा आफूले उठाएको बताउनुभयो ।

ओलीले सुटुक्क आफूलाई मन पर्नेहरूलाई मात्र बोलाएर गरेको गुटको भेलालाई केन्द्रीय कमिटीको बैठकको जामा भिराएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । ‘आफ्ना मान्छेलाई बोलाएर बालुवाटारमा गुटको भेला गरेर आफूखुशी विधान संशोधन गरि आफ्ना मान्छे भर्ति गर्नुभएको छ, हामीले त्यो स्वीकार गरेका छैनौँ । कम्युनिष्ट पार्टी सञ्चालनको विधि यो होइन,’ उहाँले भन्नुभयो ।

नेता नेपालले २८ गतेको निर्णयले आफूहरू चिन्त्तित भएको र ओलीसँग सम्वाद चाहेको कुरा कार्यकर्तालाई सुनाउनुभयो । धुम्बाराहीमा अध्यक्ष ओली पक्षसँग भएको वार्ताको कुरा सुनाउँदै उहाँले भन्नुभयो, ‘ओलीले विधान विपरित निर्णय गरेपछि हामीलाई धेरै चिन्तित बनायो । हामीले सम्वाद चाह्यौं । उनैले फोन गरेर भेट्न प्रस्ताव गरेका हुन् । मैले भेट्ने तर कहाँ ? भनेर सोधेपछि उनले बालुवाटार भने । मैले बालुवाटार आउँदिन भनेँ । उनले म बाहिर आउन मिल्दैन, तपाइँ यता नआउने भए कहाँ भेट्ने त भनेर सोधे, मैले धुम्बाराहीमा भेटौँ भने । त्यसपछि छलफल भएको हो ।’

एक आपसमा खेल्ने र अन्तरबिरोध चर्काउने ओलीको शैली बुझेकाले आफूले एक्लै नभेट्ने प्रस्ताव गरेको पनि नेपालले कार्यकर्तामाझ बताउनुभयो । उक्त भेटमा पनि ओलीमा उस्तै दम्भ आफूले पाएको नेपालले भन्नुभयो । आफूले २८ गतेको गुटको निर्णय फिर्ता लिए भेला रोक्न तयार छौं भन्दा पनि ओलीले नमानेको नेपालले बताउनुभयो । यताको भेला रोक्ने तर आफ्नो गुट झन् क्रियाशील बनाउने ओलीको रणनीति आफूले बुझेको उहाँको भनाई छ । ‘ओलीको अहंकार र दम्भले पार्टी विभाजनको आधार बनिरहेको छ,’ नेपालले भन्नुभयो ।

टिप्पणीहरू