कोअर्डिनेशन केन्द्रको लिगेसी कोसँग ?

कोअर्डिनेशन केन्द्रको लिगेसी कोसँग ?

मोहनचन्द्र अधिकारीले एमालेको राजनीतिक कार्यक्रममा सहभागिता जनाउन छाड्नु भएको वर्षौं भइसकेको छ । ८४ वर्षका अधिकारीले वामपन्थी आन्दोलनमा सबैभन्दा धेरै १७ वर्ष जेल जीवन बिताउनुभएको छ । त्यसैले उहाँलाई नेपालको नेल्सन मण्डेला पनि भनिन्छ ।
छ वर्षअघि एमालेको नवौं महाधिवेशनमा सल्लाहकारको नाताले सहभागी हुनुभएका अधिकारी पछिल्लो पटक एमालेको माधव समूहले बुधबारदेखि सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनुहुन्छ । उहाँलाइ केही समयदेखि ज्येष्ठ कम्युनिष्ट मञ्चको भूमिकामा सीमित बनाइएको छ ।
मान्छे भने नौलो जनवादी धारका । प्रज्ञा भवनमा सम्पन्न एमालेको पाँचौ महाधिवेशनमा अधिकारीले नौलो जनवादी लाइन पक्रनुभएको थियो । बहुदलीय जनवादलाई उहाँको लाइनले संशोधनवाद ठानेको थियो । ५० वर्षअघि झापा संघर्षताकाको लाइनलाई नै पक्रँदै आउनुभएकाे छ ।
त्योअनुसार अहिलेको छलकपटपूर्ण राजनीतिलाई उहाँले तीन दशकअघि नै बिरोध गर्नुभएको थियो । लप्पनछप्पन नगर्ने र मनमा लागेको कुरा बोलिहाल्ने स्वभावका अधिकारीलाई एमालेभित्र बढ्दै गएको संशोधनवादी र बुर्जुवा संस्कृतिका नेताहरूले बिस्तारै बोक्न छाडे ।
त्यसपछि अधिकारी बिरक्तिएर राजनीतिबाट टाढै बस्न थाल्नुभयो । तिनै अधिकारीलाई हिजो सानेपामा शुरु एमालेको कार्यकर्ता भेलामा उपस्थित गराएर झापा आन्दोलनको म्यासेज दिन खोजिएको छ । ०२७-२८ सालतिर कोअर्डिशेन कमिटीको नेतृत्वमा भएको तत्कालीन विद्रोहको राजनीतिलाई समाएर माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजग गराएको बताइन्छ । यसरी साँच्चिकै झापाली विद्रोहका नेता बालुवाटार होइन सानेपा भेलामा छन् है भन्न खोजिएको छ ।
अहिले अध्यक्ष ओलीझैँ तेश्रो महाधिवेशनबाट निर्वाचित भएर कम्युनिष्ट पार्टीको नेतृत्वमा पुग्नेमा केशरजंग रायमाझी पनि थिए । समयको कालखण्डमा उनले के गरे र वामपन्थी आन्दोलनलाई कहाँ लगेर बिसाए त्यो पनि देखिइसकेको छ । भेलामा उपस्थित मोदनाथ प्रश्रित मुक्ति मोर्चा समूहबाट मालेमा आउनुभएको थियो मदन भण्डारी र जीवराज आश्रितसँगै ।
केपी ओलीले बहुदलीय जनवादलाई एमालेको नयाँ विचार बनाउन मदन भण्डारीलाई आफूले सम्झाएको समेत भन्न भ्याउनुभएको छ । एमालेको नवौं महाधिवेशनले समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा पारित गरेको हो । तर,अहिले उहाँले त्यो नारालाई आफ्नो पेवा बनाउनुभएको छ । जुन पार्टीको सामूहिक निर्णय हो भन्नुहुन्न ।
झापा आन्दोलनसँग जोडिएको कोअर्डिनेशनका नेताहरूमध्ये अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग महासचिव ईश्वर पोखरेलबाहेक अरु खासै देखिन्नन् । त्यसैले सानेपामा भएको कार्यकर्ता भेलाले प्रधानमन्त्रीलाई त्यो सन्देश दिन पनि केशरमणी पोख्रेल,सिध्दिलाल सिंह,कमल कोइराला,बदृप्रसाद खतिवडा,सुशीलचन्द्र अमात्यजस्ता पुराना वामपन्थी नेताहरूलाई समेटेको हुनसक्छ ।
त्यो बेलाका नेताहरू मुकुन्द न्यौपाने,आरके मैनाली,घनेन्द्र बस्नेत,नरेश खरेल सबै सानेपामा देखिनुभएको छ । केपी ओली जेल परेको २०३० सालमा तर खरेल र बस्नेत २८ सालदेखि नै जेलमा हुनुहुन्थ्यो । बस्नेत र खरेल पनि झण्डै १७ वर्ष जेल बस्नुभएको हो ।
त्यसैगरी दाङको सन्देश समूहकी नेत्र पौडेल अभागीकी श्रीमती विष्णु केसी पनि भेलामा हुनुहुन्छ । त्यसैगरी हर्ेर् बर्‍ए समूहका केशरमणि पोखरेललगायतका नेता पनि भेलामा आउनुभएको छ । मार्क्सवादी पृष्ठभूमिका सिद्धिलाल सिंह,कमल कोइरालाहरू पनि हुनुहुन्छ । उहाँहरू मनमोहन अधिकारी समूहबाट पछि एमालेमा आउनुभएको हो ।
केपी ओली जेल परेपछि झापामा गएर संगठन विस्तार गरिदिनेहरूमा एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अहिले नेपाल पक्षको खम्बा बनेर बस्नुभएको छ । मुकुन्द न्यौपानेले पनि त्यहिबेला संगठन बिस्तारमा नसोचेको योगदान पुर्याउनुभएको थियो ।
भेलामा सहभागी एकजनाले गफिँदै भनेका थिए ‘बालुवाटारमा क्रसर,गिटी,बालुवाका ठेकेदारदेखि कुण्डलेहरूले “बा” भनेर फाइदा उठाउँदै गरेको बेला सानेपामा झापा बिद्रोहदेखि कोअर्डिनेशन कमिटी,तत्कालीन मार्क्सवादीलगायत समूहका प्रतिबद्ध नेताहरूको उपस्थितिले छुट्टै सन्देश दियो ।’
अध्यक्ष ओली र महासचिव पोखरेलको कारबाही ठोक्ने चेतावनीको परवाह नगरी सयौं कर्मचारीले सहभागिता जनाएका छन् । दूरदराजमा रहेर वामपन्थी सिद्धान्तको पथप्रदर्शक बनेका प्राथमिक तहका सयौं शिक्षक पनि त्यहि कार्यकर्ता भेलामा आएपछि २ हजारको अनुमान गरिएको कार्यक्रममा ५ हजारको उपस्थिति देखिएको बताइन्छ ।
विगतमा महासचिव ईश्वर पोखरेल राजनीतिक कार्यथलो बनाएर खटिनुभएको धनुषा र मधेशबाट अहिले सबैभन्दा धेरै कार्यकर्ता उपस्थित हुनुलाई बालुवाटारले नजरअन्दाज गरेको छ । यसले उहाँहरूको राजनीतिक सिद्धान्त र व्यवहारमा रहेको कमजोरीलाई उदाङ्गो पारेको कार्यकर्ता भेलामा सहभागी नेता तथा कार्यकर्ताले बताएका छन् ।

टिप्पणीहरू