जसपाको बैठक स्थगित, सरकारबारे एजेण्डै थिएन
जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिएको हो ।
भावी सत्ता समिकरणमा जसपाले गर्ने निर्णयलाई महत्वका साथ् हेरिएका बेला बैठक स्थगित भएको हो । संसदमा ३४ सिट रहेको जसपाले जता समर्थन गर्यो त्यतै बहुमत पुग्ने भएकाले जसपालाई निर्णायक मानिएको छ । तर, कसलाई समर्थन गर्ने भन्नेमा नेताहरु एकमत हुन नसक्दा जसपाले अहिलेसम्म निर्णय गर्न सकेको छैन । आज बस्ने बैठकले यसबारे टुङ्गो लगाउने बताइएको थियो ।
जसपा कार्यकारिणी सदस्य रेणुकुमारी यादवले भने तयारी नपुगेका कारण बैठक स्थगित गरिएको बताइन् । उनले छिट्टै बैठकको मिति तोकिने पनि जानकारी दिइन् । उनले आजको बैठकमा सरकारसम्बन्धी एजेण्डा नै नरहेको दाबी गरिन् । ‘सरकारका बारेमा कुरा नमिलेर बैठक स्थगित भएको होइन । सरकारबारे आज बैठकको एजेन्डा नै थिएन । समसामयिक राजनीतिक विषयमा कुरा त हुन्थ्यो होला तर एजेन्डाकै रुपमा राखेका थिएनौं’, उनले भनिन् ।
उनले एमाले र कांग्रेसका कारण सरकार गठनको प्रक्रिया अघि नबढेको पनि बताइन् । ‘एमालेमा देखिएको भद्रगोल,कांग्रेसको अलमल मुख्य कारण हो। त्यसमा प्रचण्डजीहरु (माओवादी केन्द्र)को अस्पष्टता पनि कम जिम्मेवार छैन’,उनले भनिन्, ‘त्यसैले हाम्रा कारण समस्या भयो भन्ने कुरा नै गलत छ, किनभने हामी आफैँ सरकार बनाउने स्थितिमा त छैनौँ । हाम्रा कारण समस्या आयो भन्नु नै गलत हो ।’
उनले नयाँ सरकार गठनलाई लिएर जसपामा कुनै विवाद नरहेको दावी समेत गरिन् । ‘यी सबै मिडियाका हल्ला हुन् । हाम्रो पार्टीमा कुनै विवाद छैन । हामी एकमतले निर्णय गर्छौं ।’ यादवले प्रधानमन्त्री केपी ओलीलाई समर्थन नगर्ने संकेत पनि गरिन् । भनिन्, ‘प्रतिनिधिसभा विघटन हुँदा सबैभन्दा पहिले प्रतिगमन भयो भनेर सडकमा निस्किएका हामी नै हौँ । अब हाम्रो पार्टीमा कसरी विवाद हुन्छ ?’
जसपाको समर्थन खोजेका कांग्रेस र माओवादीलाई प्रष्ट भएर आउन उनले सुझाव दिइन् । जसपाले गर्ने निर्णय कुरेर बसेका दुवै दललाई उनले भनिन्,’हामी छलफलमा छौँ । कांग्रेस र माओवादी एकरूपताका साथ आए हामीलाई निर्णय गर्न समस्या छैन । हामी अनिर्णित भएको होइन, उहाँहरु चैं हो ।’
सत्ताधारी एमाले र प्रतिपक्ष कांग्रेसका कारण अहिलेको समस्या सृजना भएको भन्दै उनले मुलुकलाई सही निकास दिने जिम्मेवारी पनि उनीहरुकै भएको बताइन् ।
नयाँ सरकार गठनका दुई ध्रुवमा उभिएका एमाले र कांग्रेस-माओवादीसंग जसपा समानान्तर रुपमा छलफलमा छ । तर, दलभित्रै कसलाई सहयोग गर्ने भन्ने विषयमा एकमत नहुँदा निर्णय गर्न नसकेको बताइन्छ । अध्यक्ष महन्थ ठाकुर,बरिष्ठ नेता राजेन्द्र महतो लगायत पूर्व राजपाका नेताहरु प्रधानमन्त्री ओलीसंग निकट रहेको बताइन्छ । अर्का अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायत पूर्व समाजवादीका नेताहरु भने कुनै पनि हालतमा ओलीसंग सहकार्य गर्न नहुने पक्षमा छन् ।
उनीहरुले सार्वजनिक रुपमै ओली सरकारको बहिर्गमन खोजेको बताइरहेका छन् । यसैबीच आजका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संस्थागत धारणा तय गर्ने अपेक्षा गरिएको थियो । तर, बैठक बस्दै नबसी स्थगित भएपछि सत्ता समिकरणको खेल अझै लम्बिने निश्चित भएको हो ।
टिप्पणीहरू