एमाले बैठकमा श्वेतपत्र माग

एमाले बैठकमा श्वेतपत्र माग

नेकपा एमाले खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाका सहभागीहरुले संगठनसम्बन्धी श्वेतपत्र जारी गर्न माग गरेका छन् । पार्टीको सांगठनिक जीवन संकटपूर्ण अवस्थामा पुगेको भन्दै उनीहरुले तत्काल श्वेतपत्र जारी गर्न नेतृत्वसँग माग गरेका हुन् ।

बिहीबार समूहगत छलफलमा उठेका विषयलाई रिपोर्टिङ गर्ने क्रममा वाग्मती प्रदेशका टोली नेता लक्ष्मण लम्सालले व्यवस्थित संगठन सञ्चालनका लागि श्वेतपत्र जारी गरेर जानुपर्ने बताए । त्यस्तै, प्रदेश नम्बर २ की टोली नेता मञ्जु यादवले पनि संगठनलाई व्यवस्थित बनाउने गरी श्वेतपत्र निकाल्न माग गरिन् ।
त्यस्तै, भेलाका सहभागीहरुले नेतृत्व हस्तान्तरणको माग पनि उठाएका छन् । कर्णाली प्रदेशको तर्फबाट रिपोर्टिङ गरेका टोली नेता निरज आचार्यले नेतृत्व हस्तान्तरणबारे पनि छलफल चलाउनुपर्ने बताए । उनले भने, ‘हामीसंग विचार छ, संगठनको बलियो पकड छ । यति ठूलो नेताको पङ्क्ति छ, अब यो शक्तिलाई संगठित गर्न नेतृत्व हस्तान्तरणबारे सोच्न आवश्यक छ ।’

सुदूरपश्चिम प्रदेशका भानुभक्त जोशीले पनि नयाँ पुस्तालाई नेतृत्व दिन अब छलफल चलाउनु आवश्यक भएको बताए ।

टिप्पणीहरू