निमित्तै निमित्तले सिटिजन्स सिनित्त
राष्ट्र बैंकको वर्तमान नेतृत्वले सिटिजन्स बैंक इन्टरनेशनलमा गम्भीर समस्या फेला पारेको छ । केन्द्रीय बैंकको निरीक्षण तथा सुपरीवेक्षण र नियमन विभागमा साढे दुई दशक कार्यरत राजनसिंह भण्डारीको नेतृत्वमा रहेको बैंकमा पछिल्लो समय जोखिम अत्यधिक बढेको र संस्थागत सुशासनले सीमा नाघेको संकेत देखिएपछि नियमनकारी निकायमा राम्रैसँग छलफल चलेको बताइन्छ । झण्डै डेढ दशकदेखि ढाकछोप गर्दै आएको समस्या सिटिजन्सले केन्द्रीय बैंकको च्यानल मिलाएर पन्छाउँदै आएपछि गभर्नर महाप्रसाद अधिकारीले उक्त च्यानललाई समेत सोमबारदेखि छिन्नभिन्न पारेको स्रोतको दाबी छ ।
राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको विभाग सरुवा र २ जनालाई कायम मुकायम मुकर्रर त्यसैको लागि गरिएको बताइन्छ । विशेषगरी पछिल्लो समय सिटिजन्सले प्रवाह गरेका कर्जामा जोखिम बढेको राष्ट्र बैंकको सुपरीवेक्षण विभागको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षणबाट देखिन थालेको हो । स्रोत भन्छ ‘सेटिङमा प्रवाह गरिएको कर्जाको कारण सर्वसाधारणको निक्षेप जोखिममा पर्ने सम्भावना अत्यधिक देखियो । इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरलाई प्रदान गरिएको कर्जामा बैंकले देखाएको गम्भीर लापरबाही त्यस्तै खालका धेरै वटामध्येको एउटा हो ।’
सिटिजन्सले नियमनकारी निकायले दिएको संस्थागत सुशासनसम्बन्धी निर्देशनको पनि धज्जी उडाउँदै आएको बताइन्छ । उच्च व्यवस्थापनमा रहेका कर्मचारीलाई वर्षौंसम्म कायम मुकायममा अड्काएर अप्ठेरोमा पार्नु उसको फर्मुला नै भएको छ । जबकि राष्ट्र बैंकबाट कुनैपनि कर्मचारीलाई लामो समयसम्म कायममुकायमको जिम्मेवारीमा राख्न नहुने गरी निर्देशन छ । त्यसमा पनि उच्च तहका कर्मचारीलाई एकाध महिनाभन्दा बढी लम्ब्याउन नहुने भनेर सुपरीवेक्षण विभागले यसअघि नै दिएको निर्देशनको समेत पालना गरेको देखिन्न ।
राजनसिंह भण्डारी सीईओ छउञ्जेल अहिलेका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेललाई पनि लामो समयसम्म कायममुकायम दिएर लण्ठाइएको थियो । अहिले त्यहि रोग पोखरेलभन्दा मुनिका सबैमा लागू भएको छ । कन्फर्म डेपुटी सिईओ रहेका बोधराज देवकोटा चैत १ गतेदेखि बैंक छाडेर हिँडेपछि त्योभन्दा मुनिका सबै एक्टिङ र एकाधलाई डबल एक्टिङ दिइएको छ । गत वर्ष नै गरिएको ‘कमिटमेण्ट’ अध्यक्ष, सीईओ र सञ्चालक समितिले पूरा नगरेपछि देवकोटाले सिटिजन्स छाडेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
देवकोटा डेपुटी सिईओ हुँदाहुँदै उनीभन्दा मुनिको कर्मचारीलाई पदपूर्ति समितिको संयोजक बनाइएपछि राष्ट्र बैंकको निर्देशन विपरित भएको भन्दै सुपरीवेक्षण प्रतिवेदनमा समेत कैफियत लेखिएको थियो । त्यसमा देवकोटाले समेत असन्तुष्टि जनाउँदै आएका थिए । तर, विभागीय प्रमुखको जिम्मेवारीमा रहेका सुमित खत्रीलाई तीन तहको कायममुकायम दिएर प्राविधिक रुपमा डेपुटी सीईओ बनाउँदै पदपूर्तिको संयोजकसहित क्रेडिट विभागको जिम्मेवारी दिनुमा सबैले आश्चर्य मान्दै आएका थिए । त्यसो गरिनुको कारण कर्मचारी भर्ना,बढुवा र सरुवामा अध्यक्ष भण्डारी र सीईओ पोखरेलको हालिमुहाली रहिरहोस् भन्ने नै हो । गाँठी कुरा खत्री सिटिजन्सका कर्मचारी मात्र नभएर भण्डारीका निकट नातेदारसमेत हुन् ।
राष्ट्र बैंकको निर्देशन विपरित हुने गरी खत्रीलाई २०७५ साउन १ गतेदेखि म्यानेजरबाट वरिष्ठ म्यानेजर बनाइएको थियो । त्यो बेला खत्रीसँगै वरिष्ठ म्यानेजर हुनेमा पारस काफ्ले,राजेन्द्रलाल श्रेष्ठ,उमंग शर्मा हुन् । त्यसको एक वर्षपछि २०७६ साउन १ गतेदेखि चारै जनालाई कायममुकायम सहायक सीईओ बनाइयो । कायममुकायम सहायक सीईओ खत्रीलाई एक तहमाथिको निमित्त डेपुटी सीईओ बनाइयो । तर, जिम्मेवारी भने कर्जा विभागको विभागीय प्रमुख मात्रै । देवकोटालाई भने सोही मितिदेखि डेपुटी सीईओमा पदोन्नत गर्दै पदपूर्ति संयोजकको जिम्मेवारी दिने बताइयो,तर दिइएन । अहिले उनी बैंक नै छाडेर महालक्ष्मी विकास बैंकको सीइओ बनेका छन् ।
सबैभन्दा उदेकलाग्दो पक्ष, सिटिजन्सका सीईओ गणेश पोखरेलको कार्यकक्षमा अध्यक्ष राजनसिंह भण्डारीको वास्तविक कदभन्दा ठूलो फोटो टाँगिएको छ । स्रोत भन्छ ‘५ फिट ४ इञ्च अग्ला राजनसिंहको ६ फिट अग्लो फोटो झुण्डाइनु केन्द्रीय बैंकको निर्देशन विपरितको कार्य हो ।’ राष्ट्र बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थाको बोर्डरुममा मात्र अध्यक्षको सुहाउँदो साइजको फोटो राख्न सकिने भनेको छ । तर,सिटिजन्सका सीईओको कोठामा भण्डारीको त्यस्तो भीमकाय फोटो झुण्ड्याइनुको उद्देश्य निर्वासित तिब्बतीहरूले दलाई लामाको फोटोमा धूप बाल्नुजस्तै हो भन्दै केन्द्रीय बैंकले यसअघि नै गम्भीर आपत्ति जनाएको बताइन्छ ।
बैंकको जोखिम अत्यधिक बढ्नुमा आन्तरिक लेखापरीक्षण विभागको निष्क्रियता रहेको स्रोतको दाबी छ । लामो समयदेखि भण्डारीले ‘वनम्यान शो’ र अहिले ‘चेयरम्यासीप’ मा बैंक चलाएको परिणाम देखिन थालेको त्यहिँका कर्मचारीहरूले गुनासो गरेका छन् । शारीरिक रुपमा असक्त एवम् बृद्ध विभागीय प्रमुख रामधन श्रेष्ठलाई कायम राखेर अध्यक्ष र सीईओको योजनाबमोजिम आन्तरिक लेखापरीक्षणको काम ‘फुल्ली आउट सोर्स’ मा गर्ने तयारी छ । त्यसको जिम्मेवारी चार्टर्ड एकाउण्टेण्ट तथा राष्ट्र बैंकका एकजना पूर्व कार्यकारी निर्देशकलाई दिने लगभग निधो भइसकेको स्रोतको दाबी छ ।
– द्रव्य शाह
टिप्पणीहरू