नेपाल–भारतबीच यात्रुवाहक यातायात सञ्चालनको लागि सिफारिश
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतबीच यात्रुवाहक यातायात सञ्चालन गर्न मन्त्री परिषदसमक्ष सिफारिश गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचको यात्रुवाहक यातायात सञ्चालन गर्न मन्त्री परिषदसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
नेपाल भारतबीच यसअघि कायम रहेको १३ वटा रुटबाट पूर्ववत रुपमा यातायातको साधन सञ्चालनका निम्ति मन्त्रीपरिषदसमक्ष सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो । उहाँका अनुसार यात्रुहरूले पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै ७२ घण्टा अगाडिको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ ।
त्यसैगरी बैठकल दुई देशबीचको सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिन सिफारिश गरेको छ । अघिल्लो वर्ष चैत्र ११ गतेदेखि कोभिड–१९ महामारीका कारण लकडाउन गरिएपछि दुई देशबीचको यात्रुवाहक यातायातका साधन ठप्प रहेको हो ।
यातायातका साधन ठप्प भएपनि सीमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा मानिसको आवत जावत भइरहेको छ । सोही सन्दर्भमा यात्रुवाहक यातायातका साधन समेत चलाउन दिनको लागि पहल गरिएको सचिव खगराज बरालले बताउनुभएको छ ।
टिप्पणीहरू