ठेकेदार रविन्द्र ठहरै

ठेकेदार रविन्द्र ठहरै

अनुमान गर्नोस् त ललितपुर महानगरपालिकाअगाडि मदन स्मारक स्कूलछेउको आधी जमिन ओगट्ने ठेकेदार को हो ? कामै नगरी करोडौं ठेक्कापट्टाको सरकारी र सार्वजनिक लिखत किर्ते गरेको अभियोगमा भ्याली कन्सट्रक्सन प्रा.लि.का उनै ठेकेदार रविन्द्र महर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागले पक्राउ गरेको छ ।

उनले पर्यटन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको लेटर प्याड किर्ते गरी बनाएको अनुभवको कागजात पेश गरी विभिन्न ठेक्का र बोलपत्रमा भाग लिएको रहस्य खुलेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

भैंसेपाटी निवासी महर्जनले रौतहटको चपुर–९ स्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन आफूले निर्माण सम्पन्न गरेको भनेर नक्कली कागजात बनाएका थिए । हालसम्म निर्माण नभएको उक्त भवन २०७१ भदौ २४ गते शुरु गरेर २०७३ असोज ८ गते सम्पन्न गरिएको किर्ते कागजातबाट प्रमाणित गरिएको थियो । उक्त निर्माण कार्यको लागत भ्याट बाहेक ४३ करोड ३७ लाख ५५ हजार ६ सय ९ रुपैयाँ ८८ पैसा समेत भएको र समयमा निर्माण सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको उल्लेख छ ।

महर्जनले संस्थाका योजना अधिकृत र शाखा अधिकृतहरूको नक्कली दस्तखतबाट छ वटा पत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसअघि न्हुच्छे महर्जनको नाममा रहेको उक्त कन्स्ट्रक्सन कम्पनीलाई निजले १३ वर्षअघि खरिद गरेको प्रहरीले जनाएको छ । त्यसपछि रविन्द्रले ललितपुरका विभिन्न चार वटा विद्यालय भवनमध्ये तीन वटा निर्माण कार्य सकाएका छन् ।

त्यसैगरी उक्त कम्पनीले लामा कन्स्ट्रक्सनसँग ज्वाइन्ट भेञ्चरमा मकवानपुरका विभिन्न १९ वटा विद्यालय भवनको ठेक्कासमेत लिएको देखिन्छ । सोही कम्पनीले श्यामसुन्दर कन्स्ट्रक्सनसँग मिलेर धादिङको १० वटा विद्यालय भवन निर्माण समेत थालेको छ ।

टिप्पणीहरू