चालिस बर्ष थुनेर अत्याचार : क्षतिपूर्ति देऊ भारत सरकार !
भारतीय जेलमा झण्डै चालिस वर्षदेखि गुमनाम र बेवारिसे जिन्दगी बिताउँदै आएका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिनालाई भारतीय अदालतले छाड्न आदेश दिएको छ । कलकत्तास्थित नेपाली महावाणिज्यदूत इश्वरराज पौडेलले अहिले बेलुका दिनुभएको जानकारीअनुसार यससम्बन्धी ९९.१ काम सकिएको छ तर झापाबाट आफन्तहरु मान्छे बुझ्न नगएकोले छुटाएर लान अरु १-२ दिन लाग्नसक्छ । कलकत्तास्थित उच्च अदालतको डिभिजन बेञ्चले बुधबार गरेको आदेशमा शुक्रबारसम्म जतिसक्दो छिटो झापा वा इलामबाट उनका आफन्तजन प्रकाश शर्मा तिमिल्सिना (काकाको छोरा, दुबैको हजुरबा एउटै) लाई झिकाएर जिम्मा लगाउनु भनिएको छ । अदालतले गरेको भर्चुअल बहसपछि उक्त आदेश भएको हो ।
अति विपन्न परिवारको एउटा निर्दोष मान्छे विदेशमा विनाकारण ४० वर्ष थुनिनुपर्दाको क्षतिपूर्ति के हुनसक्छ ?
तिम्सिनाको नारकीय जेल जीवनबारे नेपालको पुनरावेदन अदालतका पूर्व न्यायाधीश बिदुरबिक्रम थापाको सूचनाका आधारमा जनआस्थाले पटक पटक लेखेपछि उनी जेलमुक्त हुने सिलसिला अघि बढेको महावाणिज्यदूत पौडेलले बताउनुभयो । पौडेल कलकत्ता जानुअघि तेत्तीस किलो सुनकाण्ड ए सनम शाक्य हत्याकाण्डको छानवीन टोलीमा सँलग्न हुनुहुन्थ्यो । जनआस्थाले ताकेता लगाएपछि पौडेल र उहाँका निजी सचिव सैलेश थापाको समन्वयमा केही समयअघि दुर्गाको काकाका छोरा प्रकाश र भारतीय एमेच्योर रेडियो क्लबका सदस्यहरूसँगको सम्पर्क भई उनीबारे धेरै कुरा बाहिर आएको थियो । सबैभन्दा पहिले उनीबारेको समाचार हिन्दूस्तान टाइम्सले ‘अदालतको सुनुवाई विना ३८ वर्ष जेल’ शीर्षकमा तीन बर्ष अगाडि छापेको थियो ।
मुख्य न्यायाधीश टी बी राधाकृष्णनको इजलासले आज गरेको आदेशमा भनिएको छ-तिम्सिनालाई बुझाउन गरिने परिवारसँगको सम्झौतामा प्रत्येक ६ महिनामा उनको शारीरिक तथा मानसिक अवस्थाबारे कलकत्तास्थित महावाणिज्य दूतावासलाई जानकारी दिनुपर्ने छ ।
बुधबारको फैसलाले तिम्सिनाको मुद्दा अब ४० वर्षदेखि अदालतमा सुनवाईमा नरहेको भन्ने जिकिरलाई स्पष्टसँग प्रमाणित गरिदिएको छ । अब उनको बाँकी जीवन जिउनका लागि पनि क्षतिपूर्तिको मुद्दामा अभियन्ताहरूले थोरै लबिङ गर्नुपर्ने स्रोतले बताएको छ । अति विपन्न परिवारको एउटा निर्दोष मान्छे विदेशमा विनाकारण ४० वर्ष थुनिनुपर्दाको क्षतिपूर्ति के हुनसक्छ ? त्यो अर्को बहसको विषय बन्ने पक्का छ ।
यसबीच कलकत्ता आउजाउ गरेको भाडासमेत महावाणिज्यदूत आफैँले व्यहोरिदिएको घटनाले पनि परिवारको आर्थिक अवस्था स्पष्ट हुन्छ ।
स्रोत भन्छ ‘भारतको सुप्रिम कोर्टमा जानेबित्तिक्कै उक्त मुद्दा ठूलो मानवअधिकार विरुद्धको मुद्दा बन्नेछ । त्यसपछि अदालतले आफ्नो इज्जत जोगाउन पनि जापानमा १५ बर्ष थुनिएका गोविन्द मैनालीको हकमा झैं सरकारलाई क्षतिपूर्ति दे भनेर आदेश दिने सम्भावना अधिक छ । (संयोग कस्तो भने जापानमा थुनिने मैनाली र कलकत्ताको दमदम करेक्सन सेन्टरमा थुनिने तिम्सिना दुबै यौटै जिल्ला इलामका हुन् । ) अन्यथा, भारतको प्रजातन्त्र र लोकतन्त्रकै खिल्ली उड्ने निश्चित छ ।’
नेपालमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले उक्त मुद्दामा कानुनी संयोजन गरिरहनुभएको छ । अहिले ६० वर्ष हाराहारीको भएका तिम्सिनाको बाँकी जीवन बिताउन अब उनलाई एकल पुरुषको भत्ता नेपाल सरकारले दिनुपर्ने हुन्छ ।
भाइ प्रकाश तिम्सिनाका अनुसार दुर्गाप्रसादको जन्म २०१६ सालदेखि २०१८ सालवीच भएको र उनी २० वर्षको हाराहारीमा बेपत्ता भएका हुन् । उनी आफू पनि अहिले ५६ वर्षको भएकोले दुर्गाप्रसाद आफूभन्दा दुईदेखि तीन वर्ष जेठो रहेको बताउँछन् । झापा दमकका प्रकाश इलामको चुलाचुलीस्थित प्राथमिक विद्यालयका शिक्षक हुन् ।
प्रकाशका अनुसार शुरुमा दीपक जैसी भनिएका दुर्गाप्रसादले तीन चार वर्षअघि एउटा चिटमा केही लेखेर दमक पठाएका थिए । जसमा ‘आफूलाई महिनाको एकपटक दार्जिलिङ्गको अदालत लैजाने गरिएकाले तिमीहरू पनि त्यहि बीचमा भेट्न आओ’ भनेर लेखिएको थियो । तर, त्यो लेखाई र चिट नै अपुष्ट भएकाले आफूहरूले भेट गर्न नसकेको प्रकाश बताउँछन् ।
बुझ्दै जाँदा दुर्गाकी आमा र दुई जना भाइ जीवितै रहेको पुष्टि भएको छ । एउटा भाइको मानसिक अवस्था केही बिग्रिएको र कान्छो भाइ भने मेनेन्जाइटिस निको भएपनि बिरामी अवस्थामै छन् । उनको सबै परिवार इलाममै बस्छन् ।
हालसम्म संकलित विवरणअनुसार ४ दशकअघि दुर्गामाथि भारतमा कसैको हत्या गरेको अभियोग लगाउन खोजिएको देखिन्छ । एमेच्योर रेडियोका प्रतिनिधिहरूको अनुसार उनलाई आजभन्दा ३८ वर्षअगाडि कोही कसैको हत्या गरेमा भारतीय सुरक्षा फोर्समा जागिर लगाइदिने प्रलोभन दिइयो । दुर्गाले पनि आफूले त्यहि प्रलोभनमा परेको स्वीकारेका छन् ।
सम्भवतः जेलमा राखेपछि मानसिक सन्तुलन बिग्रियो । जसका कारण अदालती प्रक्रिया पनि अवरुद्ध भयो । प्रहरीले मानसिक अवस्था ठीक भएपछि अदालतमा लैजाने भन्दै गर्दा झण्डै चार दशक बितेको हुनसक्ने अरुले अनुमान लगाएका छन् । प्रत्यक्षदर्शीका अनुसार दुर्गाले कहिलेकाँही सहज कुराकानी गरेपनि कुनै बेला पूरै मानसिक अवस्था गुमेको मानिसले झैँ कुरा गर्ने गरेका छन् ।
उनले चार दशकसम्म जेलमा कोचिँदा नेपाली भाषा पूरै बिर्से । एकपटक दूतावासले पठाएको प्रतिनिधिहरूसँग चिटमा आफ्नो नाम दुर्गाप्रसाद तिम्सिना लेखेर बाहिर पठाइदिएका थिए ।
अदालतको आदेश
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2021/03/display_pdf.pdf”]
[real3dflipbook id=’39’]
टिप्पणीहरू