उता रक्तपात जारी, नेताको खडेरी
म्यानमारमा सैनिक ‘कू’ भएयताको झण्डै डेढ महिनामा ठूलो संख्यामा सर्वसाधारण मारिनुका साथै गिरफ्तारीमा परेका छन् । सैन्य ‘कू’ भएयता मङ्गलबारसम्म सुरक्षाफौजको कारबाहीबाट १ सय ८२ जना भन्दाबढी प्रदर्शनकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो अवधिमा २१ सय ७५ जना गिरफ्तार भएका छन् भने १८ सय ५६ जनालाई सैनिक हिरासतमा राखिएको छ ।
फेब्रुअरी १ अर्थात् माघ १९ गतेका दिन सबेरै म्यानमारको सेनाले निर्वाचित सरकार अपदस्थ गर्दै त्यहाँको सत्ता हातमा लिएको थियो । त्यसयता त्यहाँ लगातार प्रदर्शनहरू भइरहेका छन् । नेतृ तथा नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी प्रमुख आङ सान सुकीलगायतका नेताहरुलाई अज्ञात ठाउँमा नजरबन्दमा राखिएको छ ।
कतिपय सांसद् तथा नेताहरूले भने भूमिगत रहेर सैनिक शासनविरुद्धको आन्दोलन अगाडि बढाइरहेका छन् । सन् १९८८ को जनआन्दोलनले म्यानमारमा २६ वर्ष लामो सैनिक शासन अन्त्य गरेको थियो । अहिले त्यहि आन्दोलनको सम्झनामा विद्यार्थीहरुले ‘द ८८ जेनरेशन’ गठन गरेका छन् । स्थानीय एकजना राजनीतिक विश्लेषकको ठहर छ ‘त्यतिबेला जताततै नेता थिए,आन्दोलनको उभार थियो । अहिले आन्दोलन जारी छ,तर नेताको खडेरी परेको छ ।’
टिप्पणीहरू